माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित (पूर्ण पाठसहित)

  नयाँ बुलन्द
91 Shares

माङसेबुङ गाउँपालिकाको गाउँसभाको १८ औँ अधिवेशनको पहिलो बैठकमा मिति २०८३ असार १० गते अध्यक्ष हेमन्त राईले पेश गर्नुभएको आ. व.२०८३/०८४ को वार्षिक नीति  तथा कार्यक्रम

गाउँसभाका सदस्यज्यूहरु

  • आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम स्थानीय सरकारको तर्फबाट यस सम्मानित सभामा प्रस्तुत गर्न पाउँदा खुसी महसुस गरेको छु ।
  • मुलुकमा संघीय लोकतन्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनाका लागि विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै आन्दोलनको क्रममा अंगभंग तथा बेपत्ता भएकाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । राष्ट्रियता र स्वधीनताको रक्षा गर्दै न्यायपूर्ण समाज निर्माण र समृद्धिको मार्गमा एकताबद्ध रहेका महान नेपाली नागरिक र राजनीतिक नेतृत्वप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु ।

गाउँसभाका सदस्यज्यूहरु

  • अब म आर्थिक वर्ष २०८३/८४ मा रोजगारी सृजना, सीप विकास, कृषिको व्यवसायीकरण, पूर्वाधारको स्तरोन्नती, सेवा प्रवाहमा सुधार हुने अपेक्षा गर्दै क्षेत्रगत नीति तथा कार्यक्रम पेश गर्न अनुमति चाहन्छु ।

सामाजिक विकास

 शिक्षा

  • सामूदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा बाल विकास कक्षामा कार्यरत सहयोगी कार्यकर्ताहरुलाई विगतवर्षदेखि प्रदान गरिंदै आएका सेवा सुविधामा निरन्तरता दिदैँ सेवा सुवीधा थप गरिनेछ ।
  • मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदान, कम्प्युटर प्रशिक्षक स्यमसेवक अनुदान कार्यक्रमलाई निरन्तरता दिइने छ । लिम्बू भाषा शिक्षक, राई बान्तवा भाषा शिक्षक र कम्प्युटर शिक्षकहरुलाई पोशाक भत्ताको व्यवस्था गरिनेछ साथै न्यूनतम तलबमान कायम गरिनेछ ।
  • गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न माध्यमिक विद्यालय शिक्षक दरबन्दी प्राप्त नभएका विद्यालयहरुमा गणित, विज्ञान र अंग्रेजी शिक्षक अनुदान कार्यक्रमलाई निरन्तरता दिइने छ ।
  • सामुदायिक विद्यालय तथा धार्मिक वा वैकल्पिक विद्यालयहरुमा पठन पाठन हुने मातृभाषाको पाठ्यक्रम र पाठ्य पुस्तक तथा स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तक निर्माणलाई निरन्तरता दिंदै सोको उपलब्धतालाई सहज बनाइनेछ साथै निर्माण भएको स्थानीय पाठ्य पुस्तक सबै विद्यालयहरुलाई उपलब्ध गराइने छ ।
  • सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न, विद्यालयमा विद्यार्थी टिकाइ राख्न र विद्यालय बीचैमा छाड्ने विद्यार्थी दरलाई कम गर्न आधारभूत तहमा बालबालिका कक्षा ५ सम्म दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • विद्यालयका छात्राहरुलाई नि:शुल्क उपलब्ध गराइने स्यानीटरी प्याड वितरण कार्यलाई निरन्तरता दिइनेछ ।
  • विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण, पुस्तकालय व्यवस्थापन, शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोग र विज्ञान प्रयोगशाला स्थापना गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • एक गाउँपालिका, एक प्राविधिक धार विद्यालय संचालनमा आवश्यक सहयोग गरिनेछ ।
  • सबै माध्यमिक विद्यालयमा स्काउट विस्तार गरीनेछ साथै स्काउट सयोग कार्यक्रम समेत गरिनेछ ।
  • प्राविधिक अध्ययन छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ । कक्षा आठको नतिजा सुधार कार्यक्रम कार्यन्वयन गरिनेछ । आधारभूत तह कक्षा पाँच र कक्षा आठको गाउँपालिका स्तरीय परिक्षाका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।
  • माध्यमिक विद्यालय परीक्षा (SEE) लाई अझ व्यवस्थित, प्रभावकारी र नतिजा उन्मुख बनाउन SEE सहयोग कार्यक्रमलाई निरन्तरता दिन श्रोतको व्यवस्था गरिनेछ । साथै आधारभुत तह कक्षा ५ र कक्षा ८ को परीक्षा गाउँपालिका स्तरीय गर्न आवश्यक बजेटको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
  • सामुदायिक विद्यालयमा विद्यार्थीहरुले प्राप्त गरेका सिकाई उपलब्धिका आधारमा शिक्षक, नतिजाका आधारमा विद्यालय तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कार र प्रोत्साहन गरिनेछ ।
  • शिक्षकहरुका लागि आवश्यकतामा आधारित तालिम कार्यक्रम कार्यन्वयन गरिनेछ ।
  • विद्यालय अनुगमन सुपरीवेक्षण तथा पेशागत सहयोग कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गरिनेछ ।
  • सामुदायिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकबीच सुमधुर सम्बन्ध बनाउन सरोकारवालाहरुबीच छलफल, अन्तरकृया, गोष्ठी जस्ता अभिभावक शिक्षा कार्यक्रमहरु सबै वडाहरुमा संचालन गरिनेछ ।
  • सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका प्रतिभा पहिचान तथा विकासका लागि प्रतियोगिता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • विद्यालय तहको खेलकूद विकासको लागि राष्ट्रपति रनिङ शिल्ड कार्यक्रमका लागि बजेटको व्यवस्था गरिनेछ ।
  • राई बान्तवा भाषाको पाठ्यपुस्तक निर्माण गरी बान्तवा राईको बाहुल्य रहेका विद्यालयहरुमा पठनपाठन सुरु गरी शिक्षक दरबन्दीको व्यवस्था गरिंदै लगिने छ ।
  • गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयका बालविकास कक्षाहरुलाई व्यवस्थित गर्न उचित बजेटको व्यवस्था गरिनेछ । साथै बालबिकास कक्षाहरुमा स्मार्ट टि.भि वितरण गरिनेछ ।
  • अभिभावक शिक्षा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • विद्यार्थी संख्याको आधारमा  विद्यालयमा  शिक्षक दरबन्दी मिलान गर्दै लगिने छ ।
  • सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि सहयोग कार्यक्रम तथा संचालनमा नरहेका कम्प्युटर, डेक्सटप तथा प्रिन्टर मर्मत का लागि बजेटको व्यवस्था गरिनेछ ।
  • सामुदायिक विद्यालयहरुमा आवश्यक्ता अनुसार फर्निचर व्यवस्थापन कार्यक्रम गरिनेछ ।
  • पालिका भित्रका सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिनेछ ।
  • माङसेबुङ गाउँपालिकामा बालमैत्री स्थान शासन अवलम्बन गरिनेछ ।

ख) स्वास्थ्य

  • “सबैलाई सुलभ स्वास्थ्य सेवा” भन्ने मुल लक्ष्यका साथ गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार तथा माङसेबुङ-३ मनिपुरमा जग्गा प्राप्ति भई अस्पताल निर्माण कार्यसमेत भईरहेकोले सञ्चालनका लागि प्रक्रिया अघि बढाइनेछ ।
  • संचालन भईरहेका स्वास्थ्य चौकीहरु र सामुदायिक स्वास्थ्य इकाइहरुलाई व्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्दै लगिनेछ ।
  • सामुदायिक स्वास्थ्य इकाइ र स्वास्थ्य चौकीहरुमा कार्यरत करार कर्मचारीहरुको पारिश्रमिक सुविधालाई गाउँपालिकामा उपलब्ध श्रोत साधन समेतका आधारमा निरन्तरता दिइने छ ।
  • गाउँपालिकाको हरेक वडाका टोल तथा बस्तीहरुमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँपालिकाले उपलब्ध गराएको प्रोत्साहन भत्ताको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • स्वास्थ्य संस्थाहरुको संस्थागत क्षमता वृद्धि गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भईरहेको अपांगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • माङसेबुङ गाउँपालिकाभित्र रहेका सबै बर्थिङ सेन्टरहरुलार्इ सवलीकरण गरिनेछ ।
  • गाउँपालिकाभित्रका गर्भवती महिलाहरुको ज्यान जोखिममा पर्न नदिन साथै नवजात शिशु तथा आमाको सुरक्षाका लागि गर्भवती महिलालाई स्रोत, साधन र सुविधासम्पन्न अस्पतालसम्म पुर्याउन गाउँपालिकाले उपलब्ध गराइरहेको नि:शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ ।
  • ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिप्रति श्रद्धा, आदर, सम्मान तथा सद्भावको अभिवृद्धि गर्नको लागि गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्ति बिरामी भर्इ अस्पताल जानुपर्ने अवस्था भएमा गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ ।
  • नवजात शिशु र आमाको पोषणका लागि सुनौलो हजार दिन कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
  • स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाइँदै लगिने छ ।
  • आत्मानन्द स्वास्थ्य केन्द्र, माङसेबुङ–३, इलाममा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन मेडिकल अफिसर (MBBS Doctor) को व्यवस्था गरिनेछ।
  • स्वास्थ्य संस्थाहरुमा रिक्त रहेको दरबन्दीहरुमा पदपूर्ति गरिनेछ ।
  • गाउँपालिकाभित्र बसोबास गर्ने मृत्यू भएका व्यक्तिका परिवारलाई दाहसंस्कार गर्न आवश्यक बजेटको व्यवस्था गरिने छ ।
  • गाउँपालिकाले उपलब्ध गराउँदै आएको एम्बुलेन्स सेवाको भाडा दरमा समयानुकूल समायोजन गरिने छ ।

ग) खानेपानी तथा सरसफाई

  • खानेपानी योजनाहरुको संचालन र मर्मत संभार गर्दै जनतालाई स्वच्छ, सफा, गुणस्तरीय र दिगो रुपमा खानेपानी उपलब्ध गराउने साथै सरसफाईको उचित व्यवस्था मिलाउने कार्यलाई निरन्तरता दिइनेछ ।
  • खानेपानीको स्रोत पहिचान गरी स्वच्छ र शुद्ध खानेपानीको परिपूर्तिको लागि तत्कालिन र दीर्घकालीन योजना निर्माण गरी एक घर एक धाराको अवधारणा कार्यान्वयन गर्न पहल गरिनेछ ।
  • खानेपानीको स्रोत नभएको ठाउँमा स्रोतको सम्भाव्यता अध्ययन गरी वैकल्पिक उर्जालाई प्रयोग गरी सौर्य लिफ्टिङ खानेपानी आयोजना संचालन गरिनेछ ।
  • सुक्खाग्रस्त क्षेत्र महाभारा डाँडा आसपासमा रहेको माङमालुङ बजार लगायतका क्षेत्रहरुमा स्वच्छ खानेपानीको प्रबन्ध गरिनेछ ।

(घ) कला, भाषा तथा संस्कृति प्रवर्द्धन

१. हरेक वर्ष जेठ १२ गते लाई लिम्बु भाषा सरकारी कामकाजी भाषा घोषणा दिवस का रूपमा मनाई लिम्बु भाषाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा सरकारी कामकाजमा यसको प्रभावकारी प्रयोगका लागि विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ।

२. माङसेबुङ गाउँपालिकाभित्र मातृभाषाहरुको संरक्षण र प्रवर्द्धन गर्ने कार्य गरिनेछ ।

३. लिम्बू भाषालाई ‘सरकारी कामकाजी भाषा’ घोषणा गरिसकिएको अवस्थामा यसलाई अझ व्यवस्थित गर्न बजेटको व्यवस्था गरिनेछ ।

४. गाउँपालिकामा ३७ प्रतिशत किरात राई जातीको बसोबास रहेको कुरालाई मध्यनजर गर्दै गाउँपालिकामा बान्तावा भाषालार्इ समेत ‘सरकारी कामकाजी भाषा’ घोषणा गरिनेछ । जसका लागि गाउँपालिकामा एक जना बान्तवा भाषिक कर्मचारी नियुक्ति गरी कार्य कार्य सञ्चालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

५. गाउँपालिकामा रहेका सम्पूर्ण जात जातिको भाषा, धर्म, लिपि र संस्कृतिलाई समान रुपमा संरक्षण, सम्बर्द्धन र विकास गर्ने नीति अवलम्बन गरिनेछ । धार्मिक समुदायहरुको विशेष स्थान मठ मन्दिर,  माङहिम, माङखिम, गुम्बा, चर्च,  सेमीचोङ आदि संरक्षणलाई प्राथमिकता दिइनेछ । सामूहिक चुलाखिम, गाउँपालिकास्तरीय माङखिम,  साकेला थान निर्माण गरी संरक्षण गर्ने नीति लिइनेछ ।

६. यस गाउँपालिकामा जन्म लिई समाजमा विशेष योगदान गर्नुहुने राष्ट्रिय व्यक्तित्व तथा १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दज्यूको नाममा बृहत साँस्कृतिक फाल्गुनन्द पार्कको लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेकोमा सो पार्क निर्माण कार्यलार्इ तीब्रता दिइनेछ । हरेक वर्षको कार्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाइँदै आइएकोमा सो दिवसलाई अहिंसा दिवसका समेत जोडेर मनाउने ।

७. लोपोन्मुख मौलिक बाजा, साँस्कृतिक मौलिक बाजा लगायत विभिन्न मौलिक भाषा तथा संस्कृति संरक्षणको लागि आवश्यक पहल गरिनेछ ।

८. भाषा, संस्कार, संस्कृति, साहित्य र कलाको विकास गर्नका लागि गाउँपालिकास्तरीय ‘माङसेबुङ प्रज्ञा प्रतिष्ठान’ गठन गरिनेछ । साथै प्रतिष्ठानको आयोजनामा बहुभाषिक साहित्यिक गोष्ठी तथा सम्मान कार्यक्रमहरु सञ्चालन गरिनेछ । जसका लागि बजेटको व्यवस्था गरिनेछ ।

९.  एक वडा साकेला थान स्थापना गर्ने उद्देश्यका साथ आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।

१०. घाट तथा समाधिस्थलहरुलाई व्यवस्थित गर्दै लगिनेछ ।

११. किरात राई मुन्दुम पाठशाला सञ्चालन तथा व्यवस्थापनको प्रवन्ध गरिनेछ।

१२. माङसेबुङ गाउँपालिका–३, भञ्ज्याङमा निर्माणाधीन राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको विश्वकै सबैभन्दा अग्लो सालिक निर्माण कार्यलाई प्राथमिकतासाथ सम्पन्न गरिनेछ ।

१३. माङसेबुङ गाउँपालिका–१ स्थित किरात याक्थुङ चुम्लुङ पार्कको आवश्यक पूर्वाधार निर्माण, संरक्षण तथा विकासका कार्यहरू क्रमिक रूपमा अगाडि बढाइनेछ।

(ड) खेलकुद,  युवा तथा रोजगारी

  • युवाहरुले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्न युवाहरुलाई सीपमूलक तालिम प्रदान गरिनेछ ।
  • राष्ट्रिय युवा नीतिका आधारमा स्थानीय कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
  • डोलटार खेलमैदानलाई गाउँपालिका स्तरीय खेलमैदानको रुपमा स्तरोन्नती गर्दै लगिनेछ साथै गाउँपालिकाका हरेक वडाहरुमा सम्भाव्यताको आधारमा राष्ट्रिय मापदण्डयुक्त ‘एक वडा एक खेलमैदान’ निर्माण गर्ने नीति लिइनेछ ।
  • खेलाडी उत्पादन तथा खेलाडीको खेल क्षमताको स्तरोन्नतीको लागि नियमित प्रतियोगिताहरु संचालन गर्ने व्यवस्था मिलाईने छ ।
  • खेलकुद विकासको लागि गठन गरिएको गाउँपालिकास्तरीय माङसेबुङ युवा तथा खेलकुद विकास समितिलाई प्रभावकारी बनाइने छ ।
  • सेइङ आत्मानन्द लिङदेनज्युको जन्मोत्सव र सेइङ पवित्रहाङमा साम्बा लिङदेनज्यूको जन्मोत्सवको अवसरमा संचालन हुने गोल्ड कपका लागि सहयोग गर्ने कार्यलार्इ निरन्तरता दिइनेछ ।
  • अध्यक्ष कप खेलकुद कार्यक्रम सन्चालन गरिनेछ ।
  • विभिन्न खेलकूद प्रतियोगिता संचालनको लागि सम्भाव्यताको आधारमा मापदण्डयुक्त खेलमैदान, कभर्डहल, रंगशाला लगायतमा आवश्यक भौतिक पूर्वाधारको निर्माण र सुव्यवस्थित संचालनका लागि प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल गरिनेछ ।
  • रोजगार सृजना गर्न युवालाई लक्षित गरी व्यवसायिक, सीपमुलक, रोजगारमुलक तालिम तथा कार्यक्रमहरु संचालन गरिनेछ ।
  • गाउँपालिकाका सबै वडाहरुमा युवा क्लबको गठन गरी विपद व्यवस्थापन तथा स्वयंसेवकीय कार्य र सामाजिक जागरणका अभियानहरुमा युवा परिचालन गरिनेछ ।
  • वैदेशिक रोजगारीबाट फर्केका र अन्य बेरोजगार युवाहरुलाई उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम प्रदान गरी सहुलियतपूर्ण कर्जा प्राप्तिका लागि सहजीकरण गर्दै स्वरोजगार र रोजगारीका थप अवसरहरुको सृजना गरिनेछ ।
  • युवा सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयनका सन्दर्भमा राष्ट्रिय युवा परिषद र प्रदेश सरकारसँग आवश्यक समन्वय गरिनेछ ।
  • गाउँपालिकाद्वारा संचालित वडास्तरीय महिला तथा पुरूष फुटबल प्रतियोगितालार्इ निरन्तरता दिइनेछ । साथै कराते, ब्याडमिन्टन, भलिबल, बुद्धिचाल खेललार्इ पनि समावेश गरी खेलकूद कार्यक्रम सञ्चालन गरिनेछ ।

 च) लक्षित समुह

  • आदिवासी जनजातिको उत्थान तथा विकासको लागि गाउँपालिकास्तरीय आदिवासी जनजाति समन्वय समितिलार्इ पूर्णता दिइनेछ ।
  • आदिवासी जनजातिको ऐतिहासिक थात्थलोमा प्राकृतिक स्रोत र साधनमा आश्रित आदिवासी जनजातिको उपभोग अधिकार, कानुनी सुरक्षा, प्राकृतिक स्रोतको दोहन गर्नुअघि पूर्व सहमति र लाभको न्यायोचित बाँडफाँडको हकलाई सुरक्षित गरिनेछ ।
  • आदिवासी जनजातिको जीवनस्तर उकास्नका लागि सीपमूलक तालिम तथा कृषि सम्बन्धी नयाँ प्रविधिको अनुदान कार्यक्रम संचालन गरिनेछ । साथै आदिवासी जनजातिहरुको संस्कार सँस्कृतिको विषयमा समेत आवश्यक कार्यक्रमहरु ल्याइनेछ ।
  • महिलाको उत्थान तथा विकासको लागि माङसेबुङ गाउँपालिकास्तरीय महिला समन्वय समिति गठन गरिएको छ । सो गाउँपालिकास्तरीय महिला समन्वय समितिबाट महिलाको अधिकार र विकास सम्बन्धी नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गरिनेछ ।
  • दलित सामुदायको उत्थान र विकासको लागि गाउँपालिकास्तरीय दलित समन्वय समिति गठन गरिनेछ । सो समितिले प्रचलित कानुनको अधीनमा रही दलित सामुदायको अधिकार र विकास सम्बन्धी नीति तथा कार्यक्रम सामाजिक समवेशिताको आधारमा तयार गरी लागू गर्नेछ ।
  • अपाङ्गता सम्बन्धी संस्थागत क्षमता विकास, शारीरिक पुनःस्थापना, स्वास्थ्य शिविर, बौद्धिक अपांगता सशक्तीकरण, अपांगता पुनःस्र्थापना केन्द्र संचालन गर्ने कार्यलाई प्राथमिकता दिईनेछ ।
  • अपांगता भएका वर्गका लागि आर्थिक सशक्तीकरणका कार्यक्रमहरु संचालन गरिनेछ ।
  • गाउँपालिकाबाट अपांगता परिचयपत्र सरल र सहज ढंगबाट उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता दिईनेछ ।
  • अपांगता भएका व्यक्तिहरुको आवश्यकता पहिचान गरी सहायक सामाग्रीहरु वितरण गरिनेछ ।
  • बाल क्लब र बाल संजाललाई सशक्त बनाई बालबालिकाहरुको हकहित र अधिकारको संरक्षण र प्रवर्द्धन हुने कार्यक्रम संचालन गरिनेछ ।
  • जोखिममा परेका ज्येष्ठ नागरिकहरुलाई लक्ष्यित गरी विशेष कार्यक्रम संचालन गर्ने नीति अवलम्बन गरिनेछ ।
  • सरकारी, गैरसरकारी, सहकारी, निजी तथा स्थानीय संघ संस्थाहरुको समन्वय र सहकार्यमा ज्येष्ठ नागरिक स्वास्थ्य सुरक्षा राहत कोष स्थापना गर्न पहल गरिनेछ ।
  • गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईहरुबाट हुने सार्वजनिक सेवा प्रवाहमा ज्येष्ठ नागरिकहरुलाई अग्राधिकार दिने र निजी क्षेत्रलाई समेत यसमा प्रोत्साहन गर्ने व्यवस्था अवलम्बन गरिनेछ ।
  • लक्षित समुहहरुको मागमा आधारित कार्यक्रम संचालन गर्न साथै उल्लेखित कार्यहरुका लागि आवश्यक बजेटको व्यवस्था गरिने छ ।
  • माङसेबुङ जेष्ठ नागरिक समन्वय समिति मार्फत जेष्ठ नागरिक लक्षित कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • एकल महिलाहरुको जीवनयापन सुढृडीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
  • माङसेबुङ गाउँपालिकाभित्र रहेका सबै अपाङ्गता भएका व्यक्तिहरूलाई सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले बीमावापतको भुक्तानी गरिने रकम पालिकाले व्यहोर्ने गरी “एक अपाङ्गता भएका व्यक्ति, एक घरपरिवार स्वास्थ्य बीमा” कार्यक्रम कार्यान्वयन गरिनेछ ।

छ) सामाजिक सुरक्षा तथा संरक्षण

  • वैदेशिक रोजगारीबाट फर्किएका तथा बेरोजगारमा सूचीकृत युवाहरुलाई लक्षित गरी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम आयोजना संचालन गरिनेछ ।
  • सुरक्षित आप्रावासन कार्यक्रम अन्तर्गत मनोसामाजिक परामर्श, वित्तीय साक्षरता कार्यक्रम संचालन गरिनेछ । यस कार्यक्रमका लागि प्राप्त हुने संघीय सशर्त अनुदानमा गाउँपालिकाले आवश्यक रकम थप गर्नेछ ।
  • सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गतका कार्यक्रमहरु संचालनका लागि संघीय शसर्त अनुदानमा आवश्यक रकम प्राप्त हुनेछ ।
  • नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनहरूमा योगदान पुर्‍याउनुहुने शहीद परिवार, घाइते, अपाङ्गता भएका व्यक्ति तथा बेपत्ता परिवारका सदस्यहरूको सम्मान र जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले रोजगारीका अवसर सिर्जना तथा व्यवस्थापन गरिनेछ ।
  • बसाइँसराइका कारण गाउँपालिका बाहिर गएका र पुनः घर फर्की बसोबास गर्न आउने परिवारहरूलाई स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनका लागि व्यावसायिक अनुदान उपलब्ध गराई सहज पुनःस्थापनाको व्यवस्था गरिनेछ।

गाउँ सभाका सदस्यज्यूहरु

आर्थिक विकास क्षेत्र

क) कृषि तथा पशु विकासः

  • गाउँपालिकालाई प्राङ्गारिक कृषि प्रणालीमा रुपान्तरण गर्नका लागि भकारो सुधार तथा कम्पोस्ट मल उत्पादनको लागि कृषक लाई प्रोत्साहन गरिनेछ ।
  • कृषिको उत्पादनको लागत घटाउन, व्यवसायिक बनाउन, प्रतिस्पर्धी बनाउन यान्त्रीकरणमा जोड दिइनेछ ।
  • कृषक समुह दर्ता, कृषि सहकारी, कृषि उद्यमी तथा मल बीउ बिषादि बिक्रेताको सूचीकरण तथा अभिलेखीकरण गरिनेछ ।
  • कृषकहरुलार्इ बिषादि प्रयोगमा न्यूनीकरण गरी जैविक मल प्रयोग गर्न प्रोत्साहन गर्ने नीति लिइनेछ । जसका लागि आवश्यक तालिमको आयोजना गरिनेछ ।
  • कृषिलार्इ आधुनिकीकरण गर्नका लागि साझेदारीमा प्लास्टिक टनेल/ प्लास्टिक मल्चिङ/ कृषि यान्त्रीकरण/ उन्नत जातको बिउ वितरण लगायतको कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ । जसका लागि आवश्यक बजेटको व्यवस्थापन गरिनेछ ।
  • बाली तथा पशु स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन किसानलाई प्रोत्साहित गरिनेछ ।
  • कृषि उपजको उत्पादन सघनतालाई ध्यानमा राखेर कृषि तथा पशुपालन पकेट कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण, कृषि एवं पशुजन्य उद्योगको स्थापना एवं क्षमता विकासका लागि लगानी गर्न चाहने कृषक र उद्यमीहरुका लागि वित्तीय पहुँचमा वृद्धि गर्न सरकारी, गैरसरकारी, सहकारी, निजी क्षेत्र तथा वित्तीय संस्थाहरुसँग समन्वय र साझेदारी गरिनेछ ।
  • गाउँपालिकामा उत्पादित चिया, सितल चिनी (मोरिङ्गा), बेसार, अलैंची, अदुवा, जडिबुटी, दूग्धजन्य पद्दार्थ, फलफूल लगायतका नगदेबालीहरुको बजारमा पहुँच वृद्धि तथा बजार विस्तारका लागि सरोकारवालाहरुसँग समन्वय गरिनेछ ।
  • उच्च मूल्यका वालीहरुको उत्पादन वृद्धि गर्नका लागि विउ , मल र प्राविधिक सहयोगको व्यवस्था गरिनेछ ।
  • कृषिमा नयाँ व्यवसायको नमुना कार्यक्रमहरु सञ्चालन गरी युवाहरुलाई उत्पादन संस्कृतिमा जोड्न अधिकतम प्रयत्न गरिने छ ।
  • कृषि उत्पादनको उचित भण्डारण गर्नको लागि संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य तथा समन्वय गरी ‘एक गाउँपालिका एक शीत भण्डार’ र दूग्ध चिस्यान केन्द्र निर्माण गर्न पहल गरिनेछ ।
  • तरकारी, फलफूल तथा पशुधनको बजार संचालन गर्न कृषि बजार पूर्वाधार निर्माण गरिनेछ । कृषकहरुको उत्पादनलाई सहज ढंगले बजार व्यवस्था गर्न ‘एक वडा एक हाट बजार’ योजना संचालनमा पहल गरिनेछ ।
  • कृषि विकास कार्यक्रम बढीमा ५० प्रतिशत लागत साझेदारी, प्रवर्द्धन कार्यक्रमहरु (फलफूल खेती, तरकारी खेती,) मा शत प्रतिशत साझेदारी, कृषि तथ्यांक व्यस्थापन र कृषक सूचीकरण तथा दर्ता कार्यक्रममा शत प्रतिशत साझेदारी र अन्य कार्यक्रमको हकमा परियोजनाको लागतको प्रकृती अनुसार बढीमा ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रमहरु संचालन गरिनेछ ।
  • मानव स्वास्थ्यमा खाद्यतत्वको सुनिश्चता कायम गर्न र दैनिक आहरामा वाहिने पौष्टिक तत्वलाई ध्यानमा राख्दै कृषकलाई व्यावसायिक च्याउ खेतीका लागि प्रोत्साहन गरिनेछ ।
  • माङसेबुङ गाउँपालिकालाई अर्गानिक कृषि हबको रुपमा विकास गरिनेछ । त्यसका लागि साझेदार संस्थाहरुसँग सहकार्य गरिनेछ ।
  • रेसम तथा कफि खेती प्रवर्द्धनका लागि आवश्यक पहल गरिनेछ ।
  • उत्पादन वृद्धिका लागि माटो परीक्षण तथा माटोमा आवश्यक खाद्यतत्वहरुको व्यवस्थापन गर्न सहयोग गरिनेछ ।
  • पशुपालन व्यवसायलाई पूर्ण व्यवसायिक बनाउन तथा उन्नत नश्लका पशुहरुको संख्यामा वृद्धि गर्न कृतिम गर्भाधान सेवालाई निरन्तरता दिइनेछ ।
  • व्यवसायिक पशुपन्क्षीका आधुनिक फार्महरु खोल्न प्रोत्साहन तथा सहयोग गरिनेछ ।
  • पशु उत्पादन वृद्धि गर्न पशु आहारा प्रवर्द्धन कार्यक्रम र थुनेलो रोग नियन्त्रण कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिनेछ ।
  • पशुहरुमा देखिने विभिन्न संक्रामक रोगहरुलाई न्युनिकरण गर्न गाई/भैसीहरुमा खोरेत, भेडा/बाख्राहरुमा पि.पि.आर., बंगुरहरुमा स्वाइन फिवर र कुकुर/बिरालोहरुमा रेबिज जस्ता रोगहरु बिरुद्ध निःशुल्क खोप कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • दुध, अण्डा र मासु उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम लागु गरिनेछ।
  • पशुपन्छीहरुमा देखिने विभिन्न रोगहरुको उपचार, नियन्त्रण तथा निदानका लागि पशु अस्पताललाई प्रभावकारी रुपमा संचालन  गरिनेछ; साथै पशु सेवा केन्द्रहरुको स्तरोन्नति गर्दै थप सेवा विस्तार गरिनेछ ।
  • गुणस्तरिय पशु स्वास्थ्य सेवा प्रदान गर्नको लागी शाखामा कार्यरत प्राविधिकहरुको क्षमता अभिवृद्धिका लागी विभिन्न सिप सिकाई तथा तालिममा सहभागी गराईनेछ ।

(ख) पर्यटन

  • गाउँपालिकाका प्रमुख पर्यटकीय आर्कषक गन्तव्यहरुको आन्तरिक तथा बाह्य पर्यटन बजारमा बजारीकरणका लागि देशका मुख्य पर्यटकीय केन्द्रहरुमा माङसेबुङ डेस्कको स्थापना गर्न निजी क्षेत्र, सामुदायिक क्षेत्र, अन्य स्थानीय तह र सरकारी निकायसँग समन्वय र साझेदारी गर्ने नीति लिईनेछ  ।
  • माङसेबुङ गाउँपालिकामा रहेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका क्षेत्रहरु गजुरमुखीधाम, माङसेवुङ, माङमालुङको गुरुयोजना निर्माण कार्य सम्पन्न भईसकेको हुनाले उक्त गुरुयोजना कार्यान्वयन गर्न प्रदेश सरकार, संघीय सरकारसँग लागत साझेदारी कार्यक्रम संचालन गर्न पहल गरिनेछ ।
  • गाउँपालिकाभित्रका अन्य राष्ट्रिय महत्व राख्ने राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मस्थल चुक्चिनम्बा, विराटज्योति माङहिम, अन्धाराजा अन्धारानी, पाङबुहाङ गुफा, ढ्याङगुरे डाँडा, खराने थुम्का, घोर्लेभीर, तारेभीर, फुलुंगी, खत्रप्पा जस्ता पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार सहितको विभिन्न पर्यटकीय सर्किट तथा संजालहरुको विकास गर्न गुरुयोजना निर्माण तथा विस्तृत आयोजना प्रतिवेदन तयार गरी प्रदेश सरकार, संघीय सरकार, निजी क्षेत्र र बाह्य लगानीलाई प्रोत्साहन गरी पूर्ण सुविधायुक्त पर्यटकीय स्थलहरुको विकास गर्दै लगिनेछ । गजुरमुखीधाम, माङसेबुङ, माङमालुङ, विराटज्योति माङहिमलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल गरिनेछ ।
  • किरात धर्माबलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङलाई किरात धार्मिक क्षेत्रको रुपमा साझेदारीमा विकास गर्न संघीय र प्रदेश सरकारसँग पहल गरिनेछ ।
  • साहसिक खेल रक क्लाइम्बिङको लागि घोर्लेभीर, तारेभीर तथा प्याराग्लाइडिङ्गको चतुरेदेखि लारुम्बा, नावालुङदेखि गजुरमुखीधाम, उत्तरेदेखि रतुवाबेसी, तीनथुम्कीदेखि चतुरे आदिको सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न निजी क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
  • ग्रामीण पर्यटन प्रवर्द्धन निम्ति सामूहिक घरबास (Home Stay) तथा सामुदायिक आवास व्यवस्थापनका लागि प्राविधिक सहयोग र तालिमको व्यवस्था गरी सेवाको गुणस्तर वृद्धि गरिनेछ ।
  • किरात धर्म गुरुज्यूको आश्राम लारुम्बा क्षेत्र, खत्रक्पा, फुलुङ्गी, चुक्चिनम्बा, अगौटे, गजुरमुखीधाम, माङमालुङ धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकासको लागि प्रदेश सरकार, सङ्घीय सरकार तथा दातृ निकायहरुसँग सहकार्य समन्वय गरिनेछ । माङसेबुङको लारुम्बा क्षेत्र वृहत्तर विकासका लागि दातृ निकाय स्वीस सरकारसँग समन्वय गरिनेछ ।
  • धार्मिक तथा पर्यटकीय क्षेत्र माङमालुङलार्इ सुनाखरी क्षेत्रको रुपमा विकास गर्न सरोकारवाला‚ विभिन्न सङ्घ संस्थाहरु तथा व्यक्तिहरुसँगको सहकार्यमा सुनाखरी फुल रोपन गर्ने नीति लिइनेछ ।
  • गजुरमुखीधाम‚ माङमालुङधामको विकासको लागि सरोकारवालाहरुसँग छलफल गरी धार्मिक पर्यटकीय क्षेत्र विकास ऐन निर्माण गरी गाउँपालिकाको स्वामित्वमा ल्याउन पहल गरिनेछ ।
  • माङमालुङ बन क्षेत्रलाई सामूदायीक वन उपभोक्ता समितिको अवधारणामा लगि ब्यवस्थित गरिने छ ।

(ग) सहकारी

  • विकासको एक प्रमुख साझेदारको रुपमा विकास भएको सहकारी क्षेत्रको लागि गाउँपालिकामा सहकारी समन्वय समिति गठन गरिनेछ ।
  • अनुगमन तथा नियमनलाई प्रभावकारी बनाई सहकारी क्षेत्रको सुशासन कायम गरिनेछ ।
  • सहकारी क्षेत्रको प्रवर्द्धन र विकासका लागि सबैखाले सहकारी संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
  • सहकारी तथा बचत समूहहरुलार्इ क्रियाशिल बनाई व्यवस्थित बनाइनेछ ।
  • सहकारी संस्था, जल उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, निजी खानेपानी, संघसंस्था आदिलाई नियमानुसार वडा वा पालिकामा दर्ता तथा नवीकरण गर्न आवश्यक पहल गरिनेछ ।

(घ) उद्योग 

  • लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनका लागि उद्योग प्रवर्द्धन सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • आवश्यकता पहिचानका आधारमा पुनर्ताजगी र एडभान्स सीप विकास तालिम कार्यक्रम संचालन गरी स्थानीय स्तरमै उपलब्ध हुने कच्चा पद्दार्थमा आधारित उद्योग संचालन गर्न अभिप्रेरित गरिनेछ ।
  • गाउँपालिकाभित्र घरेलु तथा साना उद्योग विस्तार गरिनेछ । स्थानीय सीप, श्रोत र साधनलाई प्रयोग गरी खाँडी, अल्लो, गाँजा, ढाकाजस्ता उत्पादन गर्ने लक्षित वर्गलाई सम्भाव्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा वृद्धि गर्ने समुहमा प्रविधि हस्तान्तरण गरिनेछ ।
  • नयाँ उद्यमीहरुको सृजनाका लागि सामाजिक परिचालन, उद्यमशीलता तथा सिप विकास तालिम संचालन, पुराना उद्यमीहरुको स्तरोन्नती, उद्यमीको वित्त क्षेत्रमा पहुँच तथा प्रविधि हस्तान्तरण गर्न कार्यक्रम संचालन गरिनेछ ।
  • स्थानीय कच्चा पद्दार्थबाट सञ्चालन गर्न सकिने उद्योगलार्इ प्रोत्साहन गर्ने नीति लिइनेछ ।
  • गाउँपालिकामा मिनरल वाटर उद्योग सञ्चालन गर्नका लागि व्यक्तिगत फर्म, सहकारी र समुहहरुसँगको सहकार्यमा सम्भाव्यता अध्ययन गरिनेछ ।
  • बाँस उत्पादन क्षेत्रलार्इ प्रोत्साहन गर्दै बाँसबाट उत्पादित तामाका परिकारहरु उत्पादन, प्रशोधन गरी बजारीकरण गर्न व्यक्तिगत फर्म, सहकारी र समुहहरुसँगको सहकार्यमा कार्य अघि बढाइनेछ ।
  • यान्त्रिक उपकरण (हलुका सवारी, हेभी मेसिन (एक्स्काभेटर, ब्याक हो लोडर आदि), चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी साधन आदि) तथा नवीकरणीय उर्जा प्रणाली (सौर्य उर्जा प्रणाली, सुधारिएको चुल्हो, लघु जलविद्युत, बायोमास आदि) को लागत अनुमान/ कार्यसम्पन्न निरीक्षण प्रतिवेदन बनाउनको लागि परामर्शदाता नियुक्त गरिनेछ ।

गाउँ सभाका सदस्यज्यूहरु

पूर्वाधार विकास क्षेत्र

(क)      सडक भवन तथा पुल

  • माङसेबुङ गाउँपालिकाको मुख्य लक्ष्य ‘दिगो विकास समृद्धिको आधार स्थायित्व र पर्याप्त पूर्वाधार’ प्राप्तिका लागि भौतिक पूर्वाधारको विकास गर्दै लगिनेछ । सडक क्षेत्रको योजनावद्ध विकासका लागि सडक यातायात गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
  • गाउँपालिकाभित्रका मुख्य सडकहरुमा सबै समयमा यातायातका साधनहरु संचालन हुने गरी स्तरोन्नती गर्न प्रदेश तथा संघीय सरकारसँग समन्वय र सहकार्य गरी लागत साझेदारीमा सडक स्तरोन्नती गर्ने कार्यक्रम संचालन गरिने कार्यलार्इ निरन्तरता दिइनेछ ।
  • ‘आहा माङसेबुङ’ अभियान सञ्चालन गरी गाउँपालिकाका सडकहरुलाई व्यवस्थित र भरपर्दो बनाई हरेक वडा बस्तीका नागरिक र पर्यटकहरुको जनजीवनलाई सहज र व्यवस्थित गर्दै लगिने नीतिलार्इ निरन्तरता दिइनेछ । अब सडकहरु बाह्रैमास (अलवेदर) बनाइनेछ ।
  • गाउँपालिका तथा वडा कार्यालयको भवन निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिकाभित्रका मोटरेबल सडक, पदमार्ग, पक्की पुल, झोलुङ्गे पुलहरुको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • जिल्ला सदरमुकाम तथा अन्तरपालिका जोड्ने सडकहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्नका लागि सम्बन्धित निकाय, विकास साझेदारहरुसँग समन्वय र सहकार्य गरिनेछ ।
  • गाउँपालिकाभित्रका एक वडादेखि अर्को वडा जोड्न बाँकी रहेका स्थानमा सडक विस्तार गरिनेछ । साथै सडक संजाल जोडिईसकेका सडकहरुलाई बाह्रै महिना सवारी साधन चल्न सक्ने गरी सडकहरुको स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
  • ‘दिगो विकास समृद्धिको आधार : स्थायित्व र पर्याप्त पूर्वाधार’ माङसेबुङ गाउँपालिकाको मुख्य लक्ष्य प्राप्तिका लागि गाउँपालिकाले मर्मत संभार कोषबाट संचालन हुने कार्यक्रमलाई निरन्तरता दिनेछ ।
  • दश लाखभन्दा बढी बजेट विनियोजन भएका पूर्वाधारसँग सम्बन्धित आयोजनाहरु प्रतिस्पर्धात्मक ठेक्का प्रकृयाबाट कार्यान्वयन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • माङसेबुङ गाउँपलिकामा सञ्चालन हुने विकास निर्माण योजना तथा अन्य कार्यक्रमहरुमा प्रयोग हुने मेसिन तथा औजारहरुको दररेट माङसेबुङ गाउँपालिकाभरि एउटै रहने गरी व्यवस्था मिलाइनेछ । प्रतिस्पर्धात्मक दरमा काम गराउन निर्माण व्यवसायीहरु सूचीकृत हुने व्यवस्थाको निरन्तरता दिइनेछ ।
  • उपभोक्ताहरुको लागत सहभागितामा कार्यक्रम सञ्चालन गरिनेछ ।
  • घर नक्सा पास गरी कार्यान्वयनमा ल्याइने छ ।
  • गाउँपालिका स्तरीय कृषि सडकलाई गौरवको योजनामा कार्न्वयन गरिने छ ।
  • पूर्वाधार तथा विपद पूर्व तयारीका लागि आवश्यक इक्यूपमेण्ट खरिद गर्न बजेटको व्यवस्था गरिने छ ।

(ख)      जलश्रोत र उर्जा विकास

  • उज्यालो घर अभियान अन्तर्गत माङसेबुङ गाउँपालिकाका हरेक वडाको प्रत्येक टोल बस्ती र घरहरुमा राष्ट्रिय प्रसारणको विद्युत लाईन पुर्याउने लक्ष्य राखी साझेदार निकायहरुसँगको समन्वय र सहकार्यमा उच्च प्राथमिकताका साथ काम गरिनेछ । यस अभियानलाई सार्थक र सफल बनाउन नेपाल विद्युत प्राधिकरण, प्रदेश सांसद, प्रदेश सरकार, संघीय सांसद र संघीय सरकारसँग आवश्यक सहयोग र सहकार्य गरिनेछ ।
  • गाउँपालिका, प्रदेश सरकार र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच त्रिपक्षीय संझौता पत्रमा २०७५ भाद्र ०५ गते हस्ताक्षर भएको र विद्युतको राष्ट्रिय प्रसारण पुर्याउन सम्भव नभएको टोल बस्ती र घरहरुमा ग्रामीण क्षेत्रका लागि नवीकरणीय उर्जा र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय र सहकार्यमा सौर्य उर्जा मार्फत उज्यालो घर, उज्यालो टोल बस्ती कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • समुदायमा आधारित साना सौर्य ग्रीड संचालनको लागि गाउँपालिकाका विभिन्न क्षेत्रहरुहरुमा सम्भाव्यता अध्ययन गर्नको लागि ग्रामीण क्षेत्रका लागि नवीकरणीय उर्जा र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय र सहकार्य गरिनेछ ।
  • गाउँपालिकाभित्र रहेका खोला र नदीहरुबाट जलविद्युत उत्पादनको लागि सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन तयार गर्नको लागि वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र ग्रामीण क्षेत्रको लागि नवीकरणीय उर्जा कार्यक्रमसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ । गाउँपालिका क्षेत्रभित्र भएर बग्ने देउमाई, फेवा, रतुवा र तामा खोलाबाट जलविद्युत उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिनेछ ।
  • गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुमा सौर्य बत्ती जडान कार्यलाई निरन्तरता दिईने छ ।
  • सुधारिएको चुलो तथा बायोग्याँस जडान गर्नेलाई प्रोत्साहित गर्ने नीति लिइनेछ ।
  • गाउँपालिकाभरि विद्युतीकरण यथाशीघ्र सम्पन्न गर्न पहल गरिनेछ ।

(ग) सिंचाई

  • सिंचाइको सुविधाको अभावले बाँझो रहेका खेतीयोग्य समथर जमीनको लगत तयार गरी त्यस्तो क्षेत्रको सम्भाव्यता अध्ययन गरेर विद्युतीय वा सौर्य लिफ्टिङ परियोजना संचालन गर्न आवश्यक पहल गरिनेछ ।
  • गाउँपालिकाबाट संचालन हुने कृषि विकास कार्यक्रम र सिँचाइ योजनाहरुलाई अन्तर सम्बन्धित बनाई संचालन गरिनेछ ।
  • गाउँपालिका क्षेत्रभित्र रहेका सिचाइ आयोजनाहरु सम्पन्न गर्न प्रदेश सरकार, सङ्घीय सरकार र स्वीस दातृ निकायसँगको सहकार्यमा सञ्चालित सिंचाइ आयोजनाहरुलार्इ निरन्तरता दिइनेछ ।
  • गाउँपालिकाभित्र पानीका मुहानहरुलाई लिफ्टिङ प्रविधिबाट उपयोग गरी खेतीयोग्य जमिन सिन्चित गर्ने नीति लिइनेछ ।

गाउँ सभाका सदस्यज्यूहरु

वन, वातावरण तथा विपद व्यवस्थापन

  • चुरे क्षेत्रको वनलाई दिगो रुपमा संरक्षण गर्न सो क्षेत्रका बसोबासीहरुलाई नदी उकास तथा खोल्सा खोल्सी क्षेत्रमा बाँस लगायतका वन पैदावरमा आधारित व्यवसायिक आय आर्जनका कार्यमा उत्प्रेरित गरी भू–क्षयको दृष्टिले संवेदनशील सो क्षेत्रमा लोपोन्मुख वनस्पती तथा जीवजन्तूको संरक्षणमा जोड दिईनेछ ।
  • यस गाउँपालिकामा बाँस प्रचुर मात्रामा पाईने भएकोले यसमा आधारित उद्योग विकास गर्दै बाँसको रोपन एवं विस्तारलाई आय आर्जनको प्रमुख आधारको रुपमा स्थापित गर्ने नीति लिईनेछ ।
  • गाउँपालिकाभित्र रहेका ताल-तलैया पोखरी र सीमसारहरुको संरक्षण र व्यवस्थापनमा जोड दिइनेछ ।
  • वन अतिक्रमण, अवैध कटानी, वन फँडानी, चोरी शिकारी, तस्करी तथा वन डढेलो नियन्त्रणका लागि जनसहभागितामूलक र समन्वयात्मक संयन्त्र निर्माण गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
  • संभावित खोला–नदी कटान र भू–क्षय नियन्त्रण गर्न पहिरो र कटान क्षेत्रलाई बायो-इञ्जिनियरिङ र स्थानीय प्रविधिमा आधारित चेक ड्याम निर्माण गरी कटान र भू–क्षय नियन्त्रण गर्ने नीति लिईनेछ ।
  • गाउँपालिकाको वडा नं ३, ५ र ६ को दक्षिणी भेग तथा वडा नं ४ चुरे क्षेत्रमा पर्ने र वर्षातको समयमा बाढीपहिरो एवं नदी, खोला, खोल्सीले कटान गर्ने हुनाले त्यसको रोकथाम र संरक्षण गर्नको लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिसँग आवश्यक समन्वय र सहकार्य गरेर कार्यक्रम संचालन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिकाभित्र जडिबुटी लगायतका वन पैदावरमा आधारित उद्योग सरकारी, निजी, सहकारी र समुदायको साझेदारीमा स्थापना गर्नको लागि पहल गरिनेछ ।
  • स्थानीय वातावरण अनुकूलका वन पैदावरहरुको विस्तार र विविधीकरण गरी वातावरण संरक्षण र व्यवस्थापन गरिनेछ । साथै भू–क्षय नियन्त्रण र नदी मुहान तथा किनाराको संरक्षण गर्ने कार्यक्रम संचालन गरिनेछ ।
  • एक गाउँपालिका एक नर्सरी, एक गाउँपालिका एक उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ ।
  • डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समुहसँग समन्वय गरेर वृक्षरोपण कार्यक्रम सञ्चालन गरिनेछ ।
  • प्राकृतिक प्रकोप भूकम्प, महामारी, बाढी पहिरो, आगलागी समेतले निम्त्याउन सक्ने असहज अवस्थाको व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषलाई उपयोग गरिने छ । उल्लेखित विपद सम्बन्धी कार्यका लागि बजेटको व्यवस्था गरिनेछ ।
  • बाँदर नियन्त्रणका लागि आवश्यक जनशक्ति परिचालन गरिनेछ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासन  

(क) सेवा प्रवाह र सुशासन

  • गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्थाहरुले संचालन गरेका गतिविधिहरुका बारेमा जनतालाई सुसूचित गर्न, पारदर्शिता कायम गर्न, सेवाग्राहीको पृष्ठपोषण लिन चौमासिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरी हरेक क्रियाकलापलाई जवाफदेही र पारदर्शी बनाउने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • सेवालाई जनताको घरदैलौमा पुर्याउन आर्थिक वर्ष २०७९/८० बाट वडा नं २, ३ र ६ को सेवा प्रवाहलाई विस्तार गरी सेवाकेन्द्रबाट सेवा प्रवाह संचालन गरिएको छ यसलार्इ निरन्तरता दिइनेछ ।
  • यस गाउँपालिकाको भौतिक विकासका अलवा माग र अधिकारमा आधारित विभिन्न गतिविधि गर्दै विकासको मूल प्रवाहमा सबै नागरिकहरुलाई समावेश गर्न र राज्यले व्यवस्था गरेका बालबालिका, दलित अपाङग, पिछडा वर्ग, अल्पसंख्यक सीमान्तकृत व्यक्ति तथा समुदायको समावेशी तथा समतामूलक विकास गर्नको लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विषयगत कार्यालयहरु र सम्बन्धित गैरसरकारी संघ, संस्थाहरुलाई आग्रह गर्दै सम्बन्धित क्षेत्रमा आवश्यक योजना निर्माण तथा बजेट विनियोजनका लागि आह्वान गर्ने ।
  • सुशासनमा जोड दिंदै सेवा प्रवाहमा बिना भेदभाव सबैलाई समान अवसर प्रदान गरिनेछ ।
  • गाउँ कार्यपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभुत तथा सामुदायिक स्वास्थ्य इकाइ, कृषि तथा पशु शाखामा कार्यरत करार कर्मचारीहरुको सेवालाई निरन्तरता दिईनेछ ।
  • फिल्डमा खटिनुपर्ने ईञ्जिनियरिङ सेवा तर्फका प्राविधिक कर्मचारीहरुलाई फिल्ड भत्तालाई निरन्तरता दिइनेछ ।
  • साबिकको स्थानीय निकायमा स्थायी नियुक्ति भई कार्यरत कर्मचारीहरु सेवाबाट अवकाश हुँदाका बखत प्रदान गरिने सुविधाका लागि कर्मचारी कल्याण कोषको व्यवस्था गरिनेछ ।
  • गाउँपालिकाभित्रका वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र इकाइमा विद्युतीय हाजिरीको व्यवस्था गरिनेछ ।
  • गाउँपालिकामा सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाइनेछ ।
  • गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा पदीय दायित्वबोध, जवाफदेहिता, व्यवसायिकता तथा क्षमता वृद्धि गर्न तालिमको व्यवस्था गरिनेछ ।
  • गाउँपालिका र वडा कार्यालयबाट संकलन गरिने राजश्वलाई पारदर्शी बनाउन अन लाइन प्रणालीलाई निरन्तरता दिइनेछ ।
  • पदीय जिम्मेवारीको थप महसुस गराउन साथै काममा उत्प्रेरणा प्रदान गर्न उत्कृष्ट कर्मचारी (वडा सचिव, प्राविधिक कर्मचारी र अन्य कर्मचारी), उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट पदाधिकारी, उत्कृष्ट शिक्षक शिक्षिका, कक्षा आठ, एस. ई. ई. र कक्षा १२ सर्वोत्कृष्ट अंक ल्याउने छात्र छात्रा साथै गाउँपालिका क्षेत्रबाट अवकाश भएका शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई जीवनभर गरेको सेवाको सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • गुणस्तरीय शिक्षा, स्वास्थ्य, सेवा प्रदान तथा सुशासन कायम गर्न विद्यालय तथा कार्यालयहरूमा सि. सि. टि. भि. जडान गर्ने नीति लिइनेछ ।
  • मालपोत तथा नापी कार्यालय भवनको लागि जग्गा व्यवस्थापन गरी सेवा सुचारु गर्नका लागि सम्बन्धित निकाय सँग पहल गरिनेछ ।
  • इलाका प्रशासन बाट हुने सेवाहरु यसै पालिका बाट सेवा प्रवाह गराउनका लागि जग्गा व्यवस्थाप गरी गरी सेवा सुचारु गर्न पहल गरिनेछ ।

 (ख)     सूचना तथा संचार

  • देशको सामाजिक, आर्थिक, शासकीय लगायत समग्र क्षेत्रको विकासका लागि सूचना तथा संचार प्रविधि अपरिहार्य साधन भएकोले यसलाई समयानुकूल प्रभावकारी रुपमा उपयोग गर्ने नीति लिइनेछ ।
  • असमान रुपमा रहेको गाउँपालिका र वडा कार्यालयहरुको इन्टरनेटको अवस्था अन्त्य गर्न साथै सबै वडा कार्यालयहरुलाई गाउँपालिकासँग इन्टरनेटको माध्यमबाट जोड्न र सोही माध्यमबाट इन्टरकम टेलिफोनको व्यवस्था गर्नका लागि इन्ट्रानेटको व्यवस्था गरिनेछ ।
  • नागरिक वडापत्रहरु, विभिन्न कार्यक्रमका सूचना, फोटो तथा भिडियो, प्रत्यक्ष कार्यक्रमहरु प्रदर्शन गर्नका लागि विद्युतीय डिजिटल डिस्प्ले बोर्ड राख्ने कार्यलाई विस्तार गरिनेछ ।
  • पारदर्शी, छिटो, छरितो र सुरक्षित डाटाबेस साथै पेपरलेस कार्यक्रमका लागि जिन्सी, सिफारिस, योजना, राजश्व, लगायतका क्षेत्रहरुमा सफ्टवेयर प्रणालीलाई निरन्तरता दिइनेछ ।
  • सूचना प्रविधिमैत्री अध्यापन कार्यलाई प्रोत्साहन गर्न आवश्यक पूर्वाधारको व्यवस्था गर्दै सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय र सहकार्य गरिनेछ ।
  • गाउँपालिकाले गरेका गतिविधिहरूबारे जनतालार्इ सूचित गर्न पत्र–पत्रिका, अनलाइन पत्रिका, रेडियोमा माङसेबुङका विकाससँग सम्बन्धित कार्यक्रम संचालन गरिनेछ ।
  • स्थानीय स्तरमा संचालित संचार माध्यमहरूको वृद्धि विकासका लागि नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पूरा गर्ने संचार माध्यमहरूलार्इ लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।
  • नेपालका विभिन्न संचार माध्यमहरूमा काम गर्ने माङसेबुङ गाउँपालिकाबासी पत्रकारहरूको सिप तथा  क्षमता अभिवृद्धिका लागि तालिम संचालन गरिनेछ । जसका लागि स्थानीय सञ्चार माध्यम र पत्रकारितासँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गरिने कार्यलाई निरन्तरता दिइनेछ ।
  • माङसेबुङ गाउँपालिकाको विकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याउने नेपालका विभिन्न संचार माध्यमहरूमा काम गरिरहेका पत्रकारहरूमध्ये एक जना पत्रकारलार्इ वर्सेनि माङसेबुङ पत्रकारीता पुरष्कार प्रदान गरिनेछ ।
  • माङसेबुङ गाउँपालिकाको डिजिटल प्रोफाइल निर्माणका लागि आवश्यक बजेट मिलाइनेछ ।

अन्य

(क) गैर सरकारी संस्था

  • गैर सरकारी संस्थाहरुले आफ्ना कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्दा आवधिक तथा वार्षिक गाउँपालिका विकास योजना, सहभागितामूलक योजना पद्धतिका आधारमा स्थानीय स्तरबाट माग, छनौट र प्राथमिकीकरण भई आएका आयोजना र कार्यक्रमहरु मध्येबाट गर्नु पर्ने नीति लिइनेछ ।
  • गैर सरकारी संस्थाको पारदर्शिता, जवाफदेहिता सुनिश्चित गर्न सहजीकरण, परिचालन, अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाईनेछ ।
  • गैर सरकारी संस्था तथा लघुवित्त संस्थाहरुले गाउँपालिकासँग अनुमति लिएर मात्र कार्य गर्ने व्यवस्था गरिनेछ ।

(ख) गरिबी न्यूनीकरण

  • गरिबी निवारण गर्न स्थानीय श्रोत साधनको उपलब्धता र बजारीकरणको पहुँचलाई ध्यान दिदैं बाँस तथा काठ उद्योग खोल्नलाई गाउँपालिकाले सहयोग गर्नेछ ।
  • गरिबी निवारणको निम्ति गरिबसँग विशेश्वर कार्यक्रम संचालनलाई निरन्तरता दिइनेछ ।
  • गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट नयाँ उद्यमी सृजना गर्दै, पुराना उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गर्दै लगिनेछ साथै उद्यमीहरुले सरल र सहज तरिकाले ऋण प्राप्त गर्ने कार्यमा आवश्यक पहल र समन्वय गरिनेछ ।
  • संभावनाका आधारमा विकास गरिएका कृषि तथा पशु विकासका पकेट क्षेत्रहरुको कार्यक्रमलाई स्थानीय समुदायको आय आर्जन र सीप विकाससँग जोडी गरिबी न्यूनीकरणमा प्रत्यक्ष रुपमा सहयोगी बनाइनेछ ।
  • साना सिंचाई कार्यक्रम संचालनबाट सिंचाई सुविधा पुगेको बाँझो जमिनलाई उपयोग गरी कृषिलाई व्यवसायिक बनाई अतिरिक्त आय आर्जन हुने नीति लिई गरिबी न्यूनीकरणमा सहयोगी बनाइनेछ ।
  • मापदण्डका आधारमा गरिब घर परिवार पहिचान गरी परिचय पत्र वितरणका लागि लगत संकलन कार्य सम्पन्न भएकोले आगामी आ. व. मा परिचय पत्र वितरण गरिनेछ ।

(घ) भूमि व्यवस्था

  • जमिनको वैज्ञानिक वर्गीकरणका लागि भू–उपयोग नीति लागू गरिने छ ।
  • लामो समयदेखि समाधान हुन नसकेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न संकलन गरेको लगतका आधारमा लगत प्रविष्टिको निस्सा वितरण गरि क्रमस जग्गाको धनीपूर्जा वितरण गर्ने कार्य अघि बढाइनेछ ।

(ङ) राजश्व नीति

  • राजश्व परिचालनका लागि करका दरभन्दा दायरा फराकिलो पारी नयाँ आम्दानीका स्रोतहरु पहिचान गरी आन्तरिक राजश्व वृद्धि गर्ने नीति लिइनेछ ।
  • करयोग्य आर्थिक क्रियाकलापलाई करको दायरमा ल्याउँदै प्रगतीशिल, समन्यायिक, पारदर्शी, व्यवसायमैत्री राजश्व प्रणालीको विकास गरिनेछ ।
  • कर प्रशासनमा सूचना प्रविधिको प्रयोगलाई निरन्तरता दिइनेछ ।

(च) न्याय सम्पादनः

  • न्याय सम्पादनलाई सर्वसुलभ बनाउनका लागि न्यायिक समिति तथा मेलमिलाप केन्द्रहरुलाई व्यवस्थित गरिदै लगिनेछ । जसका लागि बजेटको व्यवस्था गरिनेछ ।
  • न्याय सम्पादनमा संलग्न हुने पदाधिकारीहरु तथा मेलमिलापकर्ताहरु र कर्मचारीको क्षमता वृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।

 (छ) अध्यक्ष विकास / उपाध्यक्ष विकास कार्यक्रम

  • आर्थिक वर्ष २०७९/८० बाट सुरुवात गरिएको अध्यक्ष विकास कार्यक्रम र उपाध्यक्ष विकास कार्यक्रमलार्इ निरन्तरता दिइनेछ ।

अन्त्यमा,

माङसेबुङ गाउँपालिकाले लिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न गाउँपालिकामा श्रम संस्कृतिको विकास गरिनेछ । सोका लागि सम्पूर्ण नागरिक समाज, जनप्रतिनिधि, कर्मचारीहरुमा जनश्रमदानको लागि आह्वान गरिनेछ । लिइएको नीति तथा कार्यक्रमलार्इ सम्पन्न गर्न आम माङसेबुङबासीको सल्लाह, सुझाब र साथ सहयोगको पनि उत्तिकै आवश्यकता रहेको छ । लिइएको नीति तथा कार्यक्रमलार्इ कार्यन्वयन गर्न सके ‘आहा माङसेबुङ’ को परिकल्पनालाई पूरा गर्न सकिने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार