युएईमा ५ वर्षमा ३४७ जना नेपालीले ज्यान गुमाए

उमाकान्त पाण्डे

सन् २०१७ मा सबैभन्दा धेरै नेपालीले ज्यान गुमाएका छन् । गएका सालहरुको तुलनामा यो वर्ष रोजगारीका लागि यहाँ आएका धेरै नेपालीले ज्यान गुमाएका हुन् ।

सन् २०१७ मा युएईमा ८८ जना नेपाली कामदारको ज्यान गएको छ । ज्यान गुमाउने मध्ये ७६ जना पुरुष र ८ जना महिला भएको आवुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।  यो भन्दा अगाडिका ५ वर्षमा यो वर्ष भन्दा कम नेपालीले ज्यान गुमाएका थिए ।

यो संख्या सन् २०१६ भन्दा २२ जनाले धेरै हो । सन् २०१६ मा ६६ जना नेपाली कामदारको ज्यान गएको थियो । मृत्यु हुनेमा सबैभन्दा धेरै प्राकृतिक कारण ३६ जनाको मृत्यु भएको छ ।

प्राकृतिक कारण अन्तर्गत हृदयघात, मष्तिस्क पक्षघात तथा रक्सी खाएर धेरैले ज्यान गुमाएका छन् । त्यसमध्ये २४ जनाको हृदयघातका कारण, ९ जनाको विभिन्न रोग लागेर र १ जनाले रक्सीको कारण ज्यान गएको छ । बाँकी दुई जनाको मृत्युको कारण खुलेको छैन ।

आत्माहत्या गर्ने महिला धेरै

आबुधाबीमा रहेको नेपाली दूतावासको तथ्याङ्क अनुसार गएको वर्ष २६ जनाले आत्महत्या गरेका छन् । जुन सख्या सन् २०१६ भन्दा १४ जनाले धेरै हो । सन् २०१६ मा १२ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा पुरुष भन्दा धेरै महिला रहेका छन् ।

त्यस्तै २२ जनाको दुर्घटनामा परेर ज्यान गएको छ । ९ जनाको सडक दुर्घटना, २ जना जलेर र पानीमा डुबेर ज्यान गएको हो । २ जनाको काम गर्ने ठाउँमै दुर्घटना भएको, २ जनाको हत्या भएको र बाँकी ७ जनाको मृत्युको कारण खुलेको नखुलेको दूतावासको तथ्याङ्कमा उल्लेख छ ।

ज्यान जानेमा २५ देखि ३० वर्ष उमेर समुहका युवा धेरै

ज्यान गुमाउनेको उमेर समुह हेर्ने हो भने २५ देखि ३० वर्ष उमेर समुहका धेरैका युवाको ज्यान गएको छ । यो उमेर समुहका २५ जना युवाको ज्यान गएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, २० वर्ष उमेरसम्मका २ जना , २१ देखि २५ वर्ष उमेर समुहका २२ जना , ३१ देखि ३५ वर्षका १० जना, ३६ देखि ४० वर्षका १२ जना र ४१ वर्षदेखि माथि उमेरका १३ जनाको ज्यान गएको छ ।

५ वर्षमा ३४७ जनाको मृत्यु, सडक दुघर्टना र रक्सी मुख्य कारण

पछिल्लो ५ वर्षमा युएईमा ३ सय ४७ जना नेपालीलेको ज्यान गएको छ । जसमध्ये ३ सय १७ जना पुरुष र ३० जना महिला छन् । यो ५ वर्षमा सडक दुर्घटना र जाँड खाएर ज्यान गुमाउनेको संख्या बढेको छ । सडक दुर्घटनामा ज्यान गुमाउने मध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली भएको दूतावासले जनाएको छ ।

 तथ्याङ्क अनुसार गएको ५ वर्षमा ज्यान गुमाउने नेपाली मध्ये ५३ प्रतिशत नेपालीको मृत्यु प्राकृतिक कारणले भएको छ । दुर्घटनाका कारण २७ प्रतिशत र २० प्रतिशतले आत्माहत्या गरेका छन् ।

चार वर्षको तथ्याङ्कले युएईमा औसतमा ज्यान गुमाउने नेपालीको संख्या घट्दै गएको देखाए पनि यस वर्ष ज्यान गुमाउने नेपालीको सख्या बढ्नु चिन्ताको विषय भएको दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले बताउनुभयो ।

 पछिल्लो समय जाँडरक्सी खाएर झैझगडा तथा होहल्ला गरेका कारण जेल पर्ने नेपालीको संख्या पनि बढेको अर्यालले जानकारी दिनुभयो । दूतावासले नेपाली कामदारको मृत्युदर कम गर्न जनचेतनामुलक कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्ने र कामदार आफैं यसतर्फ सचेत हुनुपर्ने सरोकारवालाको भनाई छ ।

नेपाली दूतावास आबुधाबीले गएको आर्थिक वर्षमा विभिन्न खालका जनचेतना मुलक कार्यक्रम भन्दै ५ वटा कार्यक्रम गरेको थियो । यस वर्ष पनि दूुतावासले जनचेतनामुलक कार्यक्रम गर्न नेपालबाट अनुमती पाईसकेको छ ।

तर यस्ता कार्यक्रम त्यती प्रभावकारी भने देखिएका छैनन् । दूतावासको सचेतनामुलक कार्यक्रममा भर पर्नुभन्दा पनि विदेशमा आउने नयाँ कामदार र यही हुनेले पनि यसतर्फ आफैं सचेत हुन आवश्यक छ ।

उज्यालोबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार