फाकफोकथुम गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम

 

इलाम: फाकफोकथुम गाउँपालिकाको २०औँ गाउँसभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ५२ करोड ५६ लाख १७ हजार ९९० बराबरको बजेट तथा कार्यक्रम पारित गरेको छ। गाउँसभाका अध्यक्ष दिपेन्द्र खनालद्वारा बुधबार प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ ।

आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रमको (पूर्ण पाठ )
गाउँसभाका उपाध्यक्षज्यू, सभा सदस्यज्यूहरू सबैलाई फाकफोकथुम गाउँपालिकाको २० औँ गाउँ अधिवेशनमा हार्दिक स्वागत गर्दछु।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना, संविधान निर्माण तथा समावेशिता र सामाजिक न्यायका लागि भएका विभिन्न आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै घाइते, बेपत्ता तथा परिवर्तनका सबै योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र सुशासित स्थानीय शासन निर्माणमा निरन्तर प्रतिबद्ध रहने प्रण गर्दछु।
आज यस गरिमामय गाउँसभामा फाकफोकथुम गाउँपालिकाको दशौँ तथा स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित हामी जनप्रतिनिधिहरुको पाँचौ वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति गरेको छु । यस अवधिमा हामीलाई विश्वास गरी जनप्रतिनिधिको जिम्मेवारी सुम्पनु हुने सम्पूर्ण फाकफोकथुमबासीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
यो नीति तथा कार्यक्रम केवल आगामी वर्षको कार्ययोजना मात्र होइन, चालु आ. व.को समीक्षा, अपूरा प्रतिबद्धताहरू पूरा गर्ने संकल्प र आगामी नेतृत्वका लागि स्पष्ट विकासको आधार तयार गर्ने दस्तावेज पनि हो । नेपाल अहिले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ । पछिल्ला महिनाहरूमा युवा पुस्ताले सुशासन, पारदर्शिता, सेवा प्रवाहमा सुधार, रोजगारी, उत्तरदायी शासन तथा भ्रष्टाचार नियन्त्रण जस्ता विषयलाई केन्द्रमा राखेर आफ्ना आवाजहरू बुलन्द गरेका छन् । यी आवाजहरू लोकतन्त्रलाई थप परिपक्व र उत्तरदायी बनाउने जनअपेक्षाका रूपमा हामीले ग्रहण गरेका छौं।
यस गाउँपालिकाले पनि जनताले उठाएका यस्ता अपेक्षालाई आत्मसात् गर्दैपारदर्शी, प्रविधिमैत्री, जवाफदेही र नागरिकमैत्री स्थानीय सरकार निर्माणलाई आगामी वर्षको प्रमुख प्राथमिकताका रूपमा लिएको छ।
त्यसैगरी विश्वव्यापी रूपमा कृत्रिम बुद्धिमता (Artificial Intelligence – AI), डिजिटल प्रविधि, डाटा-आधारित योजना निर्माण, अनलाइन सेवा प्रवाह तथा स्मार्ट प्रशासन तीव्र रूपमा विकास भइरहेको वर्तमान अवस्थामा स्थानीय सरकार पनि यस परिवर्तनबाट अलग रहन सक्दैन।
त्यसैले आगामी आर्थिक वर्षमा गाउँपालिकाले सूचना प्रविधिको अधिकतम उपयोग गर्दै प्रशासनिक दक्षता अभिवृद्धि गर्ने, डिजिटल अभिलेखीकरण गर्ने, सेवा प्रवाहलाई थप छिटो, सरल र पारदर्शी बनाउने तथा कर्मचारी र जनप्रतिनिधिको डिजिटल क्षमता विकास गर्ने नीति अवलम्बन गर्नेछ।
हाम्रो पहिलो प्राथमिकता अझै पनि सडक, खानेपानी, कृषि, पशुपालन, स्वास्थ्य, शिक्षा, रोजगार सिर्जना र सामाजिक विकास नै रहनेछ।
सीमित वित्तीय स्रोत, संघ तथा प्रदेश सरकारबाट प्राप्त न्युन अनुदान, बढ्दो जनअपेक्षा तथा संघीय वित्तीय हस्तान्तरणको विद्यमान संरचनाका कारण स्थानीय तहले सबै आवश्यकता एकैपटक सम्बोधन गर्न कठिनाइ रहेको यथार्थलाई हामीले स्वीकार गरेका छौं । यद्यपि सीमित स्रोतलाई अधिकतम प्रभावकारी परिचालन गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने विकासलाई प्राथमिकता दिने प्रतिबद्धता यथावत् रहनेछ।
विगत चार वर्षमा गाउँपालिकाले सडक पूर्वाधारको स्तरउन्नती, खानेपानी आयोजना, कृषि तथा पशुपालन प्रवर्द्धन, शिक्षा र स्वास्थ्य पूर्वाधार विकास, सिंचाइ विस्तार, सूचना प्रविधिको प्रयोग, सार्वजनिक सेवा प्रवाह सुधार तथा स्थानीय पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
“कृषि, पर्यटन र पूर्वाधार : समृद्ध फाकफोकथुमको आधार” भन्ने सोच हासिल गर्ने दिशामा यो नीति तथा कार्यक्रम परिलक्षित छ । यस परिप्रेक्ष्यमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को व्यवस्था अनुरुप यस सम्मानित गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ को लागि फाकफोकथुम गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु।
गाउँसभा सदस्यज्युहरु,
अब हाम्रो ध्यान केबल पूर्वाधार निर्माणमा सीमित रहने छैन। आगामी वर्षमापूर्वाधारसँगै गुणस्तरीय सेवा, उत्पादन वृद्धि, रोजगारी सिर्जना, डिजिटल शासन, वातावरण संरक्षण तथा सुशासनको संस्थागत विकास लाई समान प्राथमिकताका साथ अघि बढाइनेछ।
• युवा उद्यमशीलता, कृषि व्यवसाय, पर्यटन तथा स्थानीय उत्पादनलाई बजारसँग जोडिनेछ।
• जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा विशेष जोड दिइनेछ।
• महिलाहरू, युवाहरू, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायको समावेशी विकासलाई थप प्रभावकारी बनाइनेछ।
• डिजिटल प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई आधुनिकीकरण गरिनेछ।
• योजनाको व्यवस्थापन तथा अनुगमनलाई डिजिटल प्रणालीमा आधारित बनाइनेछ।
