नगदे बाली अदुवाको मूल्य उच्च

इलाम : गतवर्ष भारतीय अवरोधले अस्तव्यस्त बनेको नगदे बाली अदुवाको मूल्य यतिबेला उच्च भएको छ । बीउको सिजनमा प्रतिमन चार सय देखि पाँच सय रूपैयाँमा पनि खरिदबिक्री मुस्किल बनेको अदुवा माउको यो सिजनमा भने प्रतिमन दुई हजार रूपैयाँदेखि बाइस सय रूपैयाँ पुगेको छ । यसपटक माउ अदुवा शुरुदेखिनै प्रतिमन एक हजार पाँच सय रूपैयाँका दरले खरिद बिक्री भएको थियो । साउनको दोस्रो सातासम्ममा प्रतिमन बाइस सय रूपैयाँ सम्म खरिद बिक्री भइरहेको इलाम विल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले बताए । ‘बीउको सिजनमा अदुवा नबिके पछि किसानले अदुवा थोरै रोपे तर भारत निर्यातमा सहज भएपछि मूल्य पनि राम्रो भयो’ पौडेलले भने ‘यसपटक कसरी अदुवा पठाउने भन्नेमा हामी व्यापारी र किसान दुवै सचेत पनि छौं ।’

विगतमा किसानले अदुवाको माउ झिकेर हिलोमाटो सहित बिक्री गर्ने गरेका थिए । अहिले भने माउ झिकेर सुकाएर ओभानो भएपछि माटो झारेरमात्र बिक्री गर्ने गरेका छन् । व्यापारीले पनि विगतमा प्लाष्टिकको बोरामा हिलो अदुवा राखेर भारत पठाउँथे, यसपटक व्यापारीले चिसो र हिलो अदुवा छानेर, सुकेको र राम्रो अदुवा जाली बोरामा भित्र हावा छिर्नेगरि पठाउने गरेका छन् । यसरी पठाउँदा नक्सल पु¥याएर पनि फ्याँक्नु पर्दैन, व्यापारी पौडेलले भने– विगतमा एक मन अदुवा पठाउँदा आठ–दश किलो अदुवा नोक्सान हुन्थ्यो, अहिले एक मनमा एक–डेढ किलोमात्र अदुवा नोक्सान हुन्छ, यसले किसान र व्यापारी दुवैलाई खासै घाटा हुँदैन ।’
पौडेलले यो सिजनमा २५ सय कुईंटल अदुवा भारत पठाएको जानकारी दिए । बीउ अदुवाको सिजनमा प्रतिमन चार–पाँच सय रूपैयाँमा झरेपछि किसानले अदुवा कमैमात्र रोपेका छन्, विगतवर्षको तुलनामा योवर्ष माउ अदुवा ५० प्रतिशतले कमि हो, पौडेल भन्छन् ‘यदि बीउको सिजनमा अदुवा भण्डारण गर्ने प्रविधि र ठाउँ थियो भने अहिले साना किसानलाई निकै फाइदा पुग्थ्यो । इलाम नगरपालिकाले यहाँ भएको शीतभण्डारमा अदुवा राख्न सकिने–नसकिने प्रविधि मिलाएर परिक्षण गरिदिए धेरै राम्रो हुनेथियो ।’ शीतभण्डार भएपनि त्यसको प्रयोग गर्न नपाउँदा किसानलाई घाटा रहेको पौडेलको भनाइ छ ।

मूल्य उच्च भएपछि किसानले योवर्ष जिल्लाका दुर्गम गाउँहरू आमचोक, चमैता, फाकफोक, धुसेनी, गजुरमुखी लगायतका स्थानबाट पनि माउ अदुवा बिक्रीका लागि बजार ल्याएका छन्, इलामका अर्का व्यापारी मदन श्रेष्ठले भने ‘यसपटक दुर्गम गाउँबाट डोकोमा बोकेर र घोडामा बोकाएर पनि किसाने अदुवा बिक्री गर्न ल्याएका छन् । श्रेष्ठले पनि यो सिजनमा आठ–नौं गाडी भन्दा बढी अदुवा संकलन नभएको जानकारी दिए । बीउको सिजनमा मूल्य कम भयो, लगानी डुब्ने डरले किसानले अदुवानै रोपेनन्, अहिले भाउ निकै उच्च भयो, श्रेष्ठ भन्छन् ।

व्यापारीका अनुसार अदुवाको माउको यो सिजनमा इलामबाट करिब एक करोड रूपैयाँको अदुवा भारत निकासी भएको छ । अदुवाको मूल्य बढेपछि किसान पनि निकै खुशी छन् । बीउ अदुवा नबिकेपछि सबै अदुवा रोपेको थिएं, अहिले माउको दाम राम्रो भयो, बीउ बेच्न नपाउँदा पनि यो वर्ष अदुवाले घाटा लगाएन, सूर्योदय नगरपालिका– १२ का किसान गंगाप्रसाद वाग्लेले भने । वाग्लेले जस्तै इलाम नगरपालिका– ५ का चुडामणि पोख्रेलले पनि ३० मन अदुवाको माउ बिक्री गर्नुभएको छ । सधैं एक सय मन भन्दा बढी रोप्नेले पनि गत सिजनको अदुवाको अवस्था हेरेर आधा भन्दा कम रोपेका थिए, राम्रो पक्ष चाँहि मूल्य बढी हुँदा उत्पादन थोरै भएपनि विदेशी मुद्रा आउने क्रम भने कम भएन, व्यापारी पौडेल भन्छन् ।
विगतमा भएको भारत निकासी अवरोध, यो पटक सहज भएपछि लोड गरिएका गाडीहरू नक्सल पु¥याउन पनि कुनै समस्या नभएको अदुवा व्यापारीको भनाइ छ ।
इलामका इलाम नगरपालिका, नामसालिङ, बरबोटे, सोयाङ, सोयाक, धुसेनी, गजुरमुखी, पाँचथरको फिदिमसहित सराङडाँडा, भुल्के, सिम्ले, यासोक, रानीटारलगायत सबैजसो गाउँमा प्रसस्त अदुवा उत्पादन हुन्छ । झापा, मोरङ, उदयपुर, धनकुटा, ताप्लेजुङ, नवलपरासी, सुर्खेत, मकवानपुर, पाल्पा, स्याङ्जा, सल्यान, दाङ, कैलाली र डडेल्धुरालगायत देशका २० जिल्लामा अदुवाको व्यावसायिक खेती हुने गरेको तथ्यांक छ । ‘जिन्जर प्रोफाइल २०१६’ का अनुसार उत्पादनको ९४ प्रतिशत अदुवा भारत नै निर्यात हुने गरेको छ । इलामको तीन हजार दुई सय ३३ हेक्टरमा ४५ हजार नौं सय ९४ मेट्रिक टन (मेट), पाँचथरको छ सय ६१ हेक्टरमा आठ हजार आठ सय ३९ मेट, धनकुटाको दुई सय ४९ हेक्टरमा चार हजार नौं सय ३३ मेट, तेह्रथुमको दुई सय १२ हेक्टरमा तीन हजार दुई सय ७७ मेट र झापाको तीन सय ४२ हेक्टरमा चार हजार पाँच सय ८३ मेट अदुवा उत्पादन हुने गरेको छ ।

यस्तै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१७ मा नेपालबाट १४ करोड ७७ लाख ५८ हजार ५२९ रूपैयाँको अदुवा निकासी भएको पाइन्छ । केन्द्रको तथ्याकं अनुसार स्न २०१७ मा ६५ लाख ८२ हजार आठ सय ९७ किलो अदुवा निकासी भएको छ । तथ्याकं अनुसार सबैभन्दा बढी मेची भन्सार कार्यालयबाट १४ करोड ४६ लाख ८४ हजार रूपैयाँको अदुवा भारत निकासी भएको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार