काठमाडौं : नेपाली युवा बलर सन्दीप लामिछानेले यस सिजनको इन्डियन प्रियिमर लिग (आइपीएल) खेल्ने भएका छन् ।
आइतबार भएको अक्सनमा दिल्लीले १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो ।
दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् । अनक्याप्ड प्लेयर्समा रहेका लामिछानेलाई यसपटकको आइपीएलमा हेरिन लायक युवा खेलाडीको सूचीमा भारतीय मिडियाहरुले राखेका थिए ।
यो संगै आइपीएलमा बिक्री हुने उनी पहिलो नेपाली खेलाडी बनेका छन् । स्याङ्जामा जन्मिएका १७ वर्षीय लामिछानेले यसअघि अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लर्कको सिड्नीमा आधारित रहेको क्लब वेस्टर्न सबअर्बस्बाट खेल्ने मौका पाएका थिए ।
उनले क्लार्कको क्रिकेट एकाडेमीमा प्रशिक्षण समेत गर्ने अवसर प्राप्त गरेका थिए । सन् २०१६ को अप्रिल १६ मा उनले किर्तिपुरमा भएको नामिबयाविरुद्धको खेलमा सिनियर टोलीका लागि डेब्यु गरेका थिए । त्यस यता खेलिएका ९ खेलमा उनले १२ विकेट लिएका छन् ।
ग्लेन म्याक्सवेलदेखि गौतम गम्भिरसंग खेल्ने
आइपीएलको ११ औं संस्करणका लागि छनौट भएका लामिछानेको टोलीमा भारतीय खेलाडी गौतम गम्भिर, न्युजिल्याण्डका ट्रेन्ट बोल्ट, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, ड्यानियल क्रिस्टियन लगायत खेलाडीहरु रहेका छन् ।