सीमापारी ७० औं वार्षिक उत्सव, वारी पूर्ण प्रतिवन्ध

नयाँ बुलन्द

इलाम : कुनै बेला पहाडि क्षेत्रका लागि सबैभन्दा बलियो मानिएको ल्याण्डरोभर जीप नेपाल सरकारले प्रतिवन्ध लगाएको छ । पहाडि क्षेत्रमा अत्यधिक प्रयोगमा आएको ल्याण्डरोभर बन्द भएपछि व्यवसायिहरु मर्कामा परेका छन् ।

नेपाल सरकारले २० वर्ष पूराना ल्याण्डरोभर चलाउन रोक लगाएसँगै हज्जारौंको रोजिरोटी गुमेको छ । पर्यटन, जंगल सफारी र हिमाली क्षेत्रमा समेत सजिलै हाँक्न मिल्ने पुराना ल्याण्डरोभर मोडेलका जिप विस्थापित हुँदा वेरोजगारी सिर्जना भएको छ ।

बेलायतको प्रसिद्ध ल्याण्डरोभर कम्पनीले गाडि निर्माण सुरु गरेको ७० वर्ष पुग्दा सीमा वारी पूर्ण प्रतिवन्ध छ । तर सीमा पारी मानेभञ्ज्याङमा भने ७० औं वार्षिक उत्सव मनाईएको छ । जेगोर ल्याण्डरोभर कम्पनीले हालसम्म ल्याण्डरोभर चलाइरहेका चालकहरुको सम्मान गर्दै मानेभञ्ज्याङमा सोमबार ७० औं वर्षगाँठ मनाएको हो । कार्यक्रममा बेलायतका कम्पनी संचालकहरु समेत सहभागि थिए ।

सीमा नाका मानेभञ्ज्याङमा मात्र ४५ वटा ल्याण्डरोभर जीप सञ्चालनमा छन् । पहाडि कच्ची सडकमा हिउँ परेका बेला र वर्षायाममा अन्य मोडलका गाडि नजाने भएकाले ल्याण्डरोभरको प्रयोग हिउँद वर्षा दुवै याममा उत्तिकै बढेको छ । सन् १९४८ एप्रील ३० तारिखबाट बन्न थालेको ल्याण्डरोभर जीप आजसम्म निरन्तर चलिरहेको पाएपछि ल्याण्डरोभर कम्पनी समेत चकित छ ।

सीमावर्ति भारतको पहाडि क्षेत्रमा ल्याण्डरोभर निर्वाध सञ्चालन भइरहँदा नेपालतर्फका व्यवसायीहरु भने मुकदर्शक भएर बस्न बाध्य छन् । पारीका दृश्य हेर्दे चित्त बुझाउन बाध्य छन् । अहिलेका मोडेलका गाडिले ल्याण्डरोभरको स्थान अझै लिन नसकेको तर्क उनीहरुको छ । उनीहरुले ल्याण्डरोभरका लागि बेग्लै व्यवस्था गर्न माग गरिरहेका छन् ।

पर्यटन क्षेत्रका लागि पहाडि क्षेत्रमा पर्यटक ओसार पसार ल्याण्डरोभर नै उपयुक्त मानिन्छ । बेलायती सेना र अन्य व्यवसायीहरु मार्फत नेपालमा ल्याण्डरोभर मोडलका गाडि भित्रिएका थिए । कम्पनीले हाल विभिन्न डिफेन्डर र अन्य मोडलका गाडिहरु ल्याएपनि पुरानो ल्याण्डरोभर जत्तिको लोकप्रीय बन्न सकेको छैन ।

ल्याण्डरोभर गाडि एलमुनियमको प्रयोगबाट बनेको र यसको हलुंगो बनावटले पहाडि कच्ची सडकमा सजिलो हुनेभएपनि सरकारले नबुझेको ४६ वर्ष अगाडिदेखि ल्याण्डरोभर जीप कुदाएका सिहलिला ल्याण्डरोभर एसोसिएसन मानेभञ्ज्याङका अध्यक्ष पासाङ तामाड बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार