नयाँ बुलन्द
पाँचथर : लिम्बु समुदायको मौलिक बाजा केलाङ (च्याब्रुङ नाच) को प्रवर्द्धन, प्रचार प्रसार तथा विकासका लागि भन्दै पाँचथरको सदरमुकाम फिदिममा अन्तराष्ट्रिय केलाङ (च्याब्रुङ नाच) महोत्सव २०७४ सुरु भएको छ ।
सदरमुकामस्थित फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित महोत्सवको १ नम्बर प्रदेशका प्रमुख डा. गोविन्द सुब्बाले उद्घाटन गरे ।
‘लिम्बुहरुको संस्कृतिलाई माया गरौं, च्याब्रुङको लयमा धुन मिलाऔं’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर तीन दिने महोत्सवको आयोजना गरिएको हो ।
महोत्सव उद्घाटन अघि केलाङ नाच सहितको र्यालीले फिदिम बजार परिक्रमा गरेको थियो ।
महोत्सवको पहिलो दिन २१ वटा समुहले केलाङ प्रदर्शन गरेका थिए । सांस्कृतिक पोशाकका कारण महोत्सव स्थलमा रौनक देखिन्थ्यो ।
नेपालमै पहिलोपटक गरिएको महोत्सवमा छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङ सहित नेपालका ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, काठमाडौं र पाँचथरका सबै स्थानीय तहमा रहेका केलाङ क्लब र समुहको सहभागिता रहेको केलाङ सांस्कृतिक समाज मूल समारोह समितिका सचिव मजुराज केरुङले जानकारी दिए ।
‘लिम्बू समुदाय च्याब्रुङको संख्यामा वृद्धि गर्दै मौलिक भेषभुषा, हाङजाम, तागाबा, मेख्ली प्रदर्शन र संरक्षण गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो,’ समाजका अध्यक्ष मनकुमार केरुङले भने ‘लिम्बु समुदायको मौलिक परिकारको प्रवद्र्धन महोत्वसको उदेश्य हो ।’
लिम्बु समुदायमा केलाङ (च्याब्रुङ नाच) विभिन्न शुभ कार्यमा नाच्ने प्रचलन छ। महोत्सवमा गायीका मनु नेम्बाङ, नायीका वविता फोम्बे लगायतको पस्तुती समेत रहेको थियो । महोत्सवमा लिम्बु समुदायका पोशाक, खानापान तथा फोटो प्रदर्शनी समेत राखिएको छ ।




































































