राम योङ्हाङ
इलाम : इलाम सदरमुकाममा जारी तेश्रो टोलकप फुटलब प्रतियोगितामा ओपीधारा र सिंहनगर क्लब सेमीफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबारको पहिलो खेलमा गोलाखर्कलाई टाईब्रेकरमा ५–४ गोलको अन्तरले पराजित गर्दै ओपीधाराले सेमीफाइनलको यात्रा पक्का गरेको हो । निर्धारीत समयमा दुवै टिमबाट एक एक गोल भई बराबरीमा खेल समाप्त भएपछि टाईब्रेकरको आधारमा विजेता निर्धारण गरिएको थियो ।
खेलको ५ औं मिनेटमा नै गोलाखर्कमा रुपेश विष्टले गोल गरी टिमलाई अग्रता दिलाएको भएपनि खेल अवधिभर रक्षात्मक खेल्न नसक्दा हार व्यहोर्नुपरेको थियो । २९ औं मिनेटमा ओपीधाराका अविनास लिम्बूले गोल गरी खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारीत समयमा कुनै गोल हुन नसकेपछि टाईब्रेकर गराईएको थियो ।
त्यस्तै दोस्रो खेलमा मालापथलाई ४–० ले पाखा लगाउँदै सिंहनगर विजयी बनेको छ । सिंहनगरका लागि सन्तोष रम्तेलले ११, सन्तोष राईले २७, राजु थापा मगरले २९ र दिपेश लोक्तामले ५५ औं मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिता अन्तरगत बुधबारको क्वाटरफाइनल चरणको अन्तिम खेलमा भानुपथ र तिल्केनीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
क्लब ओएसीसले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल १५ जेठमा हुनेछ । प्रतियोगिताका विजेता र उपविजेता टिमले क्रमशः नगद २० हजार र १२ हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ खेलाडी र र्सवाधिक गोलकर्तालाई समेत आकर्ष पुरस्कारको व्यवस्था रहेको आयोजक ओएसीसका अध्यक्ष डा. च्यान्द्रु लिम्बूले जानकारी दिए ।
प्रतियोगितामा इलाम नगरपालिका भित्रका १० टिमको सहभागिता रहेको छ ।