ताप्लेजुङ : मेची राजमार्ग निर्माण भएको ३१ बर्ष भैसक्यो । तर सुन्दा अचम्म लाग्न सक्ला, सरकारी रेकर्डमा सडक नै छैन भन्दा । २०४४ सालमै झापाको चारआलीदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङ सम्म सडक पुगेको थियो । अर्को अनौठो कुरा के छ भने, सरकारले लगतकट्टा नगर्दा सवारी गुड्ने राजमार्गको तीरो तीन दशकदेखि सर्वसाधारणले नै बुझाइरहनु परेको छ ।
मेची राजमार्गको ट्रयाक खोलेर सडक फुङलिङ पुग्दा स्थानीय घनश्याम सुनुवार ३७ वर्षका थिए । जीवनमा पहिलो पटक देखेको डोजरले बासमती धानफल्ने खेत आँखै अगाडि सडकमा परिणत गर्यो । हेर्दाहेर्दै उनको पाँच रोपनी भन्दाबढी अन्न फलाउने खेत डोजरले खायो । तर बिडंवना त्यही खेतमा गाडी चल्न थालेको ३० बर्ष पुग्दापनि जग्गाको तिरो भने घनश्यामले नै तिर्नुपरेको छ ।
‘यो एसो देखिएको क्षेत्र मेरो जग्गा हो । अहिलेसम्म पनि म आफैंले तिरो तिर्दैछु । खोइ किन तिराएको हो थाहा छैन । म मात्रै होइन सबैले तिर्दैछौं । यो भन्दा लापरवाही के हुनसक्छ ?’ घनश्याम भन्छन् । दैनिक सयौं गाडी चल्ने मेची राजमार्ग अहिलेसम्म सरकारको नक्सामा छैन् । नापी कार्यालयले राजमार्गको क्षेत्रफल कित्ताकाट नगर्दा न सडक छेउमा संरचना बनाउने काम रोकिएको छ, नत जग्गाधनीले मुआब्जा नै पाएका छन् । ४४ सालमा आएको सडकले अहिलेसम्म सडकको क्षेत्र कती हो जानकारी गराएको छैन । नत मुआब्जानै दिएको छ ।
राजमार्ग कित्ताकाट गर्ने काम नापी कार्यालयको हो । त्यसका लागि सडक कार्यालयले समन्वय गर्नुपथ्र्यो । तर एकअर्कालाई देखाउदा देखाउदै तीन दशक बितिसक्यो काम भएको छैन् । २०७२ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सडक डिभिजन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेपनि थप समन्वय नगरेको नापी कार्यालयको दाबी छ ।
सरकारी कार्यालयबीच समन्वयन नहुँदा कतिसम्म लापरवाही हुन्छ भन्ने एउटा नमूना हो मेची राजमार्ग । यो चरम बेथितिका लागि सर्वसाधारणले कहिलेसम्म पसिनाको कमाई बुझाई रहनुपर्ने हो कुनै टुगों छैन् ।