• सार्वजनिक खर्चमा पारदर्शिता र उत्तरदायित्व अझ सुदृढ गरिनेछ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आम फाकफोकथुमवासी एवं सेवा प्रदायक सरकारी तथा गैरसरकारी कार्यालय एवं संघ संस्था, पेशाकर्मी, व्यवसायी, उद्योगी, व्यापारमा आवद्ध महानुभावहरुको सहयोग, सद्भाव, समन्वय र सहकार्य रहने कुरामा विश्वस्त रहेको छु ।
सभाका सदस्य ज्युहरु,
आगामी आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम तयार गर्दा निम्न उद्देश्यलाई आधार मानेको छु ।
1. संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र साझेदारीमार्फत दिगो पूर्वाधार विकासलाई तीव्रता दिने।
2. सीमित स्रोत–साधनको अधिकतम सदुपयोग गर्दै मितव्ययी, पारदर्शी र परिणाममुखी बजेट कार्यान्वयन गर्ने।
3. सूचना प्रविधि को प्रयोगमार्फत सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउने।
4. शिक्षा, स्वास्थ्य, कृषि र पशुपालन क्षेत्रमा गुणस्तरीय सेवा विस्तार गर्दै उत्पादन र रोजगारी वृद्धि गर्ने।
5. स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारीकरण र उद्यमशीलता प्रवर्द्धन गर्ने।
6. पर्यटन, संस्कृति र प्राकृतिक सम्पदाको संरक्षण गर्दै आन्तरिक पर्यटनको विकास गर्ने।
7. वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणलाई विकासका सबै क्षेत्रमा मूलप्रवाहीकरण गर्ने।
8. सुशासन, वित्तीय अनुशासन, सामाजिक उत्तरदायित्व तथा भ्रष्टाचार नियन्त्रणलाई संस्थागत रूपमा सुदृढ बनाउने।
9. डिजिटल अभिलेखीकरण, तथ्याङ्कमा आधारित योजना निर्माण तथा प्रभावकारी अनुगमन प्रणालीको विकास गर्ने।
10. नागरिक सहभागिता, सामाजिक सद्भाव, समावेशी विकास तथा उत्तरदायी स्थानीय शासनलाई थप मजबुत बनाउने।
फाकफोकथुम गाउँपालिकाको दीर्घकालीन विकासका लागि तय गरिएको”कृषि, पर्यटन र पूर्वाधार : समृद्ध फाकफोकथुमको आधार” भन्ने सोचलाईसाकार पार्न निम्न अनुसारको नीति तय गरिएको छ।
शिक्षा तर्फ
1. स्थानिय तहको दोश्रो निर्वाचनदेखि हालसम्म कम्प्युटर नभका विध्यालयमा कम्प्युटर तथा ल्यापटप वितरण गरी विध्यालय प्रसाशनलाइ डीजिटल माध्यमवाट संचालन हुने बनाएको छ । आगामी आ व मा कम्प्युटर नभका सवै विध्यालमा कम्प्युटर व्यवस्थापन गरी सकिनेछ ।
2. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को पूर्ण कार्यान्वयनका गर्न विशेष कार्यक्रम संचालन गरिनेछ ।
3. श्री सिंह देवि मा वि आमचोक श्री सिंहदेवि मावि फूएतप्पा जालपा मावि लुम्दे खाम्वाङ मावि खाम्वाङ तिलपुङ आवि सिमसाराको नयाँ भवन यसै बर्ष निर्माण सम्पन्न हुनेछ । फँलाटे माविमा आगामी बर्ष नयाँ भवन निर्माण गरिने छ भने मदनज्योती आविको भवन निर्माण सम्पन्न गरिनेछ । भवन आवस्यक भएका अन्य विध्यालहरुमा प्रदेश तथा संघिय सरकार र अन्य श्रोत समेत पहिचान गरी भवन निर्माणका लागि काम अगाडी बढाइनेछ । विद्यालयहरुको संरचना मर्मत तथा रङरोकन कार्यलाई निरन्तरता दिईनेछ ।
4. विद्यालयको गुणस्तर सुधारका लागि अभिभावक र शिक्षकलाई थप जवाफदेही बनाउँदै विद्यार्थीहरुलाई अनुशासित बनाउन कार्यक्रम तयार गरिनेछ साथै कक्षा ८ र १० का अङ्ग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धी वृद्धि गर्नको लागि सहायक कक्षा सञ्चालन गरिनेछ।
5. सामुदायिक विद्यालयमा रहेको प्रारम्भिक बालविकास  शिक्षा कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न बालविकास सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिनेछ ।
6. SEE र कक्षा ८ को परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, सबै भन्दा बढी अंक सहित धेरै विद्यार्थी उत्तीर्ण गराउने शिक्षक तथा विद्यालयलाई सम्मान तथा प्रोत्सहान गरिनेछ । चालु आ.व. का उत्कृष्ट शिक्षक तथा विध्यालयलाइ आगामी बर्षको पहिलो चौमासिक भित्रै सम्मान गरिनेछ ।
7. सङ्घीय तथा प्रदेश सशर्त र विषयगत अनुदानका कार्यक्रमहरु प्रभावकारि रुपमा कार्यान्वयन गरिनेछ।
8. सामुदायिक सिकाइ केन्द्रलाई नाम मात्रको सिकाई केन्द्रबाट माथि उठाई व्यवहारिक  सिकाइ गर्ने केन्द्रको रुपमा विकास गरिनेछ ।
9. निजी क्षेत्रमा सञ्चालित शिक्षण संस्थाहरुलाई आवश्यक सहयोगको साथसाथै अनुगमन, नियमन कार्य सञ्चालन गरिनेछ ।
10. विद्यालयमा अतिरिक्त क्रियाकलापका कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ ।
11. शिक्षकहरुलाइ अझ जिम्मेवार बनाउन र विध्यालयको भौतिक सुरक्षाका लागि गाउँपालिका शिक्षा शाखावाट अनुगमन हुनेगरी कार्यालय र स्टाफ कोठामा सीसी क्यामेरा जडान गरिनेछ ।
12. सवै माध्यमिक विध्यालयमा पुस्तकालय र विज्ञान प्रयोगशाला निर्माण गरिसकिएको छ । आगामी बर्ष समेत उक्त कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।
कृषि विकास तर्फ
1. प्रत्येक वडामा कृषि विकास तथा व्यवसायिक कृषि सम्वन्धी कार्यक्रम प्रत्येक बर्ष सञ्चालन हुदै आएको छ । हाल प्रत्येक वडामा कृषिक्षेत्रमा लगानी बढ्दो अवस्थामा रहेकोछ ।
2. खाद्यान्न आत्मनिर्भरतामा जोड दिँदै रैथाने बाली संरक्षण तथा उत्पादन वृद्धि गर्न बीउ अनुदान कार्यक्रम सञ्चालन गरिनेछ साथै सुरक्षित, स्वस्थ तथा वातावरणमैत्री कृषि उत्पादनका लागि प्राङ्गारिक खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
3. युवा कृषकलाई लक्षित गरी प्लाष्टिक टनेलमा आधारित बेमौसमी तरकारी उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ, व्यावसायिक फलफूल बगैंचा स्थापना तथा विस्तार गरी स्थानीय उत्पादनको अधिकतम उपयोग र बजारिकरणमा जोड दिइनेछ ।
4. अलैंची, अदुवा‚ कफी. किवि‚ एवोकार्डो‚ अकवरे‚ वेसार तथा चिया खेती विस्तार कार्यक्रमलाइ संघ र प्रदेश सरकारको समन्वयमा थप प्रोत्साहनको कार्यक्रम तय गरिनेछ।
5. मौरीगोला श्रोतकेन्द्र स्थापनाका लागि आवस्यक प्रक्रिया शुरु गरिनेछ ।
6. कृषि समूह तथा सहकारीमार्फत कृषि उपजको प्रशोधन, भण्डारण तथा बजारीकरण गरिनेछ।
7. नमुना कृषि उत्पादन तथा नर्सरी स्थललाई निरन्तरता दिइनेछ ।
8. माटो परीक्षण, माटो स्वास्थ्य कार्ड वितरण तथा माटो सुधार कार्यक्रम सञ्चालन गरिनेछ।
9. जैविक तथा वनस्पतिक विषादी प्रयोग विस्तार गरिनेछ।
10. आकस्मिक बाली संरक्षण सेवा सञ्चालन गरिनेछ।
11. कृषि उत्पादनको तथ्याङ्क संकलनका लागि क्रप कटिङ कार्यक्रम सञ्चालन गरिनेछ।
12. कृषि तथ्याङ्क संकलन तथा कृषि सूचना व्यवस्थापन प्रणाली विकास गरिनेछ।
13. कृषि डिजिटल अभिलेख तथा सूचना प्रणाली व्यवस्थापनलाई सुदृढ गरिनेछ।
14. कृषि कार्यक्रमहरूको सार्वजनिकीकरण, अनुगमन, मूल्याङ्कन तथा व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ।
उद्योग, वाणिज्य र सहकारी तर्फ
1. ‍दायित्व संस्थासंगको प्राविधिक सहयोगमा वृद्धिमुखी रोजगार कार्यक्रम मार्फत ४० घरेलु उध्योगहरुलाइ विज्नेश प्लान र लगानी प्रवर्धन तालिम संचालन भइ उत्कृष्ट २० उध्योगलाइ स्तर उन्नती साझेदारी सहयोग सम्पन्न भइ १० उध्योगहरु नयाँ प्रविधि कार्यक्रममा सहभागि भइ रहनु भएको छ । यसले उध्योगीहरुमा लगानीको वातावरण श्रृजना भएको छ भने उत्पादन र रोजगार प्रवर्धनको वातावरण तयार भएको छ । यो अवधीमा उध्यम विकास कार्यक्रम मार्फत प्रत्यक वडाका ७०० बढी नागरिकहरुलाइ क्षमता अभिबृध्दि र प्रविधि हस्तान्तरण कार्यक्रम संचालन भएको छ ।
2. कृषिजन्य कच्चा पदार्थमा आधारित उद्योग खोल्न युवा उद्यमीलाई आकर्षित गर्ने कार्यक्रम तयार गरी आवश्यक सहयोग गरिनेछ । व्यवसायको सवलीकरण तथा प्रवर्द्धनको लागि साझेदारीमा उपकरण वितरणलाई प्राथमिकता दिइनेछ ।
3. सहकारी क्षेत्रमा देखिएको विद्यमान अवस्थाबाट माथि उकास्न, सहकारी संस्थाको हिसाबकिताबलाई चुस्त र दुरुस्त राख्न सबै सहकारी संस्थाहरुलाई COPOMIS प्रणालीमा अनिवार्य आबद्ध गराइ सकिनेछ ।
4. सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुको क्षमता विकासका लागि तालिमलाई निरन्तरता दिइनेछ ।
5. राम्रो र उत्कृष्ट सहकारी संस्थालाई सम्मान गर्ने कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।
6. नीजि क्षेत्रका लगानीकर्ताको लगानी सुरक्षाको कार्यक्रम तयार गरिनेछ ।
7. एक घर एक सहकारी सदस्य भन्ने नारालाई निरन्तरता दिइनेछ ।
8. सहकारी संस्थाहरुलाई उद्देश्यमा आधारित कार्यक्रम गर्न प्रोत्साहन गरिनेछ ।
9. गाउँपालिका भित्र सञ्चालित दर्ता प्रक्रियामा छुटेका उद्योग र व्यवसायहरुलाई अनिवार्य दर्ता तथा नविकरण प्रक्रियामा ल्याइनेछ ।
10. घरेलु उद्योग कार्यालय र संघ तथा प्रदेशका विषयगत कार्यालयको लागि सिफारिस माग गर्ने उद्योग/फर्मको हकमा गाउँपालिकाको कार्यालयमा दर्ता गर्ने र सो भन्दा बाहेकका  उद्योग/फर्मको हकमा वडा कार्यालयमै दर्ता गर्ने साथै उद्योग/फर्म/व्यवसाय नविकरण वडा कार्यालयहरुबाटै हुनेगरी व्यवस्था गरिनेछ ।
सिंचाई तर्फ
1. साना सिंचाई कार्यक्रम अन्तर्गत सम्पन्न भइ सञ्चालनमा आइसकेका १७ वटाकुलोहरुको प्रभावकारी व्यवस्थापनका लागि उपभोक्ताहरुसग समन्वय गरिनेछ । नया सिंचाई आयोजनाहरुको आवश्यकता  पहिचान, तर्जुमा तथा कार्यान्वयन गरिनेछ । साना सिंचाइ कार्यक्रम तेश्रो चरणको शुरु भएपछि कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।
2. प्रदेश सरकार मार्फत होयाङ्मा खोला सिंचाई कुलो निरन्तरता हुनेछ र डाँडे कुलो सिंचाई आयोजनाको ठेक्का प्रकृया अगाडी बढ्नेछ, सिम्ले सिंचाई आयोजना सम्पन्न हुनेछ । सटके दोभान फाकफोक खोला साप्तिन रुपाटार सिंचाई कुलोको सम्भाव्यता अध्ययन भइ सकेकोले निर्माणका लागि श्रोत व्यवस्थापन अगाडी बढाइने छ । प्रदेश सरकार मार्फत समेत सिंचाइ कुलो मर्मतका योजना अगाडी बढाइनेछ ।
3. पालिकाभित्र संचालन हुने अन्य ठूला सिंचाई योजनाहरुलाई संघ र प्रदेश सरकार मार्फत संचालन गर्न निरन्तर पहल र प्रयत्न गरिनेछ ।
खानेपानी तथा सरसफआई तर्फ
1. एक घर एक धारासहित सफा, स्वच्छ र शुद्ध पिउने पानीको प्रबन्ध गर्ने कार्यक्रमलाइ निरन्तरता दिइनेछ  । आमचोक बृहत खानेपानी आयोजना निर्माण सम्पन्न भइ परिक्षणको कार्य भइ रहेकोछ । उक्त योजना परिक्षण सकिएपछि सचालनमा ल्याइनेछ र उपभोक्ता समिति गठन गरी समुदायलाइ हस्तान्तरण गरिनेछ ।
2. वडा नं. ५‚ लुम्दे र वडा नं ३ सल्लेरीको खानेपानी समस्या समाधान गरिनेछ ।
3. प्रदेश सरकार मार्फत पचेवा‚ तिनजुरे फुस्रे‚ खोपेलुङ् लागायत ५ वटा नयाँ र अघिल्लो बर्षदेखि शुरुभएका ११ गरी १६ वटा खानेपानी आयोजना संचालन गरिनेछ ।
4. वडा सिलिङ तथा गाउँपालिका र गैरसरकारी संस्थाहरुसँगको साझेदारीमा साना तथा मझौला खानेपानी योजना संचालन तथा मर्मत कार्य अगाडी बढाइनेछ ।
5. पञ्चमी बजार, आमचोक बजार, नवमी बजार, शिकारी भञ्ज्याङ तथा अन्य क्षेत्रबाट निस्कने फोहोरलाई डम्पिङ साइटको व्यवस्था गरी फोहोर व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाइनेछ ।
पशुपालन तर्फ
1. पशु अस्पात निर्माण सम्पन्न भइ पशुशाखा सोही भवनवाट संचालन ल्याइएको छ । अस्पतालवाट दिइने सेवा समेत आगामी बर्षवाट शुरु गरिनेछ ।
2. पशु नस्लसुधार कार्यक्रमले दुध उत्पादनमा बृध्दि भएकोले उक्त कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।
3. प्राणघातक रेबिज रोगको न्यूनीकरण गर्न घरपालुवा तथा सामुदायिक कुकुरहरुमा रेबिज विरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिईनेछ ।
4. कृषकहरुको बृहत्तर आम्दानीको श्रोत पशुपालनबाट दुग्धजन्य पदार्थको उत्पादनअन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा योग्य बनाउन छुर्पी प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
5. दुग्ध तथा मासुजन्य पदार्थको निर्यातमा सहजता ल्याउन खोरेत रोग नियन्त्रण कार्यक्रम सञ्चालन शुरु भएको छ यसलाइ निरन्तरता दिइने छ साथै पिपिआर, स्वाईन फिवर र लम्पी स्किन जस्ता खोप कार्यक्रमलाई निरन्तरता दिईने छ ।
6. पशुपंन्छी उपचार तथा प्राविधिक परामर्श सेवालाई प्रभाकारी बनाउन नीजि क्षेत्रका प्राविधिकहरुसँग समन्वय गरि सेवा प्रवाहको गुणस्तरमा वृद्धि गरिने छ ।
7. पशुपालन किसानहरुलाई प्रोत्साहन गर्दै विभिन्न रोग न्यूनीकरण गर्न गोठ र खोर सुधार र पशु घाँस आपूर्तिमा वृद्धि गर्दै उत्पादन वृद्धि गर्न  मोटरसहितको च्यापकटर तथा काउ म्याट वितरण कार्यक्रमलाई निरन्तरता दिइने छ ।
8. पशुधनको सुरक्षाका लागि पशु बिमा कार्यक्रम प्रभावकारी बनाउन आवस्यक समन्वय गरिनेछ ।
9. पशुजन्य उत्पादन र उत्पादकत्व वृद्धि गर्दै हरियो घाँसमा आधारित पशुपालन गरि उत्पादन लागत घटाउन उन्नत कोशे तथा अकोशे डाले तथा भुइँ, वर्षे तथा बहुवर्षे घाँस खेतीलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने छ ।
10. पशुपालन व्यवसायबाट उत्पादित उपजमा फाकफोकथुमको पहिचान राख्न आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने कार्यलाई अगाडि बढाइनेछ ।
स्वास्थ्य तर्फ
1. स्वास्थ्य बीमा कार्यक्रमलाई नागरिकको पहुँचसम्म पुर्‍याउन थप पहल गरिनेछ ।
2. आर्थिक रुपमा विपन्न तथा आम नागरिकहरुको स्वास्थ्य सेवामा पँहुच अभिवृद्धि गर्न विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस्ता शिविरवाट ७ हजारभन्दा बढी नागरिकले सेवा लिइ सक्नु भएको छ । ७ जनाको निशुल्क मुटुको सल्याक्रिया भएको छ । आगामी वर्ष समेत विभिन्न प्रकारका स्वास्थ्य शिविर कार्यक्रमलाई सञ्चालन गरिनेछ ।
3. स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली (HMIS) को प्रयोग मार्फत स्वास्थ्य संस्थाहरुलाई चुस्त, दुरुस्त राखी स्वास्थ्य संस्थाहरुमा डिजिटल प्रविधिको प्रयोगलाई बढवा दिइनेछ ।
4. नसर्ने रोगहरुको समयमै स्क्रनिङ गरी उपचारको दायरामा ल्याउने कार्यलाई प्रभावकारी रुपमा अघि बढाइने छ । महिलाहरुको पाठेघरको जाँच गरी पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
5. क्षयरोग नियन्त्रण गर्न ए.आइ. एक्स-रे प्रबिधिबाट क्षयरोगको स्क्रिनिङ गरिनेछ ।
6. बालबालिकाले जन्मेको १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप दिलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
7. आयुर्वेद उपचार पद्धतिलाई प्रवर्दन गरि जनस्वास्थ्य सेवालाई अभिवृद्धि गरिनेछ ।
8. योग विधि मार्फत दीर्घरोगको न्यूनिकरण गर्न योग शिविर सञ्चालन गरिनेछ ।
9. निर्माणको अन्तिम चरणमा रहेको १५ शैयाको अस्पताललाई यथाशिघ्र सम्पन्न गरीनेछ । विशेषज्ञ सेवा सहितको आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक कर्मचारी, औजार उपकरण, मेशिनरी तथा अन्य स्रोतसाधनको यथेष्ट प्रबन्ध गरिनेछ ।
10. कियोच दमक बाल अस्पतालसँगको सहयोगमा बालबालिकाको स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
पर्यटन, सहित्य र कला तर्फ
1. ज्ञानदिलदासको जन्मस्थानको प्रचारप्रसार हुने र ज्ञानदिलदासको जन्मभूमिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्‍याउने खालका कार्यक्रमहरु निरन्तरसंचालन गरिनेछ ।
2. गाउँपालिकामा रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, प्रवर्द्धन र दिगो उपयोगमार्फत पर्यटन क्षेत्रको विकास गरी स्थानीय रोजगारी तथा आयआर्जन अभिवृद्धि गरिनेछ।
3. फाकफोकथुम गाउँपालिकाका पर्यटकीय गन्तव्यहरूको पहिचान, गुरुयोजना (Tourism Master Plan) निर्माण, पूर्वाधार विकास, प्रचार–प्रसार तथा ब्रान्डिङ गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरिनेछ।
4. स्थानीय भाषा, साहित्य, कला, संस्कृति, मौलिक परम्परा, लोकगीत, लोकनृत्य, बाजागाजा तथा सांस्कृतिक सम्पदाको संरक्षण, अभिलेखीकरण, प्रवर्द्धन र पुस्तान्तरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
5. स्थानीय कलाकार, साहित्यकार, स्रष्टा तथा सांस्कृतिक व्यक्तित्वको सम्मान, क्षमता विकास, सिर्जनात्मक गतिविधिको प्रवर्द्धन तथा स्थानीय सांस्कृतिक महोत्सव, साहित्यिक गोष्ठी र कला प्रदर्शनी आयोजना गर्न प्रोत्साहन गरिनेछ।
6. पर्यटन क्षेत्रको दिगो विकासका लागि स्वच्छता, वातावरण संरक्षण, पर्यटकमैत्री सेवा, सूचना प्रवाह तथा स्थानीय समुदायको सक्रिय सहभागितालाई प्रोत्साहन गर्दै पर्यटनलाई गाउँपालिकाको आर्थिक विकासको आधारका रूपमा विकास गरिनेछ।
7. लुम्दे खड्कुडे झिलमा पर्यटन पूर्वाधार अगाडी बढाइनेछ । धापसिम सिमसार तथा बागमती सिमसारलाई थप व्यवस्थित गर्नका लागि पहल गरिनेछ ।
8. फाकफोकथुमको समग्र अवस्थाको चिनारी दिने श्रोत सामग्रीको रुपमा श्रष्टाकोयात्रीको देख्दा फाकफोकथुम‚ जनप्रतिनिधि प्रोफायल र फाकफोकथुमका श्रष्टा नामक ३ वटा पुस्तक प्रकाशनमा गरिनेछ ।
9. पालिकाको समग्र स्थान चिनाउने भिडियो डकुमेण्ट्रि तयार गरी पालिकाको वेवसाइटमा राखिनेछ । पालिकाको लगानीमा निर्माण गरिएको माङहिम उद्घाटन गरी समुदायलाइ हस्तान्तरण गरिनेछ ।
महिला, बालबालिका, समाजकल्याण तथा लैंगिक समानता तर्फ
1. महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित, आदिवासी जनजाति तथा अन्य सामाजिक रूपमा पछाडि परेका समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै समावेशी र न्यायपूर्ण समाज निर्माणमा जोड दिइनेछ ।
2. महिलाको आर्थिक सशक्तीकरणका लागि उद्यमशीलता विकास, सीपमूलक तालिम, उत्पादनमा आधारित आयआर्जन, सहकारीमार्फत उद्यम प्रवर्द्धन तथा वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरिनेछ।
3. बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्दै बालश्रम, बाल हिंसा, बाल दुर्व्यवहार तथा विद्यालय छाड्ने प्रवृत्ति न्यूनीकरणका लागि विद्यालय, सहकार्यमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
4. लैङ्गिक हिंसा, घरेलु हिंसा, मानव बेचबिखन, छुवाछुत तथा सबै प्रकारका विभेद र सामाजिक कुरीतिविरुद्ध सचेतना, कानुनी साक्षरता, मनोसामाजिक परामर्श तथा सरोकारवाला निकायसँगको समन्वयमा संरक्षणात्मक कार्यक्रम सञ्चालन गरिनेछ।
5. ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहाय नागरिकका लागि सम्मानजनक, पहुँचयोग्य र गुणस्तरीय सेवा सुनिश्चित गर्दै सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, सहायक सामग्री तथा समुदायमा आधारित हेरचाहका कार्यक्रम सञ्चालन गरिनेछ।
6. किशोरी तथा युवतीहरूको स्वास्थ्य, पोषण, प्रजनन स्वास्थ्य, नेतृत्व विकास, डिजिटल तथा जीवनोपयोगी सीप अभिवृद्धिका कार्यक्रम सञ्चालन गरी उनीहरूको आत्मनिर्भरता र नेतृत्व क्षमता विकास गरिनेछ।
7. महिला समूह, आमा समूह, बाल क्लब, किशोरी समूह तथा सामुदायिक संस्थाहरूको संस्थागत सुदृढीकरण गर्दै स्थानीय विकास, सामाजिक रूपान्तरण तथा सुशासनमा उनीहरूको सक्रिय सहभागिता र नेतृत्वलाई प्रोत्साहन गरिनेछ।
8. हिंसापीडित महिलालाई मनोपरामर्शको व्यवस्था मिलाइनेछ आगामी दिनमा कानूनी सहायता समेत प्रदान गरिनेछ । दस वटै पालिकाको लगानीमा इलाममा निर्माण गरिएको सेफ हाउस मार्फत हिंसा पिडित महिलालाइ सुरक्षा प्रदान गरिदै आएको छ ।
9. गरिब तथा दलित परिवारका बालबालिकालाई शैक्षिक सामग्री (किताब, झोला, पोशाक) वितरण गरिनेछ र विद्यालय नपढ्ने बालबालिकाको खोजी गरी विद्यालय भर्ना गरिनेछ ।
10. बालबालिकाको सर्वाङ्गीण विकासको लागि माध्यमिक तथा आधारभूत विद्यालयमा बाल क्लबको गठन र सशक्तीकरणका लागि विशेष अभियान सञ्चालन गरिनेछ ।
युवा तथा खेलकुद तर्फ
1. खेलकूद नै स्वस्थ जीवनको मूल आधार हो भन्ने मान्यतालाई सार्थक बनाउन विभिन्न खेलकूद क्रियाकलापहरु सञ्चालन गर्न गरिनेछ ।
2. गाउँपालिकाको केन्द्रमा निर्माणाधिन कवर्डहल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईनेछ ।
3. पालिकास्तरीय खेलकूद विकास समिति गठन खेलकुद कार्यक्रम संचालन गरिनेछ ।
4. विद्यालय तहदेखि खेलाडी प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
5. खेलकूद गतिविधिहरुमा सामुदायिक संलग्नता प्रवर्द्धन गर्न विभिन्न खेलकूद क्लबहरुसँग साझेदारी गरिनेछ ।
6. राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितालाइ निरन्तरता दिइनेछ ।
7. यस बर्षसम्ममा एकतप्पाको रुपाटार खेलमैदान‚ जनकल्याण खेलमैदान‚ रमेश स्मृति खेलमैदान‚ भाजिमानडाँडा खेलमैदान र चासोक तङनाम खेल मैदान निर्माण तथा निर्माण गरिएको छ भने आगामी आ व मा पोखरी खेल मैदान लुम्दे मर्मत गर्नुका साथै फुएतप्पा खेलमैदान निर्माण गरिनेछ ।
पञ्जिकरण सेवा एकाईतर्फ
1. व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा पञ्जीकरण सेवालाई सरल, सहज, प्रविधिमैत्री, बनाउँदै नागरिकको सेवामा समान पहुँच सुनिश्चित गरिनेछ।
2. जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइ लगायतका व्यक्तिगत घटनाको समयमै दर्ता गर्ने संस्कृतिको विकास गर्न जनचेतनामूलक अभियान सञ्चालन गरिनेछ।
3. दुर्गम बस्ती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सेवा केन्द्रसम्म सहज पहुँच नभएका नागरिकलाई लक्षित गरी घुम्ती सेवा तथा वडा स्तरमै सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ।
4. हरेक बर्षको वैशाख महिनाको १ गते देखि ७ गतेसम्म मनाईने व्यक्तिगत घटना दर्ता सम्बन्धी घटना दर्ता सप्ताह एफ.एम. मिडिया तथा पत्रपत्रिकाहरुमा घटना दर्ता सम्बन्धी जानकारीहरु छपाउने तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गरी मनाइनेछ ।
पुर्वाधार विकास तर्फ
1. चालु आर्थिक बर्षको असोज १८ र १९ गते आएको अविरल बर्षाका कारण आएको विपतले यस पालिकाभित्रका सम्पूर्ण सडकहरु क्षतिग्रस्त भए । पालिकाले वाटो सरसफाइमा मात्र १ करोड २० रकम खर्च गर्नु पर्यो भने आंशिक क्षतिका घर मर्मत‚ पशु चौपाय क्षतिको रातह वापत ठूलो धनराशी खर्च गर्नु परेका कारण पालिकावाट पूर्वाधार निर्माणमा विनियोजन गरेको रकम रकमान्तर गरी विपतमा लगाउनु परेको अवस्था छ । कृषि क्षेत्रको क्षतिको राहत प्राविधक कारण हालसम्म पिडितको खातामा जान सकेको छैन ।
2. विपतको पिडाका बाबजुत पनि वडा सिलिङ र गाउँपालिकावाट थुप्रै साना योजना कार्यान्वयन भएका छन ।
3. चालु आ व मा पालिकावाट रवि आमचोक सडक स्तरउन्नती‚ आमचोक प्रहरी चौकी देखि शुक्रवारे वजारसम्म सडक ढलाइ‚ लोखरुम्वा खोला कल्भर्ट निर्माण‚ आमचोक स्वास्थ्य चौकी अगाडीको सडक गोलाइ ढलाइ‚आमचोक–ठीङ्गेपुर–खाम्वाङ सडकको आमचोक–ठीङ्गेपुर खण्ड स्तर उन्नती‚पसल–कोल्वोटे–साप्तिन सडक स्तरउन्नती‚ अन्तरेडाँडा–जालपा–कैदले सडक स्तरउन्नती भएका छन् ।
4. सिंहदेवि मावि आमचोकको बहुतले भवन निर्माण सम्पन्न भइ छात्रावास निर्माणाधिन अवस्थामा छ भने श्री सिंह देवि मावि फुएतप्पा‚ जालपा मावि लुम्देमा चारकोठे भवन त्यस्तै खाम्वाङ्ग मावि खाम्वाङ‚ तिलपुङ आवि सिमसारामा दुइकोठे भवन निर्माण भएका छन् । त्यस्तै मदमज्योती आविको भवन निर्माणाधिन अवस्थामा रहेको छ । पशुअस्पताल निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ
5. फाकफोकखोला वेलिबृज गत आवमा निर्माण सम्पन्न भइ यो बर्षको शुरुदेखि संचालनमा आएकोछ
6. चालु आर्थिक बर्षमा आमचोक शुक्रवारे बजार रातमाटे कोल्वोटे सिकारीभञ्याङ्ग सडकको आमचोक खण्डमा संघिय सकारवाट नसुवा खोला कल्भर्ट र सडक स्तरउन्नतीको कार्य भइ रहेको छ ।
7. कोशी प्रदेश सरकार मार्फत फँलाटे तिलपुङ् सडक‚ फँलाटे पुत्लीखर्क खाम्वाङ सडक‚ पसल कोल्वोटे साप्तिन सडकको कोल्वोटे साप्तिन खण्ड‚ त्रीवेणी कन्सिरी साप्तिन सडक‚ दोभान आङ्चेरे फुएतप्पा सडक‚ उत्तरे चित्रे लुङसुङदाङ्ग सडक‚ दशमी कुवापानी सडक‚ विष्णु मावि फुएतप्पा सडक‚पञ्चमी ‍ सडक‚ जट्टेश्वर–रुपाटार–ज्यामीरे सडक स्तरउन्नतीका लागि महत्वपूर्ण बजेट विनियोजन भइ कार्यान्वयन भएको छ । लुम्दे पोखरी निर्माण‚भण्डारी खोप सडक मर्मत‚ ढुङ्गेपानी सिकारी भञ्ज्याङ सडक‚ सिकारी भञ्ज्याङग शौन्दरीकरणको काम पनि प्रदेश सरकारवाट हुदै गरेको छ । त्यस्तै थावाखोलामा बेलीबृज निर्माणको कार्य पनि प्रदेश सरकारवाट निर्माणाधिन अवस्थामा रहेको छ । जसका लागि कोशी प्रदेश सरकार र सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री यस क्षेत्रका प्रदेश माननिय राम रानालाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
8. अप्पर देउमाइ साना जलविधुत योजनाको पालिकालाइ प्राप्त हुने सामाजिक उत्तरदायीको बजेट वापत आयोजनावाटै वडा नं ६ को वडाकार्यालय कमेरे सडक स्तरउन्नतीको कार्य भएको छ भने वडा नं ७ मा आगामी वर्ष सम्पन्न हुनेछ ।
9. माथिउल्लेखि सडक पुल भवन पोखरी निर्माणका योजनामा चालु आ व मा २० करोड भन्दा बढी लगानी भएको छ र यी सवै योजनाहरु ठेक्का प्रक्रियावाट सञ्चाल भएका छन् । उपभोक्ता समितवाट समेत साना प्रकृतिका १२० भन्दा बढी योजना संचालन भएका छन । फागुन देखि नै निरन्तर परेको झरी र मध्यपूर्वमा भएको लडाइका कारण पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिले निर्माण क्षेत्रमा सवै भन्दा ठूलो असर परेकाले कतिपय योजना समय सम्पन्न हुन सकेका छैनन् ।
10. आगामी आर्थिक बर्ष गाउँपालिकाले संघिय समपुरक तथा प्रदेश समपुरक बजेटवाट आमचोक–ठीङ्गेपुर–खाम्वाङ् सडक‚ अन्तरेडाँडा–जालपा–कैदले सडक‚ पसल–कोल्वोटे–साप्तिन सडक स्तरउन्नतीलाइ निरन्तरता दिइने छ भने रवि–आमचोक माथिल्लो सडको स्तर उन्नती शुरु गरिने छ । त्यस्तै कोशी प्रदेश सरकार मार्फत दोभान–आङ्चेरे–फुएतप्पा वडा कार्यालय–आमचोक सडकको स्तरउन्नती कार्यलाइ निरन्तरता दिइनेछ । भने कमेरे ६ नं वडा कार्यालय फुस्रे सडक‚ श्री सिहदेवि मावि फुएतप्पा–कैजले सडक स्तरउन्नती गरिने छ भने संघ र प्रदेश सरकारको साझेदारीमा शुक्रवारे बजारको सडक ढलान तथा कालोपत्रे गर्ने कार्य गरिनेछ । संघिय सरकारवाट विनियोजित रकमवाट रवि आमचोक सडक‚पञ्चमी ठीङ्गेपुर सडक र एकतप्पा–कोल्वोटे–खाम्वाङ सडक स्तर उन्नती गरिने छ भने राँके गैडे सडक खण्डको फाकफोकखोलामा र मंगलवारे–कमेरे–दोकानडाँडा–सिङ्लाबु दल वहादुर लावतीको घर–साप्तिन–सल्लेरी–फुएतप्पा दशमी सडकको याङ्मा खोला र मुगेखोलामा मोटरेवल पुल बनाउन श्रोत सुनिश्चित गरी कार्य अगाडी बढाउन समन्वय गरिनेछ ।
11. गत असोज १८ र १९ गतेको बर्षाले ल्याएको विपतका कारण क्षतिग्रस्त सडक पुलको पुन निर्माणका लागि संघिय सरकारवाट इलाम जिल्लामा प्राप्त हुने बजेटवाट सिकारि भञ्ज्याङ कोल्वोटे आमचोक सडक‚ चियावरी भञ्ज्याङ लुम्दे अन्तरेडाँडा सडक‚ दोकानडाँडा लावती गाउँ सल्लेरी फुएतप्पा सडक‚ फँलाटे पुतलीखर्क खाम्वाङ सडक‚ १५ शैयाको अस्पताल भाजिमानडाँडा खाम्वाङ सडक‚ तिलपुङ मेतालुङ ६ नं वडा कार्यालय सडक‚ सप्तमी तालखर्क बरवोटे‚जट्टेश्वर रुपाटार सडकका क्षतिग्रस्त स्थान र पुल कल्भर्टको पुननिर्माणका लागि आवस्यक समन्वय गरिने छ ।
12. आगामी आ.व.मा गाउँपालिका मार्फत ५० भन्दा बढी ग्रामिण स्तका सडक मर्मत र स्तरउन्नती गर्ने कार्यक्रम तय गरिनेछ ।
13. गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माणका लागि सूचना आव्हान यसै आ व मा गरिनेछ ।
सूचना सञ्चार तथा प्रविधि तर्फ
1. गाउँपालिकाको सेवा प्रवाहलाई छिटो, पारदर्शी, प्रभावकारी तथा नागरिकमैत्री बनाउन सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गर्दै डिजिटल सुशासनलाई अझ प्रभावकारी बनाइनेछ।
