दमक : अल्ट्रा धाविका मीरा राईलाई झापाको दमकमा बिहीबार सम्मान गरिने भएको छ । अल्ट्रा म्याराथन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मीरालाई बेलायतमा कार्यरत आधा दर्जन संघसंस्थाले नगद २८ लाखसहितको सम्मान गर्न लागेका हुन् ।
स्थानीय दमक रेडक्रस भवनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टबाट सम्मानका साथै रकम हस्तान्तरण गरिने जनाइएको छ । दमकमा सगरमाथा तेक्वान्दो डोजाङले आयोजना गरेको पत्रकार सम्मेलनमा अल्ट्रा धाविका मीराको सम्मानसहितको कार्यक्रम घोषणा गरेको हो । पूर्वब्रिटिस आर्मीसमेत रहेका दमक–१९ निवासी राष्ट्रकुमार राईले अल्ट्रा म्याराथनमा अन्तर्राष्ट्रिय स्तरमा नै नेपाल चिनाउन महत्वपूर्ण भूमिका निर्वाह योगदान स्वरूप उनलाई सम्मान गर्न लागिएको बताए ।
उनले कमजोर आर्थिक अवस्था भएकी मीराले राष्ट्रको नाम विश्वसामु चिनाउँदा पनि त्यसको मूल्यांकन गर्न नसकेकाले राष्ट्रका लागि केही गर्नुपर्छ भन्नका लागि सम्मान गर्न लागिएको बताए । मीराको सहयोगका लागि बेलायतमा रहेका किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनले साथ दिएका छन् ।
मीरालाई अल्ट्राम्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक धु्रवविक्रम मल्ललाईसमेत २ लाख नगदसहित सम्मान गर्न लागिएको सगरमाथा तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षकसमेत रहेका राष्ट्रकुमार राईले जानकारी दिए ।