इलाम : सूर्योदय नगरपालिकाले प्रमुख नगदेवाली चियाको गुणस्तर कायम गर्ने र हरियो पक्तिको मुल्यमा रहेका मनपरिलाई नियन्त्रण गर्ने उदेश्यले नयाँ कार्यविधि अघि सारेपछि त्यसलाई असफल बनाउन चिया उद्यमी र चियाका बिचौलीयाहरु सकृय भएका छन् ।
चिया कारखाना र चियाका विचौलीयाहरु बेग्ला बेग्लै समिति बनाएनै कार्यविधि विरुद्ध लागेपछि साना चिया किसानहरु भने मारमा परेका छन् ।
चिया टिप्ने पहिलो सिजनमा हरियो चियाको मुल्य प्रतिकिलो ८० रुपयाँको हाराहारी दिने र त्यहि बर्ष प्रति किलो २० रुपयाँ सम्ममा चिया खरिद गर्ने कारखानार र विचौलीयाको रणनीतिलाई रोक्ने गरी सुर्योदय नगरपालिकाले ४० प्रतिशत न्यूनत्तम नरमपात भएको पत्तीको न्यूनत्तम मूल्य रु. ४० प्रति किलो कायम गरेपछि कारखाना र विचौलीयाले कार्यविधि असफल बनाउन चलखेल गरेको सुर्योदय नगरपालिकाले जनाएको छ ।
आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले नगरपालिकाले किसानको हितमा गरेको निर्णयलाई गलत व्याख्या गरेर किसानलाई दुख दिने प्रयास भइरहेको बताए ।
नगरपालिकाले चिया उद्योगहरुको परिमाणात्मक गतिसँगै चियाको गुणात्मक पक्षतर्फ सचेत रहन अन्य राष्ट्रिय स्तरमा स्वीकार्य हुने मापदण्ड अनुरुप उत्पादन गर्न, आन्तरिक बाह्य बजार प्रवद्र्धन गर्न, स्थायी बजार र उपभोक्ता सुरक्षित गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ र सूर्योदय कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४ को अधिनमा रहेर कार्यविधि जारी गरेको शर्माले बताए ।
उनले भने “कार्यविधि कार्यान्वायले चिया किसान र उद्यमीलाई दिगो फाईदा पुग्छ ।” माप दण्डले बिचौलीयालाई कमजोर बनाएको छ भने सहकारी र समुहलाई उत्साहित गरेको छ । इलाममा विचौलीयाले हरियो चियामा प्रतिकिलो कम्तिमा १० रुपयाँ सम्म कमिसन लिने गरेका छन् ।
सूर्योदय नगरपालिका क्षेत्रमा हरियो चियापत्तीको उत्पादन, प्रशोधन, संकलन गर्ने व्यक्ति संघ संस्थालाई लक्षित गरेर जारी गरेको मापदण्डमा पहाडी भूगोलको चियामा हुने मौलिक गुणस्तरमा कायम गरी चिया उत्पादन प्रशोधन गर्नु गराउनु पर्नेछ । हरियो चियापत्ती भारत तथा तराईतर्फ र तराईबाट पहाडतर्फ ल्याएर प्रशोधन गर्न नपाइने उल्लेख छ । शर्माले गुणस्तरीय चिया भारत र तराईमा जाने र इलामको चियाको गुणस्तरमा प्रभाव पर्ने भएकाले यस्तो सर्त राखेको बताए ।
मापदण्डमा हरियो चिया उत्पादकले असल कृषि अभ्यास आधारित भई पत्तीको उत्पादन गर्नुपर्ने उल्लेख छ । मापदण्डमा भनिएको छ “ जथाभावी विषादीको प्रयोग गर्न पाइने छैन, चिया क्षेत्रमा प्रयोग हुने रसायनिक पदार्थ विक्री वितरण गर्ने व्यवसायीले रासायनिक मल, विउ, विषदीको विवरण गुणस्तर र मुल्यसूची सहित नगरपालिकाको शाखाबाट दर्ता तथा अनुमति पत्र लिएको हुनुपर्नेछ ।”
कार्यविधिले ४० प्रतिशत भन्दा कम गुणस्तरको पत्तीको खरिद तथा विक्रीलाई निरुत्साही गरिने उल्लेख छ । शर्माका अनुसार कारखानाहरुले भने मापदण्ड भन्दा तलको चिया खरिद नगर्ने सुचना प्रकाशन गरिसकेका छन् । उनले भने “निरुत्साहित गर्ने भनेको हो बन्द गर्ने भनेको छैन, उद्योगले गलत व्याख्या गरेर किसानलाई आन्दोलीत बनाउने प्रयास गरे ।”
मापदण्डमा कारखानामा न्यूनत्तम भन्दा कम गुणस्तरको पत्ति फेला परेमा समितिले निर्णय गरी सो पत्तीलाई नष्ट गर्न सक्ने उल्लेख गरेपनि नलिन निर्देशन आएको भन्दै कारखानाहरुले कृषकमा भ्रम छरेको आरोप लगाए ।
उनका अनुसार बैशाख जेष्ठमा हुने “बाझी” समयमा र दशै तिहारको समयको हकमा ४० प्रतिशत भन्दा कम गुणस्तरको पत्तीको खरिद तथा विक्री गर्न नागरपालिकाको विषयगत शाखाबाट स्वीकृती लिई गर्न सकिने उल्लेख गरेको छ । तर यो विषयलाई भने उद्योग र विचौलीयाहरुले किसानलाई सुनाउदैनन् ।
सूर्योदय नगरपालिकाले चिया उत्पादन र व्यवसायलाई आवश्यक पर्ने पूँजीको प्रवाहलाई सरलीकरण गर्न, चिया अनुसन्धानशाला तथा चिया अक्सन बजारको पूर्वाधार तयार गर्न शुरु गर्ने, चिया निर्यातको लागि आन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, चिया खेतीमा संलग्न किसानहरुलाई सहकारीताको सिद्धान्त अनुसार संगठित गराउँदै लैजाने लगायतका योजना समेत अघि सारेको शर्माले बताए ।
चिया व्यवसायमा संलग्न कृषक, उत्पादक, संकलक तथा प्रशोधनकर्ता अनिवार्य रुपमा नगरपालिकामा दर्ता भई वार्षिक रुपमा नवीकरण गर्नुपर्ने सर्त अघि सारेपछि विचौलीयाहरु भने थप उत्तेजीत भएको नगरपालिकाको बुझाइ छ ।
सुर्योदय नगरपालिकाका किसानले गत बर्ष हसियाले समेत चिया टिपेका थिए । कार्यविधिमा भने चियाको गुणस्तर किटान गरिएको छ । कार्यविधिमा सुइरो, एक पात सुइरो, दुई पात सुइरो भएको, एक पात नरम बाँझी भएको चिया सहजै खरिद गर्ने उल्लेख छ ।
कार्यविधिमा तिन पात तथा चार पात एक सुइरोबाट दुई पात एक सुइरो चुडेर लिने उल्लेख छ भने दुई पात बाँझी तथा चार पात माथिको पत्ती र कालो पात, रोग किरा लागेको पत्ती नलिने उल्लेख छ । शर्माले चिया तथा कफि विकास बोडको प्राविधिक सहयोगमा कार्यविधि तयार गरेको बताए ।
इलाम टि प्राड्युर्सस प्राली आइतबारेका प्रवन्धक ओम काफ्लेले कार्यविधिले चियाको गुणस्तर कायम गर्न सहयोग गर्ने बताए । उनले कार्यविधिले तोकेको ४० प्रतिशत मुना भएको चियाको माप दण्ड पुरा गर्न अहिले सम्भाव नहुने भएकाले जटिलता आएको बताए ।
इलामको सुर्योदय नगरपालिकालाई चियाको राजधानी समेत भन्ने गरिन्छ । सुर्योदय नगरपालिकामा मात्र साना ठुला ५२ चिया कारखाना रहेका छन् । यहाका अधिकासं किसानले चिया खेती गरेका छन्