ताप्लेजुङमा पच्चीस हजार लौठ सल्लाको बिरुवा रोपियो

ताप्लेजुङमा पच्चीस हजार लौठसल्लाको बिरुवा रोपिएको छ । क्यान्सरको औषधिको रुपमा परिचित लौठसल्ला खेतीका लागि ताप्लेजुङको वातावरण उपयुक्त भएको र हालसम्म करिव पच्चीस हजार लौठसल्लाको बिरुवा रोपिएको छ । बिरुवा रोप्नका लागि पछिल्लो समय जिल्ला वन कार्यालयले प्रेरित गर्न थालेसँगै हाल लौठसल्ला रोप्नतर्फ किसानको आकर्षण पनि बढ्दै गएको छ ।

दुई हजार पाँच सयदेखि तीन हजार पाँचसय सम्मको उचाइमा पाइने लौठसल्ला ताप्लेजुङका किसानले अहिले आफ्नो निजी तथा सामुदायिक वनमा धमाधम बिरुवा रोप्न थालेका छन् । पहिले देखि नै जिल्लाका विभिन्न वन जङ्गलहरुमा लौठसल्ला पाइने भए पनि पछिल्लो समय यसको उपयोगिताबारे बुझेपछि किसानले व्यवसायिक रुपमै लौठसल्लाको खेती अर्थात बिरुवा रोप्न थालेका हुन् ।

जिल्ला वन कार्यालय ताप्लेजुङका अनुसार पछिल्लो दुई वर्षको अवधिमा मात्रै २४ हजार नौ सय ५० बिरुवा रोपिएको छ । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत एवम् सूचना अधिकारी सोमेश्वरकुमार दासले करिव ४० हेक्टर क्षेत्रफलमा उक्त सङ्ख्यामा किसानले लौठसल्ला रोपेका जानकारी दिनुभयो । सूचना अधिकारी दासका अनुसार जिल्लाको फुङ्लिङ नगरपालिकाको फुरुम्बु, हाङ्देवा, पाथीभरा याङ्वरक गाउँपालिकाको तिरिङ्गे, सिरिजङ्घाको सिकैँचा, याम्फुदिन, तेल्लोक, सिदिङ्बाको कालिखोला, सादेवा लगायतको किसानले लौठसल्लाको बिरुवा रोपेका छन् ।

यस्तै मिक्वाखोला गाउँपालिकाको पापुङ, साँबा, मेरिङ्देनको नाल्बु, मैवाखोलाको फाकुम्बा, फक्ताङ्लुङ गाउँपालिकाको सावादिन लगायत क्षेत्रका स्थानीय किसानले सामुदायिक वन तथा आफ्नो निजी वनमा लौठसल्लाको बिरुवा रोपेका छन् । लौठसल्ला खेती बिस्तार कार्यक्रमअन्तर्गत उक्त विभिन्न गाउँका ३७ जना किसानलाई लौठसल्लाको बिरुवा तथा बिरुवा रोप्नका लागि जिल्ला वन कार्यालयले सहयोग गरेको दासले बताए ।

किसानलाई निःशुल्क बिरुवा उपलब्ध गराउनुका साथै बिरुवा रोप्न, खाल्डो खन्न, झाडी सरसफाइ गर्नका लागि चालू आर्थिक वर्ष २०७४÷७५ मा छ लाख ५७ हजार २७१ रुपियाँ अनुदान रकमसमेत उपलब्ध गराएको दासले जानकारी दिए । उहाँले चालू आवमा चार लाख १४ हजार ९२० रुपियाँ बराबरको बिरुवा खरिद गरी किसानलाई उपलब्ध गराएको पनि बताए । उनका अनुसार गएको आर्थिक वर्ष २०७३÷७४ मा पनि जिल्ला वन कार्यालयले लौठसल्लाको बिरुवा र अनुदान रकम किसानलाई उपलब्ध गराएको थियो ।

जिल्ला वन अधिकृत बिष्णुलाल घिमिरेका अनुसार विभिन्न सामुदायिक वनमा आवद्ध तथा अन्य किसानलाई सहयोग गर्दै आएको बताए । ताप्लेजुङ लौठसल्लाको लागि राम्रो सम्भावनाको जिल्ला भएको र हाल खेतीका लागि किसानको आकर्षण पनि उत्तिकै रहेको घिमिरेको भनाइ छ । जिल्ला वन कार्यालयको लौठसल्ला खेती विस्तार कार्यक्रमअन्तर्गत गएको वर्षदेखि किसानलाई सहयोग गर्दै आएको उनले बताए ।

हालसम्म किसानले रोपेका बिरुवा राम्रैगरी फस्टाउँदै आएको पनि उहाँले बताउनुभयो । थप किसानको मागबमोजिम आगामी वर्षहरुमा पनि खेती बिस्तारका लागि वन कार्यालयले किसानलाई सहगोग गर्ने उनले बताए । यता लौठसल्लालाई प्रशोधन गरेर क्यान्सरको औषधि बन्ने भएकाले यसबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेर खेती गर्न थालेको किसानले बताएका छन् ।

तिरिङ्गेका स्थानीय किसान खड्गबहाहादुर पौडेलले हाल किसानहरु निक्कै आशावादी भएर लौठसल्लाको खेतीमा संलग्न रहेका बताए । लौडसल्ला खेतीबाट उत्पादन गर्नलाई अब धेरै समय नलाग्ने बताउँदै पौडेलले उत्पादन हुने कच्चा पदार्थ बिक्री गर्ने बजारको भने अहिले देखि नै किसानमा चिन्ता रहेको उनले बताए । यस्तै अर्का किसान अशोककुमार बस्नेतले अहिलेसम्म लौठसल्लाको बजारबारे अन्योल रहेको उचित बजार व्यवस्थाका लागि राज्यले सहयोग गर्नुपर्ने बताए ।

नेपालमा हालसम्म हेटौंडासहित दुई ठाउँमा लौठसल्लाको कच्चा पदार्थ प्रशोधन गर्ने गरिएको बताइएको छ । यस्तै नेपालमा सङ्कलन हुने लौठसल्ला प्रशोधन गरेर फ्रान्स, अमेरिका, जापान लगायतका देशमा निर्यात भई क्यान्सरको औषधि उत्पादन गरिँदै आएको छ । लौठसल्लाको मसिनो हाँगा, पात र बोक्राबाट ट्याक्सोल उत्पादन गर्ने गरिन्छ । उक्त ट्याक्सोल औषधि स्तन, पाठेघर, टाउकोको क्यान्सर तथा ट्युमरको उपचारमा प्रयोग गरिने बताइएको छ ।

यस्तै दम, ज्वरो, रुघाखोकी, खाना अपच, पखाला, पेट दुखेको र टाउको दुखेको उपचार साथै शक्तिशद्र्धक टनिकको रुपमा समेत लौठसल्ला प्रभाकारी हुने मानिएको छ । निक्कै ठूलो रुख हुने हुनाले यसको काठ फर्निचर तथा भवन निर्माणमा समेत प्रयोग गर्ने गरिएको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार