युद्धबहादुर बोहोरा
इलाम : दक्षिण कोरियामा रहेका नेपालीहरुको संस्था सुर्योदय सेवा समाज इलामले झापाका बाढी पीडितलाई राहत सहयोग गरेको छ।
गएको साउनमा झापाको शिवसताक्षी नगरपालिका-४, सतारबस्तीमा १० घर र पाँचगाछी-५,टापुमा ३० घर गरि ४० घरलाई बाढीले क्षती पुर्याएको थियो। पीडित परिवारलाई संस्थाले ८० हजार नेपाली रुपैयाँ बराबरको खाद्यसामाग्री चामल, म्याट ,नुन ,तेल, साबुन सहित पाँच सय रुपैयाँका दरले नगद उपलब्ध गराएको छ।्सं
स्थाका सदस्य प्रतिनिधि दावा फिन्जो तामाङ र निरु श्रेष्ठ बोहोराद्वारा राहत हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष हरि खनालले जानकारी दिए। अभियानमा कृपा नेपाल झापाले सहकार्य गरेको थियो।
कोरियामा रोजगारी गर्दै आएका इलामेली द्वारा संचालित संस्थाका बरिष्ठ सल्लाहकार प्रतिक बोहोराको नेतृत्वमा राहत संकलन गरिएको अध्यक्ष खनालले बताए । समाजका पीडित समुदाय र प्रगतिशील क्षेत्रमा मद्दत गर्ने उदेश्यले सन् २०१२ मा यस संस्थाको स्थापना भएको उनको भनाइ छ । यस सस्थाले कोरिया तथा नेपालमा दैवीप्रकोप, बिरामी, विपन्न वर्ग, वृद्धा दृष्टिविहिन,अनाथ, बालबालिका र खेलकुद लगायतमा सहयोग गर्दा आएको छ ।
यस अघि ताप्लेजुङ सदरमुकामको आगलागी पीडितलाई ८५ हजार ,दोलखाको नाम्दुमा दुई सय घरपरिवारलाई दुई लाख ५० हजार बराबरको राहत प्रदान गरेको थियो।इलाम गोलाखर्कका बालक सुसान्त तामाङको उपचारको लागि तीन लाख नगद रकम उपलब्ध गराएको थियो । अन्य धेरै समुहलाई मद्दत गर्दै आईरहेको छ।आगामी दिनहरूमा यस किसिमका सहयोग निरन्तर अघि बढाइने र सहयोगी हातहरुको अपिल समेत गरिएको संस्थाका अध्यक्ष खनालले जानकारी गराए ।