नेपालसामु १९० रनको चुनौती, पारसको कप्तानी इनिङ्स

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले इतिहासकै पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिरहेको छ ।

नेदरल्यान्ड्सको आम्सटर्डमस्थित भीआरए मैदानमा जारी खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको हो ।

नेपालले खेल जितका लागि १९० रनको चुनौती पाएको छ ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा अलआउट हुँदै १८९ रन बनायो । माइकल रिप्पोनले सर्वाधिक ५१ रन जोडे ।

नेपालका लागि पारस खड्काले कप्तानी इनिङ्स खेल्नेक्रममा १० ओभर बलिङ गर्दै २६ रन खर्चेर ४ विकेट लिए ।

त्यसैगरी, पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय विकेट लिने कीर्तिमान आफ्नो नाममा लेखाउन सफल सोमपाल कामीले ३४ रन खर्चेर ३ विकेट झारे ।

सोमपालले कीर्तिमान रच्नेक्रममा ड्यानियल टेर ब्राकलाई ‘बोल्ड आउट’ गरेका थिए ।

नेपालका लागि बसन्त रेग्मी, सन्दीप लामिछाने र करण केसीले समान एक/एक विकेट झारे ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि नेपालले एक दिवसीय क्रिकेटमा ‘डेब्यु’ गरेको हो । नेपालले दुई खेलको शृंखला खेल्नेछ । अर्को खेल शुक्रबार हुनेछ ।

नेपालले गत चैत १ गते एकदिवसीय मान्यता पाएको थियो । जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकपअन्तर्गत् छनोट प्लेअफको खेलमा पपुवा न्यूगिनीलाई हराएर नेपालले आगामी चार वर्षका लागि एकदिवसीय मान्यता पाएको थियो ।

नेदरल्यान्ड्सले भने विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेर चार वर्षपछि फेरि एकदिवसीय मान्यता पाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार