पोन्से : क्यारेबियन क्षेत्रमा दुई साताअघिको आँधी ‘इर्मा’को असर नसकिँदै अर्को शक्तिशाली आँधीको गएको छ । ‘मारिया’ नामको आँधीले लगभग इर्माकै बाटोमा पछयाइरहेको र भयावह क्षति पुर्याइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मारियाले डोमिनीका क्षेत्र नराम्ररी प्रभावित पारेको प्रधानमन्त्री रुजवेल्ट स्केर्रिटले जनाएका छन् । उनले भने, ‘हामीले पैसाले किन्न सकिने सबै कुरा गुमायौं ।’ यसअघि उनले आफ्नो निवासमा आँधीले क्षति पुर्याउनुअघि सामाजिक सञ्जालमार्फत आँधीका दृश्यहरु सार्वजनिक गरेका थिए । जोखिमका हिसाबले उच्च श्रेणीको बताइएको मारिया २ सय ६० किलोमिटर प्रतिघण्टाको वेगमा रहेको जनाइएको छ ।
अमेरिकी राष्ट्रिय आँधी केन्द्रले ‘जीवन रक्षा र भौतिक संरचनाको क्षति’ न्यून गर्न आवश्य पूर्वतयारी गर्न तथा सचेत रहन सबैलाई आग्रह गरेको छ । मारियाले लिवार्ड आइल्यान्डको बाटोबाट गुज्रिँदै गर्दा मारिया चौथो श्रेणीको भएको बताएका थिए । लिवार्डमा अमेरिकी, ब्रिटिस भर्जिनलगायतका टापु पर्छन् । फ्रान्सको ग्वाडेलुप टापुमा मानिसलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको छ ।
दुई साताअघिको इर्माको चपेटामा परेकै टापुहरुमा मारियाले क्षति पुर्याउने अधिकारीले चेतावनी दिएका छन् । अधिकारीका अनुसार मरिया मंगलबार उत्तरपूर्वी क्यारेबियन सागर तथा बुधबार प्युर्टो रिको र भर्जिन आइल्यान्ड पुग्नेछ । मारिया प्युर्टो रिको र भर्जिन टापुतिर जाँदा फेरि तीव्र हुने अनुमान छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भर्जिन आइल्यान्डमा सोमबार आपतालीन अवस्था घोषणा गरेका छन् । मारियाले विनाशकारी बाढी तथा पहिरो निम्त्याउन सक्ने चेतावनी दिइएको छ । क्यारेबियन क्षेत्रमा दुई साताअघिको इर्मा आँधीले ३ दर्जनको ज्यान गएको थियो भने अर्बौं डलर बराबरको क्षति पुगेको थियो ।