अमेरीका : अमेरिकाको न्यु ह्यामसर राज्यको स्थानीय चुनावमा नेपाली मूलका युवा माधव गुरुङले उम्मेदवारी दिएका छन्। उनी म्यानेस्टर सहरको वडा नम्बर १२ का लागि सेलेक्टम्यान पदमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यो पद नेपालको गाउँ/नगरपालिकाको वडा सदस्य जस्तै हो।
डेमोक्र्याटिक पार्टीबाट सो पदमा प्रतिस्पर्धामा उत्रिएका उनले अन्य पाँच उम्मेदवारसँग भिड्नुपर्नेछ। आगामी नोभेम्बर ७ मा हुने चुनावका लागि सो वडामा डेमोक्र्याट र रिपब्लिकन पार्टीका तीनतीन जनाको उम्मेदवारी परेको हो।
‘मूलधारको प्रमुख पार्टीले आप्रवासीहरुलाई पत्याएर टिकट दिनु नै ठूलो कुरा ठानेको छु,’ उनले भने, ‘आप्रवासी समेत राजनीतिक नेतृत्व लिन सक्षम छन् भनेर उनीहरुले हामीमाथि गरेको विश्वास पनि हो।’
गुरुङ इलामको जमुनामा जन्मिएका हुन्। कक्षा १० सम्म हालको सन्दकपुर गाउँपालिका जमुनामा औपचारिक अध्ययन गरेका उनी इलाम सदरमुकाम आएपछि पत्रकारितामा संलग्न थिए। नेपाल पत्रकार महासंघ इलाम शाखाको कोषाध्यक्ष समेत रहिसकेका उनले इलामको पत्रकारिता र अन्य क्षेत्रमा सहयोग गर्दै आएका छन्।