जिल्लाको मुख्य नगदेबाली मध्येको अकबरे खुर्सानीको वजारिकरण, भण्डारण र उद्यमशीलताको वारेमा सरोकारवालाहरुको चासो बढेको छ ।
जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. ४ चिलिङ्दिनलाई ‘एक गाउँ एक उत्पादन’ अन्तर्गत पाँचथर उद्योग वाणिज्य संघले अकवरे खुर्सानी उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरेपछि सरोकारवालाहरुले उत्पादित खुर्सानीको भण्डारण, वजारिकरण र उद्यमशीलताका वारेमा चासो दिएका हुन् ।
पाँचथर उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति पाँचथर र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र विराटनगरले आयोजना गरेको ४ दिने अकवरे खुर्सानी कृषकहरुका लागि वजारिकरण, भण्डारण र उद्यमशीलता विकास तालिमको समापनमा बोल्ने वक्ताहरुले अकबरेको उपयुक्त मूल्यका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
फाल्गुनन्द गाँउपालिकाका प्रमुख अमरकुमार नेम्वाङले गाँउको समृद्धिमा स्थानीय उत्पादनको ठूलो महत्व रहने भन्दै सघन र वृहत्तर उत्पादन गरेमा वजार पाइने वताए । चिलिङ्दिनलाई अकवरे खुर्सानी उत्पादनको पकेट क्षेत्र अन्तर्गत स्थानीय तहबाट सहयोग गर्ने नेम्वाङको प्रतिवद्धता थियो ।
परम्परागत खेती प्रणालीबाट भोक टार्ने काम मात्र भएपछि संगठित रुपमा अकवरे खुर्सानी लगाएको सिरिजंघा कृषि सहकारी संस्थाका अध्यक्ष तारावीर नेम्वाङले वताए । उनले चिलिङदिन क्षेत्रवाट मात्रै एक करोड वढीको अकवरे उत्पादन हुने गरेको वताए ।
असंगठित रुपमा उत्पादन र विक्री गर्दा विचौलियाहरु मात्र पोसिने र वास्तविक किसानले उचित मूल्य नपाएपछि किसानहरुलाई संगठित स्थापना गरिएको सहकारीमा अहिले ४ सय २५ घर कृषकहरु आवद्ध छन् । सहकारीकै माद्यमवाट उत्पादित अकवरे सङ्कलन गरि वजारिकरण गर्ने गरेको सहकारीका व्यवस्थापक इन्द्र नेम्वाङले वताए ।
समुदायलाई पायक पर्ने गरि देउराली र पुरानो पञ्चमीमा सङ्कलन केन्द्र स्थापना गरेर सङ्कलित खुर्सानी स्थानीय वजारसँगै विराटनगरको रिजाल टाँसीमा पु¥याएर विक्री गर्ने गरेको उनले वताए ।
करेसावारीमा एक दुई रोपनीदेखि १० रोपनी जमिनमा सवै किसानले अकवरे खुर्सानी लगाउने गरेको र सवै खर्च कटाएर प्रति केजी २ सय रुपैँया कृषकको हात लाग्ने गरेको स्थानीय अम्विका नेम्वाङ वताए । उनले अकबरे खेतीलाई थप विस्तार गर्न सकेमा स्थानीय युवाहरु स्वरोजगार हुन सक्ने वताइन् ।
पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालको अध्यक्षतामा भएको समापन कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र विराटनगरका प्रमुख कृष्णप्रसाद रेग्मी, अलैंची व्यवसायी संघ पाँचरका अध्यक्ष खेम अधिकारी, तालिम सहजकर्ता नारायण सुवेदी लगायतले यस क्षेत्रमा उत्पादित वस्तुको मौलिकता जोगाउन र गुणस्तरिय उत्पादनमा सवै क्षेत्रको सहयोग जरुरी रहेको वताए ।
गत वर्ष जिल्लाबाट २२ करोड ४२ लाख ५० हजार रुपैँया बराबरको अकबरे खुर्सानी निर्यात भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ । कूल १ सय ६७ हेक्टर क्षेत्रफलमा ८ सय ९७ मेट्रिक टन खुर्सानी उत्पादन भएको थियो ।
जसमध्ये साविक चिलिङ्दिन गाविसमा मात्रै ५२ हेक्टर क्षेत्रफलमा उत्पादन भएको ७ करोड ४० लाख रुपैँया मूल्यको २ सय ९६ मेट्रिकटन खुर्सानी निर्यात भएको थियो ।
पाँचथरमा चिलिङ्दिनसँगै नागी, यासोक, रानीगाउँ, स्याबरुम्बा, बलने, पौवासारताप, आङसराङ, रवी, कुरुम्बा, लिम्बा, दुर्दिम्बा र सराङडाँडा लगायत गाविसका किसानहरूले अकवरे खुर्सानी व्यवसायिक रुपमा उत्पादन गर्दै आएका छन् ।