करोडौंको संरचना नष्ट हुँदै (फोटोफिचर सहित)

राम योङहाङ

इलाम : शान्ति प्रक्रियाका क्रममा तत्कालिन नेकपा माओवादीका लडाकुहरुका लागि निर्माण गरिएका करोडौंका अस्थायी शिविरका संरचनाहरु नष्ट हुन थालेका छन् ।

माओवादी लडाकुको प्रथम डिभिजन अन्र्तगत इलामको माई नगरपालिका ४ दानाबारीमा निर्मित विप्लवसिर्जन स्मृति व्रिगेट सहायक शिविरका संरचनाहरु नष्ट थालेका हुन् । शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्तरगत निर्माण गरिएका ६० वटा संरचना संरक्षणको अभावमा जीर्ण बनेका छन् । शान्ति प्रक्रियाका क्रममा सेना समायोजनपछि माओवादी लडाकुले छाडेका ती संरचना संरक्षणमा सम्बन्धित पक्षको ध्यान नजाँदा सबै संरचनाहरु जीर्ण बनेका हुन् ।

करौडौंको लगानीमा बनेका संरचनाहरु संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि कसैको ध्यान गएको छैन । संघीय, प्रदेश र स्थानीय सरकार बनिसक्दा समेत कुनै सरकारले चासो दिएका छैनन् । यसरी संरचना संरणमा पहल नहुँदा करोडौंको सरचना त्यसै खेर गईरहेका छन् । करोडौं लगानीमा बनिएका संरचनाको व्यवस्थापनमा पहल नगरेको स्थानीयबासीहरु बताउँछन् ।

त्यहाँका अधिकाशं संरचनाहरु ढलेका छन् । केहीको आधा भाग ढलेको छ । भवनहरुको छानो भुइमा बसिसकेका छन् । माटोमा बसेका संरचना काम नलाग्ने अवस्थामा पुगेका छन् । भवनका काठ, जस्तापाता र फलामे ट्रष्टहरु भने काम लाग्ने अवस्थामा रहेपनि संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । ती सामाग्रीहरु विद्यालय वा सार्वजनीक निकायलाई तत्काल हस्तान्तरण नगरे कुहिएर नष्ट हुने अवस्थामा छन् । खुल्ला प्रवेशद्वारका कारण गाउँका पशुहरु प्रवेश गरेर समेत क्षति पुर्याउने क्रम बढेको छ ।

३४ हेक्टर क्षेत्रफलमा फैलिएको सो शिविर झाडिले ढपक्कै ढाकेको छ । शसस्त्र प्रहरी वेश क्याम्प बसेको केही भाग बाहेक सबै क्षेत्र झाडीमा परिणत भएको छ । नेपाली सेनाको नाममा रहेको सो क्षेत्रको सानो क्षेत्र शसस्त्र प्रहरी बलले उपयोग गरिरहेको छ ।

शसस्त्रले प्रयोग गरेका चार वटा भवन र तत्कालिन लडाकुले मेडीकल चलाएको एउटा भवन बाहेक सबैको अवस्था जीर्ण बनेको शसस्त्र प्रहरी बल दानाबारीका प्रहरी निरीक्षक चेतन बाराकोटीले बताए । ती भवनहरु यो वर्खा काट्ने अवस्थामा छैनन् ।

२०६८ सालदेखि सो क्षेत्रको रेखदेखको जिम्मा सशस्त्र प्रहरीले पाएको छ । शसस्त्रले त्यहाँको संरचनाको विस्तृत विवरण तयार गरी माई नगरपालिकासहित सम्बन्धित निकायमा पठाएपनि संरक्षणका लागि कुनै पहल नथालिएको बराकोटीले बताए ।
यता माई नगरपालिकाले भने त्यहाँको संरचनाको व्यवस्थापनका लागि आवश्यक पहल गरिरहेको जनाएको छ । जिर्ण संरचनाको व्यवस्थापनका लागि नगरपालिकाको तर्फबाट पहल भइरहेको माई नगरपालिकाका प्रमुख दिपककुमार थेवेले बताए ।

शान्ति प्रक्रियाका क्रममा तत्कालिन माओवादी लडाकु राख्नका लागि देशैभर ७ मुख्य र २१ सहायक शिविर स्थापना गरिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार