गाउँ–ठाउँ चिनाउन पत्रकारिता

पत्रकार सचित राई अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा वरिष्ठ उपसम्पादकमा कार्यरत छन् । इलामको ‘पावनभूमि’ साप्ताहिकबाट अखबारी पत्रकारिता थालेका राईले विभिन्न सञ्चारगृहमा रहेर पेसागत अनुभव सँगालिसकेका छन् ।
पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजनमा लामो समय काम गरेका उनले ‘सनराइज पोस्ट’ साप्ताहिकमा सम्पादकको भूमिका निर्वाह गरे । ‘सनराइज पोस्ट’ लाई एक वर्ष नेतृत्व गरेका उनी त्यसपछि ‘कारोबार’ राष्ट्रिय दैनिकमा पुगे ।
‘सौर्य’ राष्ट्रिय दैनिकमा सुरुमै आबद्ध उनले त्यहाँ ‘डेस्क’ सम्हाले । निकै जटिल परिस्थितिबाट गुज्रिएको ‘सौर्य’ को पुनः प्रकाशनमा पनि उनको साथ रह्यो । त्यसपछि अनलाइन पत्रिका पुलेसो डटकममा उनले डेस्क सम्हाले । पुलेसोमा राजीनामा दिएपछि उनी ‘कारोबार’ मै फर्किए ।

विभिन्न सञ्चारगृहमा काम गरेका उनले अनलाइन, टेलिभिजन, छापामाध्यमको अनुभव सँगालेका छन् । सानैदेखि साहित्य सिर्जनामा लागेका उनी आफू यही कारण पत्रकारितामा आकर्षित भएको ठान्छन् । पत्रकारितामा स्थापित भई उनी यही पेसाबाट जीविकोपार्जन गरिरहेकोमा गौरवान्वित छन् ।
इलामको साबिक बाँझो गाविस वडा नम्बर ६ (हाल : माङसेबुङ गाउँपालिका वडा नम्बर ६) निवासी मनरानी राई र भक्तबहादुर राईका कान्छा छोरा उनले जिल्ला सदरमुकाम इलाम बजारमा रहेर पत्रकारिता गर्दा गाउँमा प्रशिक्षण पनि चलाए । प्रशिक्षणबाट पत्रकार उत्पादन भए पनि सशस्त्र द्वन्द्वका कारण स्थानीय पत्रकारले निरन्तरता दिन नसकेको उनी सुनाउँछन् ।

‘फाइभ डब्लु वान् एच’ सम्म बुझेर पत्रकारिता थालेको सुनाउने उनले नेपाल प्रेस इन्स्टिच्युटबाट सात दिन र तत्कालीन आदिवासी जनजाति पत्रकार संघ (अनिज) अहिले फोनिजबाट चारमहिने ‘एड्भान्स’ पत्रकारिता तालिम लिए । स्नातक तहमा कार्यमूलक पत्रअन्तर्गत पत्रकारिता लिएका उनले पुग नपुग दुई दशकदेखि यसलाई नै जीवन गुजाराको मेलो बनाएका छन् ।

संवत् २०६१ देखि काठमाडौं बस्दै आएका उनी सम्पादनमा दख्खल राख्छन् । यससँगै उनका केही कृति प्रकाशनमा आएका छन् । ०७२ मा प्रकाशित खोजअनुसन्धानमूलक कृति ‘माङखिम’ उनको चर्चित किताब हो । उनका ‘अर्को भ्रम’ कवितासंग्रह २०६८, ‘नयाँ नेपाल’ अन्तर्वार्तासँगालो २०६४ र ‘पूर्व जाने हो’ गीतिएल्बम २०६३ छन् ।
त्यसो त उनी २००७ सालको क्रान्तिका योद्धा रामप्रसाद राईका विषयमा खोजअनुसन्धान गरी सञ्चारमाध्यममार्फत सर्वसाधारणसम्म त्यसबारे जानकारी पस्किने लेखकमा पर्छन् । प्रतिष्ठानले उनलाई रामप्रसादको १०९औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्मानसमेत गरेको छ । यसका साथै उनी सहिद रत्नकुमार बान्तवा वाङ्मय पुरस्कार २०७३ र युवा प्रतिभा तथा उद्यमी प्रोत्साहन पुरस्कार २०७३ बाट पुरस्कृत भइसकेका छन् ।

आफ्नो गाउँ–ठाउँलाई चिनाउन पत्रकारितामा लागेको सुनाउने उनी अहिले पनि गाउँठाउँ, समाजकै लागि पत्रकारिता गरेको बताउँछन् । इलाम समाज हङकङले प्रकाशन गरेको ‘इलाम’ माउनी नै सम्पादन छ । यसका साथै उनले थुप्रै कृति सम्पादनसमेत गरिसकेका छन् । उनले विभिन्न भित्रेपत्रिका हुँदै ‘इशारा’ हवाई मासिक, ‘साइनो’ त्रैमासिक, ‘जमर्को’, ‘नमन’ लगायत पत्रपत्रिकामा सम्पादकको भूमिका निर्वाह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार