उत्तर कोरियातर्फ पनि क्षेप्यास्त्र प्रहार

North Korea Koreas Tensionकाठमाडौं : उत्तर कोरियाले जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि त्यसको जवाफमा दक्षिण कोरियाले पनि निर्धारित लक्ष्यमा दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले गरेको परीक्षणको केही समयपश्चात् प्रतिक्रियास्वरूप दक्षिणले दुईटा ‘ह्युन्मु–२’ नामक ब्यालेस्टिक मिसाइल निर्धारित लक्ष्यमा सफलतापूर्वक प्रहार गरेको जोइन्ट चिफ्स अफ स्टाफको कार्यालयले जनाएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले प्रहार गरेको मिसाइल हावामै रहँदा दक्षिण कोरियाले प्रतिक्रियास्वरूप दुईटा ब्यालेस्टिक मिसाइल पूर्वी सामुद्रिक द्वीपमा प्रहार गरेर कडा जवाफ दिएको बताएको छ । उक्त मिसाइल २५० किलोमिटर पार गरेर सफलतापूर्वक निर्धारित लक्ष्यमा पुगेको उल्लेख छ ।

उत्तर कोरियाले शुक्रबार सुनान जिल्लाबाट जापानतिर दोस्रोपटक हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचाइसम्म पुगेको र झन्डै ३७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाको सेनाले जनाएको छ । मिसाइल जापानको होकाइदो द्वीपलाई नाघेर गएको थियो । उत्तर कोरियाको परीक्षणलगत्तै जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तेजित बनाउने यस्तो कार्य उत्तर कोरियाले बन्द नगरे त्यसको दुष्परिणाम व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । उनले यस्तो दुष्कार्य कुनै हालतमा पचाउन नसकिने भन्दै यही बाटो हिँडिरहे उत्तर कोरियाको भविष्य नरहने चेतावनी दिए । जापानले आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

त्यस्तै, अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तरको यो कार्यप्रति चीन र रुसले सही जवाफ दिनुपर्ने बताएका छन् । दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषद्को आपत्कालीन बैठक पनि बोलाएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध थप कडा नाकाबन्दी लगाएपछि जवाफमा यो परीक्षण गरेको बताइएको छ । सोमबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध थप नाकाबन्दी लगाउने प्रस्ताव पारित गरेको थियो । आफ्नो अर्थतन्त्रमै असर पर्नेगरी लगाइएको नाकाबन्दीको विरोधमा कडा जवाफ दिने उत्तर कोरियाले जनाएको थियो ।

नाकाबन्दीको प्रस्ताव गर्ने अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी उत्तरले दिएको थियो । संयुक्त राष्ट्रसंघसहित विश्व समुदायले विरोध गर्दागर्दै पनि उत्तर कोरियाले सन् २००६ देखि नै निरन्तररूपमा आणविक क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार