
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा पशुपालन क्षेत्रको उत्पादन वृद्धि, पशु स्वास्थ्य सुधार तथा किसानको आयआर्जन अभिवृद्धिलाई लक्ष्य राख्दै पालिका, संघ र प्रदेश सरकारको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
चालु आर्थिक वर्षमा पशु सेवा शाखामार्फत दर्जनौं कार्यक्रम कार्यान्वयन गरिएका छन् । केही कार्यक्रम सम्पन्न भइसकेका छन् । केही कार्यान्वयनको अन्तिम चरणमा रहेका र केही निर्माण तथा खरिद प्रक्रियामा रहेका छन् ।
गाउँपालिकाको आन्तरिक बजेटतर्फ २५ लाख रुपैयाँ बराबरका १२ वटा कार्यक्रममध्ये अधिकांश कार्यक्रम सञ्चालन गरिएका छन् । यसअन्तर्गत औषधि खरिद तथा वितरण, रेबिज रोग नियन्त्रण, कृत्रिम गर्भाधान मिसन, पशु स्वास्थ्यसम्बन्धी साझेदारी कार्यक्रम, एनएएचआइएस प्रणालीमार्फत रोग रिपोर्टिङ, सेक्स सिमेन खरिद, आवश्यक उपकरण खरिदलगायत कार्यक्रम सञ्चालन गरिएको छ ।
औषधि खरिद तथा वितरण कार्यक्रमअन्तर्गत सात लाख रुपैयाँ विनियोजना भएकोमा चार लाख रुपैयाँ खर्च भइसकेको अधिकृत छैटौं भेषराज भट्टराईले जानकारी दिए । रेबिज नियन्त्रण कार्यक्रममा ५० हजार खर्च भएको छ । कृत्रिम गर्भाधान कार्यक्रम एक लाख रुपैयाँमा निरन्तर सञ्चालनमा रहेको छ ।
दुघ लाख रुपैयाँको साझेदारीमा काउम्याट वितरण, एक लाख ५० हजारको सेक्स सिमेन खरिद, एक लाख ४० हजारको यन्त्र तथा उपकरण खरिद कार्यक्रम सम्पन्न भएका छन् । एनएएचआइएस प्रणालीमार्फत रोग रिपोर्टिङ भइरहेको जनाइएको छ ।
पाँच लाख रुपैयाँको साझेदारीमा पशुपालन सम्बन्धी मागमा आधारिता कार्यक्रमको सम्झौता भएको पशुसेवा शाखाले जनाएको छ ।
त्यस्तै, संघ सरकारको साझेदारीमा २१ लाख १५ हजार रुपैयाँको कार्यक्रममध्ये अधिकांश कार्यक्रम सञ्चालन गरिएका छन् । यसअन्तर्गत ५० हजार रुपैयाँमा कृत्रिम गर्भाधान मिसन कार्यक्रम, १० लाख ५० हजारको खोरेत रोग नियन्त्रण कार्यक्रमध्ये सात लाख खर्च भएको छ । सात लाख ७५ हजार रुपैयाँको छुर्पी प्रवर्द्धन कार्यक्रम सम्झौता भएर कार्यान्वयनको चरणमा छ । कृषि तथा पशुपन्छी तथा मत्स्य तथ्याङ्क अध्यावधि कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश सरकारको सहयोगमा ४० लाखको लामगत पशु अस्पताल निर्माण भइरहेको छ । सात लाख रुपैयाँको पशु स्वास्थ्य कार्यक्रम सञ्चालन तथा व्यवस्थापन अन्तर्गत तीन लाख ८० हजार रुपैयाँ खर्च भएको छ । वडा नं. २ मा १० लाखको गाईपालन प्रवर्द्धन तथा दूध उत्पादन कार्यक्रमको सम्झौता भइ कार्यान्वयनको चरणमा छ भने १० लाखको बाख्रापालन प्रवर्द्धन कार्यक्रम ६ मध्ये एक तीन भुक्तानी भएका छन् भने बाँकी कार्यान्यनको चरणमा रहेका छन् ।
पशु अस्पताल निर्माण कार्य निरन्तर अघि बढिरहेको छ भने पशु स्वास्थ्य कार्यक्रमअन्तर्गत उल्लेख्य बजेट खर्च भइसकेको जनाइएको छ । गाईपालन तथा बाख्रापालन प्रवर्द्धन कार्यक्रममार्फत व्यवसायिक पशुपालन विस्तारमा सहयोग पुगेको गाउँपालिकाको दाबी छ ।
पशु सेवा शाखाले चालु आर्थिक वर्षमा सञ्चालन गरेका यी कार्यक्रमले पशु स्वास्थ्य सेवा विस्तार, रोग नियन्त्रण, आधुनिक पशुपालन प्रविधिको प्रयोग, उत्पादन वृद्धि तथा किसानको आयआर्जनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले आगामी वर्ष पनि व्यवसायिक पशुपालनलाई थप सुदृढ बनाउने, रोग नियन्त्रणलाई प्रभावकारी बनाउने र पशु स्वास्थ्य सेवालाई अझ पहुँचयोग्य बनाउने लक्ष्यका साथ कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।


















































