इलामका टेकनाथ युएईमा सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

उमाकान्त पाण्डे

युएई : ‘मोबाइल बिग्रियो, अब नयाँ मोबाइल किनेर फोन गर्छु’ भनेका श्रीमानले ११ महिना बित्दा पनि फोन नगरेपछि दिक्षा आचार्य आत्तिनु भएको छ । ‘तलब पनि दुई महिनामा मात्र आउँछ मेरो मोबाइल बिग्रिएको छ; साथीको फोन बाट गरेको भन्नुभएको थियो त्यसपछि फोन गर्नुभएन,’ रोजगारीका लागि युएई गएका दिक्षाका श्रीमान् टेकनाथ आचार्य सम्पर्कविहिन भएको ११ महिना भयो ।

इलामको इलाम नगरपालिका बरबोटे ५ का टेकनाथले काम अप्ठेरो छ भनेर श्रीमतीसँग दुखेसो पोखिरहनुहुन्थ्यो । दिक्षाले श्रीमानलाई घर फर्किन आग्रह पनि गर्नुभएको थियो । तर टेकनाथले जस्तो भएपनि २ वर्ष कटाएरै नेपाल फर्किने बताउनुभएको थियो ।

टेकनाथ २०७२ मंसिर ८ गते युएई आउनु भएको थियो । टेकनाथले भने अनुसार उहाँ यतिबेला घर फर्कनु पर्ने हो । तर घर फर्किनुको साटो सम्पर्कविहीन हुनुभयो । दिक्षालाई श्रीमान् सम्पर्कविहीन हुनुको कारण थाहा छैन । तर राम्रो काम नपाएपछि अवैधानिक भएर काम गर्न पनि थाल्नुभयो जस्तो पनि लाग्छ ।

तर अवैधानिक भएर बस्दा अप्ठ्यारो घट्दैन बढ्छ भन्ने थाहा छ दिक्षालाई । त्यसैले अहिले उहाँ श्रीमानलाई खोजिदिन आग्रह गरिरहनुभएको छ ।

काठमाडाैंको द रिभर म्यानपावर मार्फत युएईको सारजाहामा रहेको अकुरो स्पेसलिस्ट सपोर्ट सर्भिसेस कम्पनीमा आउनु भएको हो । टेकनाथले होटलमा ‘टि’ ब्वाईको रुपमा काम पाएको बताउनुभएको थियो ।

श्रीमान् सम्पर्कविहीन भएपछि दिक्षाले म्यानपावरसँग पनि खोजिदिन गर्नुभयो तर म्यानपावरले कुनै वास्ता गरेन । दिक्षाले टेकनाथसँगै काम गर्ने साथी र गाउँबाट त्यहाँ जानेहरुलाई फोटो, सम्पर्क नम्बर र राहदानी नम्बर समेत दिएर बुझ्न लगाउनु भएको छ । तर अहिलेसम्म कुनै जानकारी आएको छैन ।

टेकनाथका बारेमा बुझिदिन नेपाली दूतावास आबुधाबीलाई जानकारी गराएको एनआरएन अलऐन क्षेत्रीय समितीका सचिव झापाका  डिल्ली हुमागाईंले बताउनुभयो । यस्तै युएईमा रहेका अन्य संघसंस्थालाई पनि टेकनाथको खोजिदिन परिवारले आग्रह गरेको छ । ३२ वर्षीय टेकनाथका दुई छोरी छन् ।  उज्यालोबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार