सुजता सुनुवार
इलाम : फाल्गुण शुक्ल पूर्णिमा अर्थात् फागुपूर्णिमा वसन्त उत्सवका रूपमा एक आपसमा रंग दलेर मनाउने गरिन्छ । इलाममा पछिल्लो समय होलीपर्व मनाउन युवा बालबालिका सबैको सहभागीता बढ्दै गएको पाइएको छ । जनचेतनामूलक होली सम्बन्धि र अन्य गीत गाउदै रमाइलोमा सहभागी बन्न विगत केही वर्षदेखि इलाममा कन्सर्ट समेत हुदै आएको छ ।
होलीका अवसरमा यस वर्ष पनि जिल्लाका सुर्योदय नगरपालिमा होली विशेष साँस्कृतिक कार्यक्रम र इलाम नगरपालिकाको स्थानीय बजारमा विभिन्न व्याण्डको सहभागीतामा कन्सर्ट कार्यक्रममा समेत युवाहरु झुमेका छन् । यी कन्सर्ट कार्यक्रमलाई लक्षित गरी इलाममा सुरक्षा व्यवस्थालाई कडा पारिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
प्रहरीका अनुसार होली पर्वका लागी साझ ५ बजेसम्म मात्र कन्सर्ट कार्यक्रम हुन दिने र खेल्न दिइने छ । पर्व लक्षित त्यस्ता अप्रिय घटना जिल्लामा अहिलेसम्म नघटेको बताइएको छ ।
वसन्त उत्सवकै एक रूपमा होली वा फागुपर्व मनाउने परम्परा रहेकोले पछिल्लो समय इलामका युवा मात्र होइन बालबालिकामा समेत यस पर्व लोकप्रिय बन्दै गएको छ । सबैले खुशीको रंग साटासाट गर्ने भएकाले यो चाड समावेशी चाड समेत बन्दै गएको इलामका संस्कृतिविद्हरुको भनाई छ ।
युवा तथा बालबालिकाको अलग अलग समुह बनाएर खेल्न चाहनेलाई मात्र एकआपसमा रङ्ग दलेर होली पर्व मनाएको इलाम मालापथका सुइना श्रेष्ठले बताए । उनले भने, ‘होली पर्वले आपसी मित्रता कायम गर्ने भएकाले विगत पाँच वर्ष अघिबाटै हामी समुह बनाएर होली पर्व मनाउदै आएका छौँ ।’
पहिले–पहिले होली खेल्न रङ्गसँगै तेल, कुखुराको अण्डा र पानीबाट होली खेल्ने रंङ्ग तयार गरिन्थ्यो अहिले त्यो चलन फेरिएको श्रेष्ठको भनाई छ ।
यस वर्ष होलीका लागी पानी बिनाको सुख्खा रङ्ग लगाएको र शुद्ध पानीमा सफा रङ्ग मात्र मिसाएर आपसी मञ्जुरीमा रङ्ग दलेको उनले जानकारी दिए ।
विभिन्न प्रकारका रंग दल्ने र पानी छ्याप्ने यो पर्वको मुख्य आकर्षण हो । नेपालमा पहिले पहिले पहाडी भेगमा भन्दा तराईमा फागुको रौनक बढी हुन्थ्यो , तर अहिले पहाडी जिल्लाहरुमा पनि यस पर्वको रौनक बढ्दै गएको पाइएको छ ।
पुराणमा हिरण्यकशिपुकी बहिनी होलिका दहन भएको खुशीयालीमा होली खेल्ने चलन चलेको पं दुर्गा ढुङ्गेलले बताए । उनले भने, “फागुलाई नितान्त सांस्कृतिक, विशुद्ध मनोरञ्जनपूर्ण र जीवन्त संस्कृतिका रुपमा लिनु पर्दछ ।”


















































