युद्धबहादुर बोहोरा
पाँचथर : स्थानीय स्तरका योजनालाई प्राथमिकता राख्दै फाल्गुनन्द गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७५/७६ को नीति कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष अम्बरकुमार नेम्वाङले चालु आर्थिक वर्ष ०७४/७५ मा गरिएको ४०१ वटा योजना र विभिन्न कार्यक्रमको समिक्षा सहित नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रममा आर्थिक विकास सम्बन्धि नीति पहिलो प्राथमिकतामा परेको छ ।
कृषि तथा पशुजन्य उत्पादन,घरेलुु उत्पादन,युवा तथा महिला स्वरोजगारका लागि उद्यमशीलता तालिम, बित्त तथा सहकारी लगायतका क्षेत्रलाई समेटेको छ । बाँझो जग्गाको तथ्यांक संकलन गरि उपयुक्त व्यवस्थापन र प्रयोग गर्न कृषकलाई प्रोत्साहन गरि गरिबी निवारण उन्मुख गाउँपालिका बनाउने नीति प्रस्तुत गरिएको छ ।
त्यसै, दोस्रो प्राथामिकतामा सामाजिक विकासलाई अगाडी सारेको छ । जसमा, प्राविधिक शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, भाषा, धर्म, लिङ्ग, संस्कृति आदि क्षेत्रलाई अगाडी सारेको छ । तेस्रो प्राथामिकतामा भौतिक पूर्वाधार सम्बन्धि नीति बनाइएको छ ।
भौतिक पूर्वाधार विकास गर्दा फाल्गुनन्द गाउँपालिका भित्रका सबै वडा समेटी चक्रपथ निर्माण गरिने,विभिन्न गाउँ जोड्ने सडक बाह्र महिना सञ्चालन हुने गरि मर्मत गरिने,गाउँपालिकाको सेवा केन्द्रमा १५ शैयाको सुविधा सम्पन्न अस्पताल बनाइने नीति उल्लेख गरिएको छ ।
झोलुङ्गे पुल,भवन निर्माण,निबु कोरीडोर,स्मार्ट भिलेज, खानेपानी र बजार क्षेत्रमा डम्पिङ्गपिङ्गड लगायतका योजना सञ्चान हुने कार्यक्रम छ । त्यसै गरि वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धि र संस्थागत विकास, सेवाप्रवाह र सुशासनको नीति पनि समावेश गरिएको छ।सञ्चार क्षेत्रलाई आधुनिक प्रविधिक तर्फ जोड दिइने कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाका अध्यक्ष अम्बरकुमार नेम्वाङको अध्यक्षता एवम् प्रदेश सभाका अर्थ तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ को प्रमुख र निवर्तमान सांसद भीष्मराज आङ्देम्बेको विशिष्ट आतिथ्यमा भएको गाउँसभामा जिल्ला समन्वय समिति सभापति बिष्णु सापकोटा,प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी,जिल्ला समन्वय अधिकारी गिरिराज ज्ञावली, नेकपा जिल्ला कमिटी अध्यक्ष राजकुमार भण्डारी, नेपाली काँग्रेसका सभापति नरेन्द्रकुमार केरुङ, संघीय समाजवादीका जिल्ला अध्यक्ष देउमान आङ्देम्बे (डि.एम.) राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष भगिरथ चेम्जोङ, संघीय लिम्बुवान मञ्च सम्बद्ध अध्यक्ष सिंहराज नेम्बाङ,पत्रकार महासंघ पाँचथरका सहसचिव जङ्ग तामाङ र समाजसेवी तथा बुद्धिजि लगायतका वक्ताहरुले बोलेका थिए ।
दोस्रो गाउँ सभाको उद्घाटन समारोहमा शुभकामना दिंदै प्रदेश नम्बर १ का अर्थ मन्त्री आङ्बोले प्रदेश सरकारका योजना तथा धारण राख्दै आफ्नो गृह जिल्लाको समग्र विकासमा प्रदेश सरकारको तर्फबाट आफुले सक्दो सहयोग गर्ने बताए । विनियोजित बजेट पूर्णरूपमा कार्यान्वयन र सहि सदुपयोग गर्न स्थानीय सरकारलाई सुझाव दिंदै सिंहदरबारको अधिकार घरमै आएको जनतालाई महसुस हुने काम गर्न जनप्रतिनिधिलाई सचेत गराए । गाउँपालिका उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्बेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशासन तथा योजना प्रमुख राजेन्द्र भट्टराईले गरेका थिए ।