2. गाउँपालिकाको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना, सेवा, योजना, बजेट, निर्णय तथा नागरिकका लागि आवश्यक जानकारी नियमित रूपमा प्रकाशन गरी सूचना पहुँचलाई सुदृढ बनाइनेछ।
3. निजी क्षेत्र, शैक्षिक संस्था तथा विकास साझेदारसँग सहकार्य गरी सूचना तथा सञ्चार प्रविधिको विस्तार गरिनेछ।
4. वडा कार्यालयवाट प्रभाह हुने सेवालाइ अझ छिटो छरितो बनाइनेछ ।
भूमि व्यवस्थापन तथा सर्वेक्षण तर्फ
1. भू-उपयोग नक्सा तथा क्षेत्र अद्यावधिक गर्ने कार्यलाई यसवर्ष पनि निरन्तरता दिइनेछ ।
2. भू-उपयोग ऐेन, २०७६ र भू-उपयोग नियमावाली, २०७९ र स्थानीय भू-उपयोग परिषदले गरेको भूमिको वर्गीकरणमा छुट भएका र निवेदकको निवेदन बमोजिम क्षेत्र परिवर्तनका गरी भू-उपयोग नक्सा तथा कित्तागत विवरण समावेशगरिनेछ ।
3. “मेरो कित्ता (NELIS)” अनलाइन सेवा यसै आ.व. देखि सञ्चालनमा ल्याइनेछ।यस सेवा मार्फत सेवाग्राहीहरुले आवश्यक कित्तानापी नक्सा, फिल्डबुक तथा प्लट रजिस्टरको प्रतिलिपी आफ्नै स्थानीय तहबाट प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछ ।
4. भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको Online प्रणालीमा Data Entry सम्पन्न भईसकेको हुँदा त्यसभन्दा अगाडीको प्रक्रियाअघि बढाइनेछ ।
5. यसै आ.व. बाट भूमि प्रशासन कार्यालय र नापी कार्यलयबाट प्रवाह हुने सेवालाई स्थानीय तहबाटै वितरण गर्ने व्यवस्था मिलउन पहल गरिनेछ ।
विपद व्यवस्थापन तर्फ
1. विपद पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापना कार्यक्रमलाई संस्थागत रूपमा सञ्चालन गरिनेछ।
2. पहिरो, बाढी, भूक्षय, वन डढेलो, भारी वर्षा तथा अन्य जलवायुजन्य जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी जोखिम नक्साङ्कन (Risk Mapping) तथा समुदायमा आधारित विपद व्यवस्थापन योजना तयारी अन्तिम रुपमा पुगेको छ यसलाइ तयार गरी कार्यान्वयन गरिनेछ।
3. विपद प्रतिकार्यका लागि वडा र टोल स्तरमा स्वयंसेवक टोली गठन, क्षमता विकास तालिम, आपतकालीन सामग्री भण्डारण तथा पूर्वसूचना प्रणाली सुदृढीकरण गरिनेछ।
4. विपद प्रभावित परिवारहरूको तत्काल राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि एकद्वार प्रणाली लागू गर्दै सामाजिक सुरक्षा तथा आपतकालीन सहयोगलाई प्रभावकारी बनाइनेछ।
5. जलवायु परिवर्तन अनुकूलन तथा हरित विकासलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री पूर्वाधार निर्माण, दिगो भूमि उपयोग तथा प्राकृतिक स्रोत संरक्षणलाई विकास योजनामा मूलप्रवाहीकरण गरिनेछ।
6. गएको असोज १८ र १९ गतेको विपतवाट घरवार विहिन भएका १४ परिवारको अस्थायी आवास निर्माण सम्पन्न भएको छ भने
7. वडा नं ६ को सिमसाराको विपत प्रभावित १६ घर स्थानान्तरणका लागि सवै प्रक्रिया पुरा भएता पनि जग्गा प्राप्तिको कार्य सम्पन्न भइ नसकेकाले घर निर्माणको कार्य शुरु हुन सकेको छैन । सिमसारा क्षेत्रका १६ घर सहित पुननिर्माण गर्नु पर्ने ३१ घरको स्थायि घर निर्माणका लागि स्वीकृति भइ सकेको छ । वडा मार्फत सम्वन्धित घरधनीसंग सम्झौता गरी घर निर्माण शुरु हुने छ । आगामी आ व भित्र नै उक्त घर पुननिर्माणको कार्य सम्पन्न गरिने छ ।
रोजगारी सिर्जना तर्फ
1. कृषि पेशाको व्यवसायीकरण, यान्त्रिकरण र विविधिकरण मार्फत कृषि पेशामा युवा जनशक्तिको आकर्षण बढाउने तथा कृषि क्षेत्रमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्ने ।
2. श्रम बजारको मागअनुसार गत बर्षवाट शुरु गरिएको सीप विकास तालिमलाइ निरन्तरता दिइनेछ ।
3. युवा, महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई लक्षित गरी स्वरोजगार र उद्यमशीलता विकास गर्ने ।
4. “सीप, श्रम र उद्यम: समृद्ध स्थानीय अर्थतन्त्रको आधार” भन्ने नारालाई आत्मसाथगर्दै दिगोपन र विस्तारमा जोड दिने।
5. विद्यालय तथा क्याम्पस तहमा करियर परामर्श तथा मनोसामाजिक परामर्श सम्बन्धि वृहत सचेतना कार्यक्रम संचालनमा जोड दिने ।
6. वैदेशिक रोजगारीबाट फर्किएका श्रमशक्तिले आर्जन गरि लिई आएको पुँजी, प्रविधि, सिप र अनुभवलाई गाउँपालिकाको वृहत्तर हित र आर्थिक समुन्नतीमा टेवा पुग्ने गरी उपयोग गर्ने ।
आर्थिक प्रशासन तथा वित्तीय सुशासन तर्फ
1. सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) को प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिकाका सबै कर्मचारी तथा जनप्रतिनिधीको दक्षता अभिवृद्धि गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ।
2. गाउँपालिकामा वित्तीय अनुशासन, पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रवर्द्धन गर्न र महालेखा परीक्षकको प्रतिवेदन अनुसार देखिएका बेरुजुहरुलाई समयमै फर्स्योट गरी वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन आगामी आर्थिक वर्षलाई “बेरुजु फर्छ्यौट तथा वित्तीय सुशासन सुदृढीकरणवर्ष” का रुपमा कार्यान्वयन गरिनेछ।
3. गाउँपालिकामा यस बर्ष देखीएको कुल बजेटको ५.५ प्रतिशत अर्थात सात करोडभन्दा बढी बेरुजु आगामी आवमा उक्त बेरुजु फर्स्योट गरी करिब रु एक करोडमा झार्ने लक्ष लिइनेछ । जसका लागि देहाय बमोजिमका कार्यक्रम सञ्चालन गरिनेछ ।
1. महालेखा परीक्षकको कार्यालयबाट प्राप्त लेखापरीक्षण प्रतिवेदनलाई तत्काल गाउँसभामा पेश गरी दफावार छलफलका लागि लेखा समितिमा पठाउने व्यवस्था गरिनेछ।
2. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन, लेखा समिति कार्यसञ्चालन कार्यविधि तथा बेरुजु फर्स्योट कार्यविधि तर्जुमा, पेश र पारित गरी कार्यान्वयनमा ल्याइनेछ।
3. बेरुजु फर्स्योट प्रक्रियालाई प्रभावकारी बनाउन लेखा समिति, जनप्रतिनिधि तथा सम्बन्धित कर्मचारीहरुलाई आवश्यक अभिमुखीकरण, तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ।
4. प्रणालीलाई थप प्रभावकारी बनाउँदै आगामी वर्षहरुमा बेरुजु न्यून हुने आधार तयार गरिनेछ।
5. यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट विद्यमान बेरुजुको उल्लेख्य हिस्सा फर्स्योट हुने, वित्तीय अनुशासन कायम हुने, सार्वजनिक विश्वास अभिवृद्धि हुने तथा गाउँपालिकाको समग्र वित्तीय व्यवस्थापन प्रणाली थप सुदृढ र पारदर्शी बन्ने अपेक्षा गरिएको छ।
सार्वजनिक सेवा प्रवाह, सुशासन तथा संस्थागत विकास तर्फ
1. संविधान र कानूनबमोजिम गाउँसभा र कार्यपालिका अन्तर्गत रहने समितिहरुलाई कृयाशिल बनाइ समितिगत प्रणालीलाई संस्थागत गरिनेछ। “गाउँ सभासचिवालय स्थापना तथा सञ्चालन कार्यविधि” पारित गरी गाउँ सभा सचिवालयलाइ संस्थागत संचालन गरिनेछ ।
2. गाउँपालिकवाट प्रवाह हुने सेवालाइ जनमुखी तथा छिटो छरितो बनाउदै लगिनेछ ।
3. सेवाप्रवाहलाइ प्रभावकारी बनाउन डिजिटल प्रविधिको विकासलाइ जोड दिदै सवै वडमा सूचना प्रविधि कर्मचारीको व्यवस्था गरिनेछ ।
4. पालिकाले हालसम्म गरेका कार्यको जानकारीका लागि र नयाँ लगानीका अवसर खोज्न सहजता पुर्याउन डिजिटल प्रोफायल र पुस्तक प्रकाशन गरिनेछ ।
सार्वजनिक-निजी साझेदारी तर्फ
1. गाउँपालिकाको दिगो विकास, पूर्वाधार विस्तार, सेवा प्रवाह तथा आर्थिक समृद्धिका लागि सार्वजनिक–निजी साझेदारी (PPP) अवधारणालाई प्रभावकारी रूपमा अवलम्बन गर्दै निजी क्षेत्र, सहकारी संस्था तथा विकास साझेदारसँग सहकार्य गरिनेछ।
2. स्थानीय उद्यमशीलता, साना उद्योग, कृषि प्रशोधन केन्द्र तथा सेवा व्यवसायको विकासका लागि निजी क्षेत्रको लगानी आकर्षित गर्ने वातावरण निर्माण गरिनेछ।
3. PPP अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरूको पारदर्शिता, जवाफदेहिता र गुणस्तर सुनिश्चित गर्न स्पष्ट कार्यविधि, अनुगमन प्रणाली तथा सामाजिक परीक्षणलाई संस्थागत गरिनेछ।
समावेशीकरण तथा सामाजिक न्याय तर्फ
1. विकासका सबै क्षेत्र तथा आयामहरुमा महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला, विपन्न तथा अन्य सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनेछ।
2. लक्षित वर्गको आर्थिक, सामाजिक तथा नेतृत्व विकासका लागि सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन, स्वरोजगार, क्षमता विकास तथा आयआर्जनका कार्यक्रम सञ्चालन गरिनेछ।
3. गाउँपालिकाका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन प्रक्रियामा महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व र सहभागितालाई संस्थागत गरिनेछ।
4. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) लाई गाउँपालिकाका सबै नीति, योजना, बजेट तथा कार्यक्रमको अभिन्न पक्षका रूपमा अवलम्बन गर्दै लैङ्गिक उत्तरदायी तथा समावेशी बजेट प्रणालीलाई थप प्रभावकारी बनाइनेछ।
5. जातीय विभेद, लैङ्गिक हिंसा, छुवाछुत, बालविवाह, बालश्रम तथा सबै प्रकारका सामाजिक विभेद र कुरीतिविरुद्ध जनचेतना, कानुनी साक्षरता तथा सामुदायिक परिचालनका कार्यक्रम सञ्चालन गरिनेछ।
वातावरण संरक्षण तर्फ
1. गाउँपालिकालाई स्वच्छ, हरित, वातावरणमैत्री तथा जलवायु उत्थानशील स्थानीय तहका रूपमा विकास गर्न स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह, विद्यालय, युवा क्लब तथा सरोकारवालासँगको सहकार्यमा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछ।
2. खानेपानीका मुहान, पोखरी, सिमसार तथा जलाधार क्षेत्रहरूको संरक्षणलाई प्राथमिकता दिँदै मुहान संरक्षण, वृक्षारोपण, बाँस रोपण कार्यक्रम सञ्चालन गरिनेछ।
3. घरधुरीमै फोहोर वर्गीकरण गर्ने प्रणालीको विकास गर्दै जैविक फोहोरबाट प्राङ्गारिक मल उत्पादन तथा अजैविक फोहोरको पुनःप्रयोग र पुनर्चक्रणलाई प्रोत्साहन गरिनेछ।
4. विद्यालयहरूमा वातावरण संरक्षण, जैविक विविधता, जलवायु परिवर्तन तथा सरसफाइ सम्बन्धी व्यवहारिक सिकाइ र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
5. स्थानीय नदी, खोला तथा जलाधार क्षेत्रको संरक्षण, सरसफाइ तथा अवैध उत्खनन नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गरी नियमित अनुगमन तथा जनसहभागितामूलक अभियान सञ्चालन गरिनेछ।
6. जैविक कृषि, प्राङ्गारिक मल उत्पादन, जैविक विषादीको प्रयोग तथा रैथाने बाली एवं स्थानीय जैविक विविधताको संरक्षणलाई प्रोत्साहन गरी वातावरणमैत्री कृषि प्रणालीको विकास गरिनेछ।
7. प्रत्येक वडामा कम्तीमा एक नमुना हरित सार्वजनिक स्थल, उद्यान वा संरक्षण क्षेत्र विकास गर्न समुदायसँगको सहकार्यमा अभियान सञ्चालन गरिनेछ।
8. स्थानीय स्तरमा उपलब्ध बाँस, निगालो, अम्रिसो तथा अन्य बहुउपयोगी वनस्पतिको संरक्षण, विस्तार र उपयोगमार्फत भूक्षय नियन्त्रण, आयआर्जन तथा हरित अर्थतन्त्रको विकासलाई प्रोत्साहन गरिनेछ।

धन्यवाद !

दिपेन्द्र खनाल
गाउँपालिका अध्यक्ष

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार