माइबेनीमा मेलाको रौनक (फोटोफिचर सहित)

राम योङहाङ/सुजता सुनुवार 

इलाम : माघे सक्रान्तिको अवसरमा जिल्लाका विभिन्न क्षेत्रमा मेला लागेको छ । विगतका वर्षहरुमा झैं यसवर्ष पनि माघे संक्रान्ति मेलाको रौनकता छाएको छ । इलामको माई र जोगमाई खोलाको दोभान माईबेनी तथा माई र देउमाईको दोभान फुलुङ्गीमा सोमबारदेखि सक्रान्ति मेला सुरु भएको हो ।

धार्मिक, पर्यटकीय तथा पवित्र तीर्थस्थल माइबेनीमा विहानदेखि नै संक्रान्ति मेलामा आउने भक्तजनको घुइँचो लागेको थियो । माघे सक्रान्तिको दिन माइ खोलामा विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान गर्ने र पूजाआजा गर्ने गर्छन् ।

माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वास छ । मकर स्नान गर्न छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम तथा सीमावर्ती भारतको दाजिलिङ, सिक्किम, मिरिकबाट हजारौं सर्वसाधारण एक सातादेखि नै माईबेनी मेलामा आइपुगेका थिए ।

मेलामा मकर नुहाउने, पूजापाठ गर्ने, भाकल गर्ने तथा भाकल छिनाउने, व्यापार गर्ने र रमाइलो गर्न आउनेकोे भीड बढेको छ ।

सदरमुकामबाट माइबेनीसम्म पुग्न दुई घण्टाको पैदल हिँडेर जानुपर्छ । इलाम बजारबाट तिल्केनी, राईगाउँ, बेनीमार्ग हुँदै माइबेनी मेलामा पुग्न सकिन्छ । यस वर्ष तिल्केनीमोडदेखि गाडीको व्यवस्था गरिएकाले तीर्थालुलाई सहज भएको छ । स्थानीय जीप व्यवसायीले एकोहोरो माइबेनीसम्मको भाडा एक सय ५० रुपैयाँ तोकेको छ । गोदकबाट समेत माईबेनीसम्मका लागि ट्याक्सीको व्यवस्था गरिएको छ ।

मेलामा स्थानीयस्तरमा उत्पादन भएका उखु र सुन्तलाको धेरै किनबेच हुने गरेको छ । मेलामा दुई सय भन्दा धेरै अस्थायी पसलका स्टलहरु छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले शान्ति सुरक्षा कायम गर्न तीन दिन अघिदेखिनै कडा सुरक्षा प्रबन्ध मिलाएको प्रहरीले जनाएको छ ।

उता माईखोला र देउमाईखोलाको दोभान माङसेबुङमा पनि फुलुङ्गी मेला सुरु भएको छ । माघे सक्रान्तिको अवसरमा त्यस क्षेत्रमा धार्मिक र साँँस्कृतिक मेला लागेको माङसेबुङ ३ का वडा सचिव पुष्कर कार्कीले जानकारी दिए ।

किरात समुदायका समाज सुधारक एवम् राष्टिय विभूती फाल्गुनन्द लिङदेनले तपस्या गरी ज्ञान प्राप्त गरेको त्यस क्षेत्रमा पनि मकर नुहाउन र पूजापाठ गर्न विभिन्न क्षेत्रबाट घुँइचो लागेको छ । मेला बुधबारसम्म लाग्नेछ ।

माईबेनी मेलाको केही झलकहरु : 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार