अन्तर्राष्ट्रिय झापाली समाजको महाधिवेशनको तयारी पूरा

नयाँ बुलन्द

झापा : अन्तर्राष्ट्रिय झापाली समाजले असोज २४ गते हुने आफ्नो पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । झापाको विर्तामोडमा हुने दुई दिने महाधिवेशनले समाजको दुई वर्षे नेतृत्व चयन गर्नेछ ।

अधिवेशनको बारेमा जानकारी दिन आइतबार बिर्तामोड पत्रकार सम्मेलन गरि समाजले महाधिबेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । समाजका प्रवक्ता छत्र सुब्बाले अन्तराष्ट्रिय झापाली समाजको पहिलो महाधिबेशनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । असोज २४ मा संस्थाको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने र दोश्रो दिन भने नयाँ समिति चयन पछि औपचारिक रुपमा जानकारी सभा गरिने प्रवक्ता सुब्बाले जनाए ।

उक्त महाधिवेशनमा समाजमा आवद्ध विभिन्न १८ मुलुकका २ सय बढी प्रतिनिधीहरुको सहभागिता रहने जनाईएको छ । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष भवानी ओलीले प्रवासमा रहेका झापालीहरुवीच समन्वय गरि आगामी वर्ष विश्वका ५० देश सम्म समाजको संगठन विस्तार गरिने जानकारी दिए । उनले भने,–‘ प्रवास भरि झापाली यस संस्थालाई विस्तार गर्ने रणनीति बनाएका छौ ।’

संस्थाले स्थापना भएको दुई वर्षको अवधिमा हाल १८ देशमा सञ्जाल निर्माण गर्नुका साथै सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थाले जिल्लाका बाढीपीडित परिवारलाई १२ लाख रुपैया बढीका विभिन्न राहत सामग्रीहरु समेत वितरण गरिएको जनाएको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा समाजका कोषाध्यक्ष बालहरि राई, अन्तर्राष्ट्रिय झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष दिनेश पोखरेल, समाज इजरायलका प्रवक्ता सावित्रा लुइटेललगायतको सहभागिता थियो ।

नेतृत्वमा दुई जनाको आकांक्षा

यसैवीच समाजको दुई वर्ष आगामी नेतृत्वका लागि दुई जनाले आकांक्षा प्रस्तुत गरेका छन् । यसरी संस्थाको अध्यक्षमा हालका प्रवक्ता छत्र सुब्बा र समाजकै अग्रज दिनेश पोख्रेलले आफनो आकांक्षा प्रस्तुत गरेका हुन् । सुब्बा हङकङ –झापा मञ्चका अध्यक्ष हुन् भने पोख्रेल अन्तराष्ट्रिय झापाली समाज अष्ट्रेलियाका अध्यक्ष हुन् ।

दुवैले आफनो दावीलाई सदस्यहरुमाझ राख्दै आएका छन् । अध्यक्षका दावेदार मानिएका दमक–५ निवासी सुब्बाले समाजलाई संस्थागत गदैं उद्देश्यमूलक नेतृत्व दिन आफू प्रतिवद्ध भएको दावी गरिआएका छन् । उनले भने,–‘ अन्तराष्ट्रिय झापाली समाजलाई प्रवासी झापालीहरुको छाता संस्थासंगै जिल्लाको हितमा काम गर्ने जुझारु संस्थाको रुपमा रुपान्तरण गर्नें छु ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार