दक्षिण कोरियाको गजेदोस्थित डेउ छोसन नामक पानीजहाज बनाउने कम्पनीमा कार्यरत नेपाली कामदार लालबहादुर थापाको दुर्घटनामा बिहीबार मृत्यु भएको छ । बुधबार दिनको साढे १ बजेतिर कार्यस्थलमै करिब ६ मिटर उचाईबाट लडेर भूइँमा झरेका थिए । कोल्टो परेर झर्दा थापाको एक भाग पुरै क्षति पुगेको थियो । थापालाई तुरुन्तै देउ अस्पताल पुर्याइए पनि उपचार गर्न नसकी भुसान अस्पतालमा रिफर गरिएको थियो । रातको साढे २ बजे थापालाई चिकित्सकले मृत घोषित गरेको डेउ नेपाली एकता समाजका अध्यक्ष अंशुवर्मा लिम्बूले जानकारी गराए ।
बुटवल उपमहानगरपालिका १३ का बासिन्दा थापाको एक छोरा र पत्नी रहेका छन् । २९ वर्षीय थापा सिविटी परीक्षा दिएर पुनः कोरिया आएका थिए । उनका दाइ पनि गजेदोमै कार्यरत छन् । ‘६ सयभन्दा बढी नेपाली कामदार कार्यरत रहेको देउ कम्पनीमा यसरी दुर्घटनामा नेपाली निधन भएको पहिलो पटक हो’, लिम्बूले जनाए । गत महिना सोही स्थानमा कार्यरत उमेशचन्द्र पौडेलको सुतेकै अवस्थामा अचानक निधन भएको थियो ।
कोरियामा नेपाली कामदारको निधन शृंखलाबद्ध हुन थालेको छ । तीन दिनअघि मात्र थेगुस्थित एक सिरक बनाउने कम्पनीमा कार्यरत दोलखाका २२ वर्षीय समुन्द्र केसीले आत्महत्या गरेका थिए । उनको शव नेपाल पठाउन नपाई अर्को नेपालीको निधन हुन पुगेको छ । त्यस्तै, गत हप्तामात्र ख्यांगीदोको पुछनस्थित फर्निचर कम्पनीमा कार्यरत पर्वतका राजकुमार विकको कार्यस्थलमै दुर्घटानामा निधन भएको थियो ।
हाल कोरियामा औद्योगिक दुर्घटना र सुतेकै अवस्थामा निधन हुने तथा आत्महत्या गर्नेको संख्या बढ्दो छ । सन् २०१७ सालको जनवरीदेखि हालसम्म कोरियामा औद्योगिक दुर्घटनामा पाँचजना, सुतेकै अवस्थामा चारजना र आत्महत्या गर्नेको संख्या २ जना पुगेको छ ।