अमेरिकालाई तर्साउने उत्तर कोरियाको परमाणु क्षमता कति?

Nepal Live

एजेन्सी- सन् १९५० मा उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गरेको थियो। ३ वर्षसम्मको युद्धपछि सन् १९५३ मा युद्धविराम सम्झौता भयो। उत्तर कोरिया र दक्षिण कोरियाको सीमाक्षेत्रको २ सय ५० किलोमिटर वरपर निःशस्त्र क्षेत्र बनाइयो।

दक्षिण कोरियाको राजधानी सिओल निःशस्त्र क्षेत्रको नजिकैपर्छ, जसमा कुनै पनि समयमा आक्रमण गर्ने चेतावनी उत्तरले दिइरहेको छ। परमाणु हतियार उत्पादन नबढाउने सन्धिमा गरिएको हस्ताक्षर सन् २००३ मा फिर्ता लिएको उत्तर कोरियाले सन् २००६ मा पहिलोपटक परमाणु परीक्षण गरेको थियो।

सन् १९६० देखि उत्तर कोरियाले परमाणु हतियार बढाइरहेको छ। अमेरिकी समर्थन रहेको छिमेकी राष्ट्र दक्षिण कोरियालाई तर्साउने हेतुले परमाणु हतियार उत्पादन गरिरहेको उत्तर कोरियाले अहिले विश्वका शक्ति राष्ट्रको सात्तो उडाइदिएको छ। गत महिना उत्तर कोरियाली प्रायद्वीपमा ब्यालेस्टिक मिसाइल (लामो दूरीको क्षेप्यास्त्र) परीक्षण गरेसँगै शक्तिराष्ट्र तर्सिरहेका छन्।

उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा ठूलै आक्रमण भए त्यसको प्रतिरक्षाका लागि अमेरिकी सेना समेत स्ट्यान्डबाई छन्। सी अफ जापान र यल्लो सीको बीचमा रहेको कोरियाली प्रायद्वीप नजिकै अमेरिकी सेना तैनाथ छ। त्यो क्षेत्रलाई विश्वकै खतरनाक सैन्य इलाकाका रुपमा हेर्ने गरिन्छ। खतरनाक सैन्य इलाका नजिकको उत्तर कोरियाले आफ्नो सैन्य शक्तिलाई मजबुद बनाउँदै लगेको छ।

उत्तर कोरियाको सैन्य जनशक्ति १२ लाख छ, जुन विश्वकै चौथो ठूलो सैन्य जनशक्ति हो। शक्तिराष्ट्रहरुमा नेताहरु उदाउँदै अस्ताए, तर उत्तर कोरियामा किम वंश अझै कायम छ। जसले आफ्नो राष्ट्रको सैन्य शक्ति मजबुद बनाउँदै अन्य शक्तिराष्ट्रलाई बेचैन बनाइरहेको छ।

उत्तर कोरियाले सन् २०१६ यता लामो दूरीको क्षेप्यास्त्रको सफलतापूर्व परीक्षण गरिरहेको छ। अमेरिका, दक्षिण कोरिया र जापानले निरन्तर विरोध गरे पनि क्षेप्यास्त्र परीक्षण गर्न किम जोङ उनले छाडेका छैनन्। जुलाईमा उत्तर कोरियाले पोङयाङमा लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेसँगै अमेरिका आत्तिकएको छ। उत्तर कोरियाको परमाणु हतियार पश्चिम राष्ट्रका लागि खतरनाक रहेको अमेरिकाले बताइरहेको छ।

उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्रमा परमाणु बम समावेश छ वा छैन यो विषय अझै अस्पष्ट छ, तर उत्तर कोरियाको सफल परीक्षणबाट अत्तालिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियाबाट असुरक्षा पुगेको महसुस भएको अवस्थामा युद्धको समेत स्थिति आउन सक्ने चेतावनी दिएका छन्। उनले भनेका छन, ‘अमेरिकाले असुरक्षित महसुस गरेको अवस्थामा आक्रोशपूर्ण आक्रमणको अवस्थामा आउन सक्छ।’

उत्तर कोरियाको परमाणु क्षमता कस्तो छ?

