अवरुद्ध पोखरा–बागलुङ सडक सुचारु

पर्वत : अविरल वर्षासँगै सडकमाथिबाट खसेको पहिरोका कारण बुधबार मध्याह्नदेखि अवरुद्ध भएको पोखरा–बागलुङ सडकखन्ड सुचारु भएको छ ।

पर्वतको मोदी गाउँपालिका वडा नम्बर–५, बाजुङस्थित भ्याप्लेमा सडकमाथिबाट खसेको पहिरोका कारण मध्याह्न १२ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

दुईओटा स्काभेटर र प्रहरीको सक्रियतामा बुधबारै साँझ साढे ६ बजेदेखि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सडक खुलेसँगै दिउँसोदेखि नै सडकमा अलपत्र परेका सयौं सवारी–साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

पोखरा–बागलुङ सडकखन्डको वैकल्पिक सडक नहुँदा यात्रीहरु दिनभरि सवारी–साधनसँगै सडकमै अलपत्र परेका थिए ।

मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको यस खन्डमा सामान्य वर्षाले पनि पहिरो झर्नेक्रम बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार