
इलाम : इलामको सन्दकपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४५ करोड ५४ लाख ७९ हजार ५७१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष हरिबहादुर लुङ्गेलीले गाउँसभामा बजेट प्रस्तुत गर्दै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताए ।
बजेट प्रस्तुत गर्दै उपाध्यक्ष लुङ्गेलीले सीमित स्रोतसाधनका बाबजुद उत्पादन वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय सेवा प्रवाह र दिगो विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताए । गत वर्षको अविरल वर्षाका कारण भएको विपद्बाट प्रभावित नागरिकको पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणलाई समेत बजेटले विशेष प्राथमिकता दिएको उनले उल्लेख गरे ।
संघीय अनुदानमा बढी निर्भर बजेट
गाउँपालिकाको कुल आयमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ८ करोड ५८ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ८ करोड १२ लाख ७६ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ १९ करोड ३ लाख रुपैयाँ, समपूरक तथा विशेष अनुदान गरी १ करोड ८४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकारबाट समानीकरण, सशर्त, समपूरक तथा राजस्व बाँडफाँड गरी ४ करोड ७१ लाख ८२ हजार २९३ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक आयबाट १ करोड ७४ लाख १२ हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँडबाट ११ लाख रुपैयाँ, जनसहभागिताबाट १ करोड रुपैयाँ तथा बैंक मौज्दातबाट ४० लाख ९ हजार २७८ रुपैयाँ समेटिएको छ ।
सामाजिक विकासमा सबैभन्दा बढी बजेट
क्षेत्रगत रूपमा सामाजिक विकासलाई सबैभन्दा बढी २१ करोड २ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यसपछि सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड ४ लाख ५७ हजार रुपैयाँ, पूर्वाधार विकासमा ६ करोड ९ लाख रुपैयाँ, आर्थिक विकासमा ५ करोड ५४ लाख ८० हजार ५७१ रुपैयाँ तथा वन, वातावरण तथा विपद् व्यवस्थापनमा ८४ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
कृषि र पर्यटनमा विशेष जोड
गाउँपालिकाले कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्यसहित ‘एक वडा–एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ छुट्याएको छ ।
फलफूल तथा तरकारीको ब्रान्डिङ र प्याकेजिङ, किसानसँग लागत साझेदारीका कार्यक्रम, खोरेत तथा लम्पी रोग नियन्त्रण, छुर्पी र चौँरी/याक प्रवर्द्धनलाई निरन्तरता दिइएको छ ।
पर्यटनतर्फ निर्माणाधीन फाल्गुनन्द पदमार्ग सम्पन्न गर्न २ करोड ५६ लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ। सोही पदमार्गमा फाल्गुनन्द ट्रेल रेस र सांस्कृतिक महोत्सव आयोजना गरिनेछ। नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रेडपाण्डा महोत्सवलाई निरन्तरता दिइएको छ ।
स्थानीय स्वाद घर सञ्चालन तथा पर्यटन प्रवर्द्धनका अन्य कार्यक्रमका लागि ११ लाख रुपैयाँ तथा गाउँपालिकामा पाइने चराको अध्ययन तथा अनुसन्धानका लागि २ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
शिक्षा र स्वास्थ्यमा नयाँ कार्यक्रम
शिक्षा क्षेत्रमा शिक्षक, प्रधानाध्यापक तथा बालविकास सहजकर्ताको क्षमता विकासका लागि ७ लाख रुपैयाँ विनियोजन गरिएको छ। उत्कृष्ट विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालयलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
प्रदेश सरकारसँगको साझेदारीमा माध्यमिक विद्यालयमा आवासीय छात्रावास सञ्चालनका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स खरिद तथा सञ्चालन, २४ घण्टे प्रसूति केन्द्रका स्वास्थ्यकर्मी र स्वयंसेविकालाई प्रोत्साहन, महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ तथा वडा नम्बर ३ लाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्न १ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
आयुर्वेद सेवा अन्तर्गत नागरिक आरोग्य कार्यक्रमका लागि औषधि खरिद गर्न ८ लाख २० हजार रुपैयाँ छुट्याइएको छ ।
खानेपानी र पूर्वाधारमा उल्लेख्य लगानी
सन्दकपुर-३ को दीर्घकालीन खानेपानी समस्या समाधान गर्न मलातेनी-सन्दकपुर-सुलुवुङ खानेपानी आयोजनाका लागि ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पूर्वाधारतर्फ नेपाल सरकारसँगको लागत साझेदारीमा निर्माणाधीन चाँपगैरी–छाँगे–आलुवारी–विखेभञ्ज्याङ सडकका लागि १ करोड ५० लाख रुपैयाँ तथा प्रदेश सरकारसँगको साझेदारीमा कृष्णभिर-जमुना-जौबारी र देउराली-माइपाताल-जितपाले सडकका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
जमुना स्वास्थ्य चौकी भवन निर्माणका लागि २० लाख रुपैयाँ, माइपोखरी-देउराली सडकका लागि २० लाख रुपैयाँ, सडक गुरुयोजना निर्माण, विपद्बाट क्षतिग्रस्त सडक मर्मत तथा इन्टरनेट सेवा विस्तारका कार्यक्रम पनि बजेटमा समावेश छन् ।
विपद् व्यवस्थापन र सुशासनमा प्राथमिकता
विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ राखिएको छ। आवास बीमा कार्यक्रम सञ्चालनका लागि २ लाख रुपैयाँ तथा विपद् प्रभावित परिवारलाई जग्गा व्यवस्थापन गर्न ७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सुशासनतर्फ जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास, बजार अनुगमन, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, डिजिटल वडापत्र प्रणाली, एकीकृत घुम्ती सेवा तथा मेलमिलापकर्ताको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
उपाध्यक्ष लुङ्गेलीले प्रस्तुत बजेट प्रभावकारी, पारदर्शी र नतिजामुखी ढंगले कार्यान्वयन गरिने बताउँदै संघ, प्रदेश, विकास साझेदार, निजी क्षेत्र, सञ्चार जगत र स्थानीयवासीको सहयोगबाट गाउँपालिकाको समृद्धि र नागरिकको जीवनस्तरमा गुणात्मक सुधार आउने विश्वास व्यक्त गरेका छन् ।














































