एजेन्सी
पोयङयाङ : अमेरिकाले आफ्नो देशविरुद्धमा हालै लगाएको नाकाबन्दीले आणविक परीक्षणपछिको वार्ताको सम्भावना झन् टरेको उत्तर कोरियाले जनाएको छ । उसले एकपक्षीय रूपमा अमेरिकाले आफ्नो देशमाथि नाकाबन्दी लगाएको भन्दै कडा शब्दमा त्यसको विरोध पनि गरेको छ । आफ्नो देशको सार्वभौमिकताको अपमान गरेको उत्तरले जनाएको छ । उत्तर कोरियाले पछिल्लो समयमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ । गएको करिब २ वर्षयतादेखि निरन्तररूपमा उसले आणविक परीक्षण जारी राखेको छ ।
यो पछिल्लो नाकाबन्दीले उत्तर कोरियाको अर्थतन्त्रमा पनि नराम्रो असर पर्ने जनाइएको छ । तर, उसले भने उत्तर कोरियालाई अमेरिकाको यो नाकाबन्दीले कुनै असर नपर्ने बरु देशलाई आत्मनिर्भर हुन सघाउ पु¥याउने जनाएको छ । संयुक्त राष्ट्रसंघ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लंघन गरेको प्रतिक्रिया दिँदै आएको भए पनि उत्तर कोरियाले भने यस्तो कुनै आग्रह सुन्ने गरेको छैन ।
उत्तरले जारी राखेको क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरिया र जापानले पनि निन्दा गरेका छन् । यस विषयमा राष्ट्रपति ट्रम्प र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच हालै फोनवार्ता पनि भएको थियो । सो वार्तापछि उत्तर कोरियालाई थप आर्थिक नाकाबन्दी लगाउने र कूटनीतिक दबाब दिनेमा दुवै देश सहमत भएका थिए । यस पछिल्लो नाकाबन्दीको कानुनमा चीन र रुसले पनि सहमति जनाएका छन् ।