माइजोगमाई गाउँपालिकाको बजेट ४५ करोड ७२ लाख, कृषि, पूर्वाधार र युवामा विशेष जोड

इलाम : इलामको माइजोगमाई गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४५ करोड ७२ लाख ८० हजार २९३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक प्रविना राईले २०औँ गाउँसभा अधिवेशनमा बजेट प्रस्तुत गर्दै कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता र सुशासनलाई प्राथमिकतामा राखिएको बताइन् ।

उपाध्यक्ष राईले सीमित स्रोतसाधनका बाबजुद स्थानीय आवश्यकता, नागरिकको अपेक्षा तथा दीगो विकासका लक्ष्यलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताइन् । आन्तरिक राजस्व वृद्धि, वित्तीय अनुशासन, सेवा प्रवाहमा गुणात्मक सुधार तथा नागरिकमैत्री शासन प्रणालीलाई आगामी वर्षको मुख्य लक्ष्य बनाइएको उनले उल्लेख गरिन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड ७२ लाख ८० हजार २९३ रुपैयाँ बराबरको आयव्यय अनुमान गरेको छ । यसमध्ये गाउँपालिकाको चालु तथा पुँजीगत बजेट २१ करोड ४२ लाख ८० हजार २९३ रुपैयाँ, संघीय सशर्त अनुदान २१ करोड ७७ लाख रुपैयाँ, प्रदेश सशर्त अनुदान ७० लाख रुपैयाँ, संघीय समपूरक अनुदान २० लाख रुपैयाँ, संघीय विशेष अनुदान ७७ लाख रुपैयाँ तथा प्रदेश समपूरक अनुदान ९० लाख रुपैयाँ रहेको छ ।

बजेटअनुसार सबैभन्दा बढी प्राथमिकता स्थानीय विकास योजनालाई दिइएको छ । गाउँपालिकास्तरीय योजनाका लागि ३ करोड २२ लाख रुपैयाँ तथा वडास्तरीय योजनाका लागि २ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको छ । वडा नं. १ र २ लाई ४७ लाख ५० हजार, वडा नं. ३ र ४ लाई ४५ लाख तथा वडा नं. ५ र ६ लाई ५१ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

कृषि तथा पशुपालन क्षेत्रलाई उत्पादनमुखी बनाउने उद्देश्यले कृषि शाखाका लागि ४० लाख रुपैयाँ र पशु सेवा शाखाका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा शाखाले ४० लाख रुपैयाँ, स्वास्थ्य शाखाले ४५ लाख रुपैयाँ, सामाजिक विकास शाखाले २३ लाख रुपैयाँ तथा न्यायिक समितिले १२ लाख रुपैयाँ बजेट पाउने भएका छन् ।

बजेटमा लक्षित वर्गको विकासका लागि २८ लाख रुपैयाँ, ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमका लागि १५ लाख रुपैयाँ, अपाङ्गता सम्बन्धी कार्यक्रमका लागि ९ लाख रुपैयाँ, जनता बिमा कार्यक्रमका लागि १५ लाख रुपैयाँ, खेलकुद विकासका लागि २२ लाख रुपैयाँ, दीर्घरोगी उपचार सहयोगका लागि ५ लाख रुपैयाँ तथा समपूरक कोषमा २ करोड रुपैयाँ विनियोजन गरिएको छ । विपद् व्यवस्थापन कोषका लागि १० लाख रुपैयाँ र अन्तरपालिका साझेदारी कार्यक्रमका लागि ५ लाख रुपैयाँ छुट्याइएको छ ।

उपाध्यक्ष राईले कृषि क्षेत्रको विकासमार्फत उत्पादनशील रोजगारी सिर्जना, सबै प्रकारका विभेद अन्त्य, लैङ्गिक समानता, सीप र उद्यमशीलताको विकास तथा सूचना प्रविधिमैत्री सेवा प्रवाहमार्फत सुशासन प्रवर्द्धनलाई बजेटको मुख्य उद्देश्य बनाइएको बताइन् ।

उनले बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन नियमित अनुगमन, वित्तीय अनुशासन र नागरिक सहभागितालाई विशेष महत्व दिइने उल्लेख गर्दै संघ, प्रदेश, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहयोगबाट गाउँपालिकाको समृद्धि हासिल हुने विश्वास व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार