पाँँचथर उद्योग वाणिज्य संघको ११ औँ अधिवेशनः २० पदका लागि ४१ जनाको उम्मेद्वारी

फिदिम : जिल्लाका उद्योगी व्यवसायीहरुको साझा संस्था पाँचथर उद्योग वाणिज्य संघको ११ औँ अधिवेशनका लागि उम्मेद्वारी दर्ता सम्पन्न भएको छ । संघका अध्यक्षदेखि सदस्यसम्मका २० पदका लागि ४१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम र राष्ट्रिय प्रजातन्त्र पार्टी सम्वद्ध व्यवसायीहरुको तुलसीदास श्रेष्ठ नेतृत्वको प्यानल र नेपाली काँग्रेस र लिम्वुवान सम्वद्ध व्यवसायीहरुको दीपक नेपाल नेतृत्वको प्यानलले सबै पदमा उम्मेद्वारी दिएका छन् । दुवै प्यानलले मंगलबार उम्मेद्वारी घोषणा गरेका थिए ।

संघका वर्तमान महासचिव श्रेष्ठ नेतृत्वको प्यानलको प्यानलको उपाध्यक्षमा यामनाथ काफ्ले, लक्ष्मण लावती, प्रयागराज सुवेदी र इन्दिरा धौराली उम्मेद्वार बनेका छन् । यस प्यानलबाट महासचिव पदमा नवराज घिमिरे उम्मेद्वार बनेका छन् । यस प्यानलबाट सचिवमा नविनकिशोर घिमिरे र कोषाध्यक्षमा चन्द्रप्रकाश काफ्ले उम्मेद्वार छन् ।

महिला सदस्यमा कुमारी मिश्र उम्मेद्वार छन् भने खुल्ला सदस्यमा शान्ति थेवे श्रेष्ठ, मिलन गिरी, ठूलोराम सुन्दास (कमल), पूर्ण सम्बाहाम्फे, देवीमाया शिवाकोटी, सूर्यकुमार मगर, केशव खनाल, सागर ओझा, भीम नेम्वाङ, जगत बम्जन र युद्ध बोहोरा उम्मेद्वार बनेका छन् ।

नेपाल नेतृत्वको प्यानलको उपाध्यक्षमा तिलविक्रम नेम्वाङ, राजु न्यौपाने, कृष्णमाया बुढाथोकी र ज्ञानेन्द्र मैनाली उम्मेद्वार छन् । नेपाल प्यानलको महासचिवमा उमनाथ अधिकारी (उमेश) उम्मेद्वार छन् । सचिवमा वर्तमान कार्यसमितिका सदस्य कमल बाँस्कोटा उम्मेद्वार छन् भने कोषाध्यक्षमा विमला सुब्बा उम्मेद्वार छन ।

नेपाल प्यानलबाट महिला सदस्य पदमा मेनुका मैनाली, सदस्य पदमा चन्द्र डाँगी, सानुकाजी यथार्थ, विकेन्द्र वाइवा, फिरोज खान, मनबहादुर दर्जी (राम सुन्दास), सुवास कान्दु, दिलिप अधिकारी, नरेन्द्र पन्थाक, विकास थापा र नरेन्द्र राई उम्मेद्वार बनेका छन् । संघका पूर्वउपाध्यक्ष तिलक ढकालले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

निर्वाचन समितिले विहीवार उम्मेद्वारहरुको मनोनयनउपर दाबी विरोध गर्ने समय दिएको छ । यस्तै विहीवारै मनोनयन उपर परेको दाबी विरोधको छानविनपछि पुनः प्रकाशन गर्ने कार्यक्रम छ । शुक्रवार उम्मेद्वारी फिर्ता लिने र उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम राखिएको छ । जेठ ७ गते मतदान सुरु हुने मुख्य निर्वाचन अधिकृत छवि बाँस्कोटाले जानकारी दिए ।

उम्मेद्वारी मनोनयनपछि उम्मेद्वारहरु संघ सदस्यहरु समक्ष मत माग्न व्यस्त देखिएका छन् । उम्मेद्वारहरुको सकृयताले व्यवसायीहरुमाँझ चुनावी रौनक देखिएको छ ।

विगतमा स्थानीय स्तरमा जनप्रतिनिधिको अभावमा संघले महत्वपूर्ण जिम्मेवारी र भूमिकाहरु समेत पाएको थियो । स्थानीय तह निर्माण र जनप्रतिनिधि चुनिएपछि संघको भूमिका विगतजस्तो नहुने भएका कारण विगतमा जस्तो व्यवसायीहरुवीच राजनीतिक प्रतिस्पर्धा नहुने आँकलन गरिँदै आएको थियो । तर, व्यवसायीहरुको चुनावी रौनकले राजनीतिक रङ्ग पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार