डा. एलिना श्रेष्ठ
कस्तो ठाउँमा गएर काम गर्नुपर्यो यस्तो? गाडी पनि चल्दैन रे, बजार पनि छैन रे! ठाउँको बारेमा बुझ्दै गएपछि यहाँ आउनु अगावै मैले नराम्रो सोच्न थालिसकेकी थिएँ। काठमाडौंको सहरीया जीवनमा हुर्केर बढेकी मलाई डर लाग्नु स्वभाविक थियो। काठमाडौंमा बसेका इलामका मान्छेलाई सोध्दा इलामकै त्यो ठाउँ प्याङको नाम नसुनेको भन्दा मनमा चिसो पसेको थियो।
आउनु अगाडि स्वास्थ्य सेवा विभागमा, ‘६ महिना भएपछि मलाई मेरै ठाउँमा सरुवा गरिदिनुस् है’ भनेर आएकी थिएँ। कहिल्यै यति लामो बाटो गाडीमा हिँडेकी थिइनँ, झन् यसपालि त आमाबुबा पनि साथमा नहुँदा त्यो चारआलीदेखिको घुमाउरो बाटोलाई मैले कसरी झेलेँ थाहा छैन। इलाम बजारमा बास बसेर अर्को दिन मात्रै पुगिने यस गाउँको बोटोमा गाडी चड्दा कतै पल्टिने पो हो कि जस्तो धेरै चोटि लाग्यो। आँखा झिमिक्क पनि गर्न डर लागेको थियो।
आइपुगेपछि यहाँ स्वागतको कार्यक्रम आयोजना गरियो। गाउँका प्रायःजसो मानिस ‘डाक्टर आउनुभएको छ अरे’ भन्दै फूलका माला लिएर भेट्न आएका थिए। उनीहरुको बोलीमा हर्ष झल्किएको थियो। झन् ‘महिला डाक्टर अरे नि’ भनेर खुसीले गदगद हुँदै गाउँका महिला आफ्नो काखमा नानी च्याप्दै फूलको गुच्छा दिन आएका थिए। बुझ्दै जाँदा यो गाउँमा डाक्टरहरु आएका तर लामो समयसम्म नबसेकाले गाउँले चिन्तित थिए। आफैंले पनि ६ महिनापछि सरुवा गरिदिनु है भनेर आएको कुरा झलझली याद आयो।
दिन बित्दै गए। प्याङ गाउँ उचाइमा भएकाले जाडो निकै थियो। यति विकट ठाउँमा पनि प्राथमिक स्वास्थ्य केन्द्रको भवन भने ठूलो रैछ। जाडोमा स्वास्थ्यकर्मीलाई चिसो पानीले गाह्रो हुन्छ भनेर सोलार पनि छ। सोलारको पानी नै तात्तिने घाम लाग्दैन यता त्यसैले म प्रकृतिसँग रिसाएँ यहाँमा मान्छेसँग होइन।
प्राथमिक स्वास्थ्य केन्द्र, प्याङ, इलाम
पानीको कमी नहोस् भनेर माथिको डाँडादेखि स्वास्थ्य केन्द्रको भवनसम्म खनेर पाइप लगाइएको छ। जाडोमा पाइपमा नै जमेर पानी नआउँदा पनि बाल्टिनमा भरेर ल्याइदिने विशाल दिलको कमी छैन यहाँ। गाउँमा बत्ती आएको धेरै भएको थिएन। हाम्रो भवनमा पनि बत्ती त छ तर अलिकति हावाहुरीमा पनि ती बाँसमा अड्डाइएका तार हल्लिए भने कम्तिमा एक हप्ता सम्म अन्धकारमा बस्नुपर्छ। बत्ती जडान गर्ने मान्छेलाई बजार गएर खोजेर ल्याउँदा त्यति समय त लागिहाल्छ। बत्तीका लागि पनि सोलार छ, केही दिन त चलाउन पनि मिल्छ। अझ डाक्टरको मोबाइलको चार्ज सकियो होला भनेर केही परका घरबाट चार्ज गरेर पनि ल्याइदिन्छन्। यसमा म बत्ती गयो भनेर चिन्तित बसुँ कि चार्ज गरेर ल्याइदिने व्यक्ति माथि आभार प्रकट गरुँ?
आलु र साग बाहेक खासै केही उत्पादन गरिँदैन यहाँ। इस्कुसको त फल, मुन्टा र जरा सबै खान मिल्छ भनेर यहीँ आएर थाहा पाएकी। बजार पनि छैन, मःम र चाउमिन खाने बानी बसेको थियो मलाई। तर, हाम्रै लागि भनेर स्वाद फेर्दै खानुस् भन्दै आफ्नो तरकारी बारीमा भएका अलिअलि फरक तरकारी लिएर भेट्न आउने मानिसको मन कति ठूलो छ होला। बेच्नका लागि भनेर तयार पारेका किवी, काँक्रा, सुन्तला, छुर्पी जस्ता खानेकुरा ल्याइदिन हिच्किचाउँदैनन् यहाँका जनता।
बाह्रै महिना यस्तो फरक–फरक स्वाद चाख्न पाइँदैन। तर, जंगलमा पसेर सिस्नु टिपेर टन्नै घिउमा पकाएर ल्याइदिने आमाहरु हुँदाहुँदै अरु खाना सम्झिएँ भने पाप लाग्छ। ठूला रेस्टुरेन्टमा जान पाइनँ भनेर के भो त, यसो साँझतिर बाहिर डुल्न निस्किँदा घरभित्र बोलाएर पेटभरी खाना खुवाउनेहरुको कमी छैन यहाँ। आगाको छेउमा बसेर तातो चिया, पोलेको आलु खाँदै गफमा भुलिनुको मज्जा बेग्लै छ।
वैशाख–जेठदेखि नै वर्षा लागेर बाटो बन्द हुन्छ। गाडी चल्दैन। हिँडेर बजार जानेआउने गर्नुपर्छ। बजारबाट चाहिने सामान त्यहाँ जाने मानिसले ल्याइदिन कहिल्यै गाह्रो मान्दैनन्। कहिलेकाहीँ आफैं झर्नुपर्यो भने पनि ‘झोलाको भारी म बोकिदिऊँ?’ भन्ने बटुवाहरु प्रसस्त पाइन्छन्। ‘एकैछिन पानी पिएर थकाइ मेटाउनुस् न,’ भन्दै घरभित्र लाने अनि खाजा खुवाएर पठाउने बानीले गर्दा बजार पुग्दासम्म त त्यहाँका होटलको व्यञ्जन पनि खल्लो नै लाग्छ। वर्षामा खोला बढ्नु त स्वभाविक नै हो। फेरि माटोको बाटोमा चक्का चिप्लिएर गाडी चलाउन पनि गाह्रै छ। अनि नहिँडी त सुखै छैन। यस्तोमा म कि, झरी–पानीसँग क्रोधित हुन सक्छु, कि त बाटो यस्तो हुँदा पनि चासो नराख्ने सरकारप्रति!
प्याङ पुग्ने हिलेबाटो
सहयोगी हातहरुले मलाई यहाँको बसाइमा सक्दो सहज बनाइदिने प्रयास गरेका छन्। एकचोटिको घटना नै छ, घर जानेबेला गाडी चलेन। फ्लाइटको टिकट काटिसकेकाले निकै हतार थियो। ५ घन्टा लाग्ने अर्काे गाउँको बाटो जानुपर्ने भयो। यो थाहा पाएर गाडीको व्यवस्था गरिदिने अनि हामीलाई समयमा पुर्याइदिने भनेर सक्दो छिटो तर सुरक्षित गाडी चलाउने ड्राइभर दाइको बखान त घर पुगेर आमाबुवालाई पनि गरेँ। चलाउँदाचलाउँदै गाडी अड्कियो भने गुहार भनेर बोलाउँदा गाउँका सबै मानिस निस्किएर बाटो खन्न थाल्छन्। छिमेकी, दाजुभाइको साइनो कस्तो हुने रहेछ भनेर देख्न पाएँ मैले यो विकट गाउँमा।
अन्य कतै बसेर पनि बिरामी नै जाँच्ने हो, यो कर्तव्यबाट म पन्छिन सक्दिनँ। यहाँका जनताको मप्रति जुन विश्वास छ त्यसले मलाई थप जिम्मेवार बनाएको छ। एक वर्ष पुगेपछि यहाँको सबै मौसमको अनुभव गरिसक्दा, यहाँका दुःखहरु राम्ररी नियाल्न पाएकी छु। हो, यहाँको जीवन कठिन छ। तर, हामीजस्ता स्वास्थ्यकर्मी सधैं यस भवनबाट भाग्न थाल्यौं भने यहाँ बस्ने मानिसलाई अझ कठिन हुनेछ। यति धेरै मान, सम्मान अनि काखमै नअटाउने र गोजीबाट पनि छताछुल्ला भई पोखिने गरी गाउँलेले खन्याइदिएको मायाले सजिएकी छु म। अस्तिसम्म नौलो लाग्ने प्याङ अब आफ्नो लाग्न थालेको छ। सुरुमा यहाँ आउनु मेरो वाध्यता थियो भने अहिले यहीँ सेवा गरेर बस्नु मेरो चाहना। प्याङ, म तिमीलाई दोहोरो माया कसरी नगरुँ?
साभार : स्वास्थ्यखबरबाट
(डा श्रेष्ठ इलामको प्याङस्थित प्राथमिक स्वास्थ्य केन्द्रकी मेडिकल अधिकृत हुन्)