
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले किरात राई समुदायको सभ्यता, संस्कृति, भाषा र मुन्दुमको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले पहिलोपटक मुन्दुम पाठशाला स्थापना गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष हेमन्त राईले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा उक्त योजना समावेश गर्दै किरात समुदायको मौलिक ज्ञान, दर्शन, संस्कार र परम्परालाई व्यवस्थित रूपमा नयाँ पुस्तासम्म हस्तान्तरण गर्न पाठशाला सञ्चालन गर्ने घोषणा गरेको हो ।
पाठशालामार्फत किरात मुन्दुम, संस्कार, सांस्कृतिक अभ्यास, मातृभाषा, लोककला तथा परम्परागत ज्ञानका विषयमा अध्ययनअध्यापन गराइने अध्यक्ष राईले बताए । यसले किरात समुदायको मौलिक पहिचान संरक्षण गर्न तथा युवापुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
मुन्दुम स्थापनाले किरात राईहरुको आधुनिकता र विश्वव्यापीकरणका कारण लोपोन्मुख बन्दै गएका मौलिक ज्ञान, संस्कृति र परम्पराको संरक्षणमा यसले टेवा पुर्याउने विश्वास छ । माङसेबुङ गाउँपालिका किरात धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको क्षेत्रका रूपमा परिचित छ ।
















































