दक्षिण कोरिया : दक्षिण कोरियाको गजेदोस्थित देउ कम्पनीमा कार्यरत एक नेपाली कामदारको शनिबार बिहान हृदयघातका कारण मृत्यु भएको छ । मोरङ जिल्ला विराटनगर ४ कमल टोल निवासी उमेशचन्द्र पौडलको निधन भएको डेउ नेपाली एकता समाजका अध्यक्ष अंशुबर्मा लिम्बूले जानकारी गराए ।
बिहान ओछयानमा छटपटाइरहेको अवस्थामा सँगैको साथीले देखेपछि अस्पताल पुराए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । इपिएसमार्फत कोरिया आएका एक वर्ष मात्रै भएका मृतक ३० वर्षीय पौडेलका घरमा श्रीमती र एक छोरी छन् । कुनै बिमारी नभएका मृतक पौडेल बाहिर खाना खाएर रातको ११ बजे कोठामा आएर सुतेका थिए ।
मृतकबारे सोल दूतावासमा अनौपचारिक खबर आइसकेको कार्यवाहक राजदूत किरण शाक्यले जनाए । कोरियामा सुतेकै ठाउँमा मृत्यु हुनेको संख्या बढ्न थालेपछि नेपालीहरू चन्तित बन्न थालेका छन् ।