डा‍. केसीकाे माग जायज छ, हामीहरुको साथ रहन्छ: देउवा

काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारलाई पुनः दवाव दिनु भएको छ ।

सभापति देउवाले जीवन रक्षाका लागि पनि वरिष्ठ चिकित्सक केसीको मागलाई सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारसँग जोडदार माग गर्नुभयो ।

शुक्रबार अपराह्न वरिष्ठ चिकित्सक केसीको महाराजगञ्जमा रहेकाे शिक्षण अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेपछि उहाँले केसीको माग जायज रहेको भन्दै त्यसमा आफूहरुको साथ रहने अडान पनि दोहोर्‍याउनुभयो ।

सभापति देउवाले संचारकर्मीहरुमाझ तत्कालीन एमालेसहितको सहमतिमा आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जस्ताको तस्तै नआए मान्य नहुने चेतावनी पनि दिनुभयो ।

सभापति देउवाले जीवन रक्षाका लागि वरिष्ठ चिकित्सक केसीको समर्थनमा जुटन पनि सबैलाई पुनः आह्वान गर्नुभयो ।

प्रमुख प्रतिपक्ष नेपाली का‌ंग्रेसले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न देउवा नेतृत्वको अघिल्लाे सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदबाट पारित गराउन माग गर्दै संसद र सडक दुवै संघर्षलाई निरन्तरता दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार