जिम्बाब्बेमा प्रहरी र विपक्षी कार्यकर्ताबीचको झडपमा तीन जनाको मृत्यु

काठमाडौं : जिम्बाब्बेमा प्रहरी र विपक्षी दलका कार्यकर्ताबीच भएको झडपमा तीन जनाको मृत्यु भएको छ ।

सत्ताधारी दल जानू–पीएफ पार्टीले सोमबार भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले हरारेमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो ।

विपक्षी गठबन्धनले प्रहरीको कारबाहीको निन्दा गर्दै तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेको शासनकालको कालो दिनको याद आएको जनाएको छ ।राष्ट्रपति इमरन मनंगाग्वाले हिंसा फैलिनुमा विपक्षीलाई जिम्मेवार ठहर्‍याएका छन् ।

उनले चुनावी प्रक्रियामा खलल पुर्‍याउने उद्देश्यले विपक्षीले हिंसा भड्काएको आरोप लगाए ।निर्वाचनमा सत्ताधारी दल जानु–पीएफ पार्टीले ठूलो अन्तरले आफूले जितेको दाबी गरेको छ ।

सत्ताधारी दलका नेता तथा वर्तमान राष्ट्रपति इमरसन मनंगाग्वाले जितेको दाबी गरिएको हो ।तर विपक्षी गठबन्धन एमडीसीले आफ्ना उम्मेदवार नेल्सन चामिसाले राष्ट्रपतिमा जितेको दाबी गरेको छ ।

निर्वाचन आयोगले भने निर्वाचनको परिणाम अझै घोषणा गरेको छैन ।यसैबीच युरोपेली संघका पर्यवेक्षकले राष्ट्रपति चुनावको नतिजा सार्वजनिक गर्न ढिलाइ गरिएकोमा चिन्ता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार