मनोज बोगटी
कालेबुङ : केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले छुट्टै राज्य गोर्खाल्यान्डका निम्ति आन्दोलन गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)लाई वार्ताका लागि दिल्ली बोलाएका छन्।
गोर्खा जनमुक्ति मोर्चाका प्रमुख विमल गुरूङले फोनद्वारा आफूहरूलाई गृहमन्त्रीले दिल्ली बोलाएको बताएका हुन्। यद्दपि दिल्लीमा कहिले, कहाँ बैठक हुने भन्नेबारे उनले मुख खोलेनन्। तर, गुरुङले बिहीबार मोर्चा र गोर्खाल्यान्ड आन्दोलनलाई नेतृत्व गर्न मोर्चाकै आह्वानमा बनेको गोर्खाल्यान्ड आन्दोलन समन्वय समिति (जिएमसिसी) को प्रतिनिधि टोली दिल्लीका लागि प्रास्थान भइसकेको जानकारी दिए।
टोलीमा गोजमुमोका पक्षबाट कालेबुङकी विधायिका सरिता राई, खरसाङ्का विधायक डा रोहित शर्मा, गोजमुमो केन्द्रीय सदस्य स्वराज थापा छन् भने जिएमसिसीका मुख्य संयोजक कल्याण देवान, गोर्खाल्यान्ड राज्य निर्माण मोर्चा अध्यक्ष दावा पाख्रिन लगायतका नेता सामेल छन्।
‘जबसम्म त्रिपक्षीय वार्ता हुँदैन बन्द जारी राखिनेछ। केन्द्र सरकारले गोर्खाल्यान्ड राज्य गठनका लागि त्रिपक्षीय वार्ता सुरू गरेपछि भने बन्द खोल्नेबारे सोच्न सकिन्छ,’ गुरूङले भने, ‘प्रतिनिधि टोलीले यसैबारे कुरा गर्नेछ।’
सेप्टेम्बर १२ मा सिलगढीमा गोर्खाल्यान्डका दलहरूलाई दर्जीलिङमा शान्ति बहालीका लागि कुरा गर्न मुख्यमन्त्री ममता बेनर्जीले वार्तामा बोलाएकी छिन्। विमल गुरूङले शान्ति बहालीको वार्तालाई औचित्यहीनको संज्ञा दिएका छन्।
‘मुख्यमन्त्रीले छुट्टै राज्य गोर्खाल्यान्ड मेरो अधिकार क्षेत्रको विषय होइन भनिसकेपछि वार्ताको कुनै औचित्य छैन,’ गुरूङले भने, ‘वार्ता नै हुनुपर्छ भने केवल त्रिपक्षीय हुनुपर्नेछ।’
-नेपाललाइभबाट