
इलाम : कोशी प्रदेशका प्रमुख परशुराम खापुङले विविधताबीचको एकता नै समाज र राष्ट्रको वास्तविक शक्ति भएको बताएका छन् ।
आज (मङ्गलबार) इलामको माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा कामकाजको भाषा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख खापुङले भूगोल, जाति, भाषा, लिपि, धर्म र संस्कृतिको विविधता देशको अमुल्य सम्पत्ति रहेको उल्लेख गरे ।
उनले फूलबारीमा विभिन्न प्रकारका फूलहरु समान रुपमा फुल्दा बगैँचाको सौन्दर्य अझ बढ्ने उदाहरण दिदैँ नेपाल पनि विविधताले भरिएको सुन्दर बगैँचा जस्तै भएको बताए । ‘हिमाल, पहाड र तराईमा बसोबास गर्ने विभिन्न जातजाति, भाषा, संस्कृति र धर्म मान्ने समुदायलाई समान अवसर, सहभागिता र सम्मान सुनिश्चित गर्न सकेमात्र देश सुन्दर बन्नसक्छ,’ उनले भने, ‘त्यसैले सबै समुदायबीच सद्भाव, मेलमिलाप, प्रेम र धार्मिक सहिष्णता नै आजको आवश्यकता हो ।’
उनले पहिचान बलियो भए राष्ट्रिय पहिचान अझ मजबुत हुने र त्यसले राष्ट्रिय एकता तथा सार्वभौमिकता सुदृढ बन्ने बताउनुभयो । प्रदेश प्रमुख खापुङले संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता र धर्मनिरपेक्षता नेपालको वर्तमान राजनीतिक व्यवस्थाका महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।
मङ्गलबारदेखि माङसेबुङ गाउँपालिकामा ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रुपमा कार्यान्वयनमा आएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ‘लिम्बू भाषा’ कामकाजको भाषाको रुपमा लागू भएको घोषणापत्र वाचन गरेर औपचारिक रुपमा कार्यान्वयनमा आएको घोषणा गरे ।
माङसेबुङका जनप्रतिनिधिहरुको चिनारी पुस्तक विमोचन

कार्यक्रमको अवसरमा माङसेबुङ गाउँपालिका क्षेत्रको राजनीतिक इतिहास, लोकतान्त्रिक अभ्यास र विभिन्न कालखण्डका जनप्रतिनिधिहरुको योगदान समेटिएको पुस्तक ‘माङसेबुङका जनप्रतिनिधिहरुको चिनारी’ विमोचन भएको छ ।
मङ्गलबार माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा कामकाजको भाषा घोषणा कार्यक्रमको अवसरमा प्रदेश प्रमुख परशुराम खापुङ, जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, माङसेबुङ गाउँपालिका हेमन्त राईलगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरे । राससकर्मी पत्रकार रामकुमार लिम्बू (योङहाङ) द्वारा लिखित पुस्तकमा वि.स. २०१५ सालदेखि २०७९ सालसम्मका विभिन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको चिनारी समावेश गरिएको छ ।
१४८ पृष्ठको पुस्तकमा ५४४ जना जनप्रतिनिधिहरुको जीवनी एवम् चिनारी समावेश गरिएको छ । सो पुस्तक माङसेबुङ गाउँपालिकाले प्रकाशन गरेको हो ।
वान्तवा भाषा पाठ्यक्रम पनि विमोचन
सोही कार्यक्रमको अवसरमा वान्तवा भाषा पाठ्यक्रम पनि विमोचन भएको छ । आधारभूत तहमा स्थानीय पाठ्यक्रम र लिम्बू भाषा पाठ्यक्रम कार्यान्वयनमा ल्याएको माङसेबुङ गाउँपालिकाले वान्तवा भाषा पाठ्यक्रम पनि निर्माण गरेको हो ।
यसअघि माङस्बुङ गाउँपालिकाले आधारभूत तह (कक्षा १-८ सम्म) स्थानीयप पाठ्यक्रम हाम्रो माङसेबुङ निर्माण गरी ऐच्छिक विषयका रुपमा सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गर्दै आएको छ ।
त्यस्तै आधारभूत तह (कक्षा १-६ सम्म) लिम्बू भाषाको पाठ्यक्रम निर्माण गरी चारवटा विद्यालयमा पठनपाठन गर्दै आएको छ । माङसेबुङले लिम्बू जातिको बाहुल्यता रहेको वडा नं. ३ स्थित पवित्रा आधारभूत विद्यालय, वडा नं. ५ स्थित सरस्वती माध्यमिक विद्यालय, साम्जिक मुन्धुम आधारभूत विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पाठ्यक्रम पठनपाठन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले बताए ।
माङसेबुङमा सामुदायिकतर्फ माध्यमिक विद्यालय (कक्षा १-१२) तीनवटा, माध्यमिक विद्यालय कक्षा (१-१०) सातवटा, आधारभूत विद्यालय (कक्षा १-८) १६ वटा, र आधारभूत विद्यालय (कक्षा १-५) सम्मका चारवटा विद्यालय छन् । संस्थागततर्फ माध्यमिक विद्यालय कक्षा (१-१०) दुई र आधारभूत विद्यालय (कक्षा १-८) का दुईवटा विद्यालय छन् ।
कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थी, खेलाडी र कर्मचारीहरुलाई समेत सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।



















