सन् १९८४ देखि विश्वसँग एक्लिएको उत्तर एसियाली मुलुकले महत्वाकांक्षी ढंगले परमाणु हतियार उत्पादन गरिरहेको छ। उत्तर कोरियाली कम्युनिष्ट पार्टीका पहिलो नेता किम इल सुङको नेतृत्वमा कोरियाले पहिलोपटक क्षेप्यास्त्र परीक्षण गरेको थियो। सन् १९९४ मा उनको निधन भएपछि उनका छोरा किम जोङ इलले राज्यको नेतृत्व सम्हाले। सन् २००६ मा अन्तरदेशीय मार हान्न सक्ने क्षेप्यास्त्र (इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको) परीक्षण भयो।

त्यो परीक्षण असफल भयो। उत्तर कोरियाले अन्तरदेशीय मार हान्न सक्ने क्षमताको क्षेप्यास्त्रको परीक्षण गरेसँगै परमाणु क्षमतामा उत्तर कोरिया कति शक्तिशाली भयो भन्ने आँकलन विश्व समुदायले गरिसकेको थियो। सन् २०११ मा किमजोङ इलको निधनपछि उनका छोरा किम जोङ उनले २६ वर्षको उमेरमा राष्ट्रको नेतृत्व सम्हाले।

उनको कार्यकालमा यति शक्तिशाली परमाणु हतियारको परीक्षण भयो कि त्यो सन् १९४५ मा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा खसालेको एटम बमभन्दा ६ गुणा शक्तिशाली हो। उत्तर कोरियाले एटम बमभन्दा शक्तिशाली क्षेप्यास्त्रको परीक्षण गरेपछि आफ्ना सहर उत्तर कोरियाको निशानामा पर्न सक्ने भन्दै अमेरिका आत्तिएको छ।

विश्वमा अहिलेसम्म भएका परमाणु परीक्षण र आक्रमण 

सन् १९४५ विश्वमा पहिलोपटक परमाणु हतियारले आक्रमण भएको थियो। सन् १९४५ मा अमेरिकाले जापानमा एटम बम खसालेको थियो, जुन १५ किलोटन क्षमताको थियो।

सन् १९५४ मा अमेरिकाले १५ हजार किलोटन क्षमताको परमाणु हतियार परीक्षण गरेको थियो। यस्तै सन् १९५८ मा बेलायतले ३ हजार किलोटन क्षमताको परमाणु हतियारको परीक्षण गरेको थियो भने सन् १९६१ मा रसियाले ५० हजार किलोटन क्षमताको परमाणु हतियार परीक्षण गरेको थियो, यो नै सबैभन्दा ठूलो क्षमताको हतियार थियो।

यता फ्रान्सले सन् १९६८ मा ३ हजार किलोटन क्षमताको हतियार पड्काएको थियो भने १९७६ मा चीनले चार हजार किलोटन बराबरको परमाणु हतियार विष्फोट गराएको थियो।

उत्तर कोरियाले सन् २०१७ मा छैटौँ पटक परीक्षण गरेको क्षेप्यास्त्रको क्षमता १०० किलोटनको छ। उत्तर कोरियाको क्षेप्यास्त्र क्षमताबाट विश्व शक्ति अत्तालिरहेका बाल पोङ्याङ आसपासका क्षेत्रमा ६ दशमलब २ म्याग्निच्युडको भूकम्प आउनेगरी गत आइतबार हाइड्रोजन बम पनि परीक्षण गरेको छ।

परीक्षणसँगै पश्चिमा शक्तिराष्ट्रहरुले उत्तर कोरियाबाट थप असुरक्षित महसुस गरेका छन्। अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै लेखेका थिए, ‘उत्तर कोरियाले शक्तिशाली परमाणु परीक्षण गरेको छ, अमेरिकाप्रति उनीहरुको भनाइ र व्यवहार खतरनाक र शत्रुतापूर्ण छ।’

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा समेत उत्तर कोरियाले सिर्जना गरेको तनाव समाधान गर्ने विषयमा मतान्तर छ। रुस र चीन वार्ता मार्फत समाधान गर्नुपर्ने पक्षमा छन् भने अमेरिकाले वार्ताबाट समस्या समाधान गर्ने प्रयास पूर्ण रुपमा विफल भएको बताइरहेको छ।

लाइभ नेपालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार