उत्तरविरुद्ध अमेरिका र दक्षिण कोरियाबीच भयो यस्तो सहमति

अमेरिका : संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौती सामना गर्न सहकार्यलाई थप शसक्त बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।

यसका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोललाई अमेरिकी सैनिक सामग्री बेच्ने अर्बौं अमेरिकी डलर बराबरको ‘अवधारणात्मक सहमति’ जनाएका छन् ।

गत मङ्गलबार उत्तर कोरियाले जापानी भूमिमा क्षेप्यास्त्र प्रहार गरेको थियो । यद्यपि प्रहार सामुद्रिक क्षेत्रमा भएकाले यसबाट कुनै मानवीय वा भौतिक क्षति भने भएको थिएन । घटनापछि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली हतियार परीक्षणको मोहले सैनिक कारबाहीको आवश्यकतालाई महशुस गराएको भन्दै ‘सवै विकल्प वार्ताका लागि टेबुलमा’ रहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली समकक्षी मुन जाए–इनलाई टेलिफोन गरी उत्तर कोरियाली ‘अस्थिर र उत्ताउलो व्यवहार’ विरुद्ध समन्वय गरी अघि बढ्नुपर्नेतर्फ आग्रह गरेका, ह्वाइट हाउसले विज्ञप्ति जारी गरी जनाएको छ ।

ट्रम्प र मुनले उत्तर कोरियाविरुद्ध तीव्र कुटनैतिक तथा आर्थिक दवाव दिने र प्योङ्याङको हतियार मोहबाट उब्जिएको सुरक्षा खतरालाई सामना गर्ने विज्ञप्तिमा जनाइएको छ ।

दुई देशका नेताबीच सुरक्षा सहकार्यका लागि समन्वय गर्दै दक्षिण कोरियाली प्रतिरक्षा क्षमतालाई मजबुत पार्ने बिषयमा सहमति भएको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाले अमेरिकी सैनिक सामग्री किन्ने अर्बौ डलर बराबरको योजनाप्रति सहमतिसमेत जनाउनुभएको छ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले काजकिस्तानका राष्ट्रपति नुरसुल्तान नजारबायेवसँग टेलिफोनमा कुरा गर्दै काजकिस्तानसँगको २५ वर्ष लामो कुटनैतिक सम्बन्ध र आफ्नो सरकारले अघि सारेको दक्षिण एसियाली रणनीतिका बिषयमा जानकारी गराएका बताइएको छ ।

ट्रम्पले काजकिस्तानले क्षेत्रीय र विश्वस्तरमा गरेको नेतृत्वदायी भूमिका र आउँदो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रमुखको चयनका लागि देखाएको भूमिकाको प्रशंसा गरे ।

त्यसैगरी ट्रम्पले कोलम्बियाका राष्ट्रपति जुवान म्यानुयल सान्तोससँग पनि फोनवार्ता गरेका छन् । कुराकानीमा कोलम्बियाले गैरकानुनी औषधिको उत्पादन नियन्त्रणमा गरेको अत्यन्त्यै महत्वपूर्ण पहलको सह्राहना गरेका छन् । राससरपीटीआई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार