
पाँचथरः ग्रामीण क्षेत्रमा खेलकुदको विकास गर्दै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले फाक्तेप युथ क्लबले आयोजना गरेको भलिबल प्रशिक्षण सोमबार सम्पन्न भएको छ। फाल्गुनन्द गाउँपालिका -५ घुर्बिसे पञ्चमी माविको खेल मैदानमा असार १ गतेदेखि सञ्चालन भएको १५ दिने प्रशिक्षणमा ३४ पुरुष र १९ महिला गरी ५३ जना युवायुवती सहभागी भएका थिए। स्थानीय युवामा भलिबलप्रति रुचि बढाउने, लुकेका प्रतिभाको पहिचान गर्ने तथा भविष्यका सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गरिएको प्रशिक्षणमा पूर्व राष्ट्रिय भलिबल प्रशिक्षक वीरेन्द्र चौधरीले प्रशिक्षण दिएका थिए।
समापन कार्यक्रममा बोल्दै प्रशिक्षक चौधरीले प्रशिक्षणले खेलको आधार तयार गर्ने भए पनि उत्कृष्ट खेलाडी बन्न नियमित अभ्यास अपरिहार्य रहेको बताए। उनले दैनिक अभ्यासलाई निरन्तरता दिन नसके प्रशिक्षणमा गरिएको लगानी, समय र मेहनत खेर जाने उल्लेख गर्दै पाँचथरबाट अझै अपेक्षाअनुसार राष्ट्रियस्तरका खेलाडी उत्पादन हुन नसकेको बताए। त्यसैले स्थानीय तह, क्लब र समुदायले यस्ता प्रशिक्षणलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि तथा ५ नम्बर वडाध्यक्ष विष्णुकुमार चेम्जोङले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर उत्कृष्ट खेलाडी बन्न तथा गाउँपालिका र जिल्लाको नाम राष्ट्रियस्तरसम्म चिनाउन सहभागीलाई आग्रह गरे। उनले खेलकुदलाई युवाको समग्र विकाससँग जोडिएको क्षेत्रका रूपमा लिँदै वडा कार्यालयबाट प्रशिक्षणका लागि निरन्तर बजेट विनियोजन गर्दै आएको जानकारी दिए। आगामी दिनमा पनि खेलकुद विकास र खेलाडी उत्पादनका कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
फाक्तेप युथ क्लबले विगतदेखि नै खेलकुद, सामाजिक तथा युवामुखी गतिविधि सञ्चालन गर्दै आएको छ। क्लबले गाउँस्तरमै रहेका प्रतिभाशाली युवालाई अवसर उपलब्ध गराउँदै उनीहरूलाई जिल्ला, प्रदेश र राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यका साथ विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। क्लबका अनुसार यहाँबाट उत्पादन भएका केही खेलाडी राष्ट्रियस्तरका प्रतियोगितामा छनोट भई उपाधिसमेत जित्न सफल भएका छन्। क्लबका अध्यक्ष पञ्चकुमार चेम्जोङले ग्रामीण क्षेत्रका युवालाई सकारात्मक गतिविधिमा जोड्दै खेलकुदमार्फत अनुशासन, नेतृत्व क्षमता र आत्मविश्वासको विकास गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए। आगामी दिनमा पनि विभिन्न खेल विधामा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो।

समापन कार्यक्रममा घुर्बिसे पञ्चमी माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर चेम्जोङ, खेलकुद शिक्षक लिलाराज पौडेल तथा समाजसेवी एवं खेलकुदप्रेमी विनोद अङ्देम्बेले खेलकुदले स्वस्थ समाज निर्माण गर्नुका साथै युवालाई कुलतबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता अभियानलाई सबै पक्षबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। फाक्तेप युथ क्लबका अध्यक्ष चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी, अभिभावक, स्थानीयवासी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएपछि सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको क्लबले जनाएको छ।















































