सन्दकपुरको नीति तथा कार्यक्रम : पर्यटन, कृषि र गुणस्तरीय सेवामा जोड, ‘कोशीकै उत्कृष्ट पर्यटकीय गाउँपालिका’ बनाउने लक्ष्य

इलाम : इलामको सन्दकपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन र रोजगारीलाई उच्च प्राथमिकतामा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले गाउँसभाको अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सन्दकपुरलाई ‘कोशी प्रदेशकै उत्कृष्ट पर्यटकीय गाउँपालिका’ बनाउने दीर्घकालीन लक्ष्यका साथ आगामी वर्षका कार्यक्रम अघि सारिएको जानकारी दिए।

गाउँपालिकाले ‘भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा प्रशासनिक पूर्वाधार, सबल, सक्षम, उत्कृष्ट व्यवस्थापन सन्दकपुर गाउँपालिका समृद्धिका आधार’ भन्ने सोचलाई आधार बनाएर नीति तथा कार्यक्रम तयार गरेको जनाएको छ ।

पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार

नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि सारिएको छ । रामसार सूचीमा सूचीकृत माइपोखरीदेखि विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविरसम्म ट्रेकिङ मार्ग निर्माण तथा विस्तारका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गरिने उल्लेख गरिएको छ ।

माइपोखरी–सन्दकपुर फाल्गुनन्द पदमार्ग सम्पन्न गरी फाल्गुनन्द ट्रेल रेस सञ्चालन गरिने, रेडपाण्डा महोत्सवलाई निरन्तरता दिइने, स्थानीय परिकारको प्रवर्द्धनका लागि ‘एक स्थानीय तह, एक रैथाने स्वाद घर’ अवधारणा कार्यान्वयन गरिने तथा पर्यटन सूचना केन्द्र स्थापना गरिने नीति लिइएको छ ।

त्यसैगरी सन्दकपुरलाई हिल स्टेसन तथा पर्यटकीय पालिका घोषणा गराउन संघ तथा प्रदेश सरकारसँग समन्वय गरिने उल्लेख छ ।

कृषि र पशुपालनमा व्यावसायिकीकरण

कृषि क्षेत्रमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरिने भएको छ। अलैँची उत्पादन वृद्धि गरी सन्दकपुरलाई अलैँची जोन घोषणा गर्ने लक्ष्य राखिएको छ ।

कृषि खरिदबिक्री केन्द्र स्थापना, ५० प्रतिशत लागत साझेदारीमा कृषि औजार वितरण, माटो परीक्षण सेवा विस्तार, जैविक खेती प्रवर्द्धन, स्थानीय उत्पादनको ब्रान्डिङ र प्याकेजिङ गरी बजारीकरण गर्ने कार्यक्रम समावेश गरिएको छ ।

पशुपालनतर्फ कृत्रिम गर्भाधान कार्यक्रम, डेरी उद्योगसँग सहकार्यमा छुर्पी प्रवर्द्धन, खोरेत रोग नियन्त्रण अभियान, पशु खोप कार्यक्रम तथा चौँरी पालन प्रवर्द्धनलाई निरन्तरता दिइने भएको छ ।

शिक्षा सुधारका महत्वाकांक्षी योजना

गाउँपालिकाले ‘एक पालिका, एक नमुना आवासीय विद्यालय’ स्थापना गर्ने घोषणा गरेको छ ।

प्रारम्भिक बालविकासदेखि माध्यमिक तहसम्म गुणस्तरीय, प्रविधिमैत्री, सीपमूलक र प्रयोगात्मक शिक्षामा जोड दिइएको छ । शिक्षकसँग कार्यसम्पादन सम्झौता, स्वयंसेवक शिक्षक व्यवस्था, विद्यालय कर्मचारीलाई थप पारिश्रमिक, आइसिटी विस्तार, अतिरिक्त कक्षा सञ्चालन तथा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई पुरस्कार दिने कार्यक्रम समावेश गरिएको छ ।

विद्यार्थी संख्या कम भएका विद्यालयको नक्साङ्कन गरी आवश्यक समायोजन तथा स्थानीय भाषा, संस्कृति र इतिहासलाई स्थानीय पाठ्यक्रममा समावेश गरिने नीति पनि ल्याइएको छ ।

स्वास्थ्य सेवामा नयाँ कार्यक्रम

स्वास्थ्य क्षेत्रमा ‘जनप्रतिनिधि प्रतिबद्धता कार्यान्वयन कार्यक्रम’ अन्तर्गत गर्भवती, सुत्केरी, अशक्त तथा ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन एम्बुलेन्स खरिद गरी सेवा सञ्चालन गरिने भएको छ ।

घरदैलो स्वास्थ्य सेवा, बर्थिङ सेन्टर सुदृढीकरण, प्रयोगशाला सेवा विस्तार, मानसिक स्वास्थ्य कार्यक्रम, स्वास्थ्य बीमा प्रभावकारी बनाउने तथा अति विपन्न अपाङ्गता भएका परिवारको स्वास्थ्य बीमामा गाउँपालिकाले ५० प्रतिशत योगदान गर्ने नीति लिइएको छ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई दिइँदै आएको मासिक प्रोत्साहनलाई निरन्तरता दिइनेछ ।

रोजगारी र उद्यमशीलतामा विशेष प्राथमिकता

युवालाई उद्यमशील बनाउन प्रतिस्पर्धात्मक अनुदान, सहुलियतपूर्ण कर्जा, सीप विकास तालिम, वित्तीय साक्षरता, सुरक्षित वैदेशिक रोजगारी तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाको पुनःएकीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

पूर्वाधार विस्तारमा जोड

गाउँपालिकाले सबै मौसममा सञ्चालन हुने सडक सञ्जाल निर्माणलाई प्राथमिकतामा राखेको छ । प्रमुख सडक कालोपत्रे, कंक्रिट ढलान, नाली निर्माण, मोटरेबल पुल, झोलुङ्गे पुल, खानेपानी आयोजना, सिँचाइ विस्तार तथा डिजिटल गाउँपालिका निर्माणलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।

बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्य

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ आगामी आर्थिक वर्षभित्र सन्दकपुरलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, आदिवासी जनजाति तथा लक्षित वर्गका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

सुशासन र प्रविधिमैत्री सेवा

गाउँपालिकाको सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन वन स्टप सर्भिस, घुम्ती सेवा, ईहाजिरी, सिसीटिभी, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा विद्युतीय शासनलाई प्रभावकारी बनाइने भएको छ ।

सूचना तथा सञ्चार क्षेत्रमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता, स्थानीय पत्रकारलाई प्रोत्साहन, सञ्चारकर्मीको क्षमता अभिवृद्धि तथा साइबर सुरक्षा सुदृढ गर्ने नीति पनि समेटिएको छ ।

संस्कृति संरक्षण र राजस्व सुधार

स्थानीय भाषा, कला, संस्कृति, साहित्य, जात्रा तथा सम्पदाको अभिलेखीकरण, संरक्षण र प्रवर्द्धन गरिने भएको छ । साथै आन्तरिक राजस्वको दायरा विस्तार, कर प्रशासनलाई प्रविधिमैत्री बनाउने, बेरुजु न्यूनीकरण र वित्तीय अनुशासनलाई प्रभावकारी बनाउने नीति सार्वजनिक गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले सीमित स्रोतसाधनका बाबजुद जनताको अपेक्षालाई क्रमशः पूरा गर्दै पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनका क्षेत्रमा परिणाममुखी विकासलाई प्राथमिकता दिइने बताए । उनले संघ, प्रदेश, विकास साझेदार तथा स्थानीय समुदायसँगको सहकार्यबाट नीति तथा कार्यक्रम सफल कार्यान्वयन गरिने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार