नेपाली चिया परीक्षणका नाममा सास्ती

इलाम : तयारी चिया बिक्रीको सिजन शुरु हुनासाथ भारतले प्रत्येक लटको चियाको नमूना सेन्टर फुड ल्याबमा परीक्षण गराउनु पर्ने प्रावधान बनाएपछि नेपालको चिया काँकरभिट्टा भन्सारमा थन्किएको छ ।

सीमापारी पुगेको चिया पनि त्यतै रोकिएको छ । एक पटक परीक्षण गरेपछि ६ महिनासम्म त्यही प्रमाण पत्रले काम दिने प्रावधान परिवर्तन गरेर भारतीय पक्षले प्रत्येक लटमा प्रमाण मागेपछि चिया निकासीमा अवरोध भएको हो ।

प्रत्येक लटमा चिया परीक्षण गर्नुपरेमा भन्सारमा कम्तिमा पनि १५ दिन चिया थुप्रिने चिया तथा कफी विकास बोर्डका प्रशासकीय अधिकृत देउकुमार सिगुले जानकारी दिए । एक पटक नमूना परीक्षण गराउन कम्तिमा १५ दिन लाग्ने भएकाले व्यवसायीहरु मारमा पर्ने गरेका छन् ।

नेपालको चिया भारतबाहेक १८ भन्दा बढी देशमा पुग्ने गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । नेपालको करीब ८५ प्रतिशत चिया भारत जाने गरेको छ ।

अग्र्यानिक चियाको प्रमाणीकरणमा एउटा कारखानाले दश लाखसम्म खर्च गर्नुपर्ने भएकाले साना उद्योगले अग्र्यानिक उत्पादन गर्न सकेका छैनन् ।

भारतको सेन्टर फुड ल्याब खाद्य सामग्री जाँच गर्ने निकाय हो । यसको प्रमाणपत्र लिन एक लाख २४ हजार नेपाली रुपयाँ लाग्ने गरेको उद्यमी बताउँछन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालबाट आर्थिक बर्ष ०७२÷७३ मा १ लाख १८ हजार ४४९ किलो ग्रिन टी, १ लाख ३ हजार ३० किलो फर्मेन्टेड नगरेको ब्ल्याक टी र १ करोड २७ लाख ५० हजार ५७ किलो फर्मेन्टेड गरेको चिया भारत निकासी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार