माङसेबुङ गाउँपालिकाले दियो ११ सामुदायिक विद्यालयलाई स्मार्ट टिभी

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभी उपलब्ध गराएको छ । प्रारम्भिक बालविकास कक्षाका बालबालिकालाई मण्टेश्वरी पद्धतिबाट सिकाइ सहजीकरण गर्ने उद्देश्यले माङसेबुङले ११ विद्यालयलाई स्मार्ट टिभी उपलब्ध गराएको हो ।

बुधबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राईले सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई टिभी हस्तान्तरण गरे । माङसेबुङ गाउँपालिकाले वडा नं. १ को जनता, मण्डिका र रत्‍नदेवी आधारभूत विद्यालय, वडा नं. २ को इभाङ माध्यमिक विद्यालय एवम् सिंहदेवी र इभाङ आधारभूत विद्यालय, वडा नं. ३ को बालदिप आधारभूत विद्यालय र वडा नं. ६ को चिसोपानी माध्यमिक विद्यालय एवम् चन्द्रेश्वरी, माङमालुङ र सिंहेश्वरी आधारभूत विद्यालयलाई एक/एक थान स्मार्ट टिभी उपलब्ध गराएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राईले बालबालिकाहरुलाई श्रव्यदृश्य सामग्रीमार्फत सिकाइ प्रक्रिया सञ्चालन गराउने उद्देश्यले गाउँपालिकाले स्मार्ट टिभी वितरण गरेको बताए । ‘स्मार्ट टिभी प्रयोगले प्रारम्भिक बालपिकास कक्षामा सिकाइ प्रक्रियालाई सहज, रोचक र प्रभावकारी बनाउने विश्वास लिएका छौं,’ अध्यक्ष राईले भने, ‘गाउँपालिकाले आगामी दिनहरुमा समेत शिक्षामा प्रविधिको उपयोगमार्फत शैक्षिक सुधारका कार्यक्रमहरु अघि बढाउनेछ ।’

स्मार्ट टिभी पाएपछि इभाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक नविन बस्नेतले बालविकासमा रहेका बालबालिकाले सुनाइ र हेराइका कारण बौद्धिक क्षमता विकास हुने भएकाले स्मार्ट टिभीले उनीहरुलाई फाइदा पुर्‍याउने विश्वास व्यक्त गरे ।

‘सामुदायिक विद्यालयका बाल कक्षामा सूचना प्रविधि सहयोग कार्यक्रम’ अन्तर्गत विनियजन भएको रु सात लाख बजेटबाट पहिलो चरणमा ११ विद्यालयलाई स्मार्ट टिभी उपलब्ध गराइएको शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए ।

विद्यालयमा बालविकास कक्षा मन्टेश्वरी पद्धति लागू गर्न टिभी उपलब्ध गराईएको उनले बताए । ‘बालबालिका हरुलाई सामुदायिक विद्यालयमा आकर्षण गर्न र मन्टेश्वरी पद्धतिबाट सिकाई सहजिकरण गर्नका लागि शिक्षा शाखाको कार्यक्रमबाट टिभी उपल्बध गराइएको हो’ खतिवडाले भने । उनका अनुसार माङसेबुङ गाउँपालिकाले यसअघिका वर्षहरुमा सामुदायिक विद्यालयमा कम्प्युटर, प्रिन्टर, स्मार्ट बोर्डलगायत प्रविधिमैत्री सामग्री वितरण गरेको थियो ।

यसअघि माङसेबुङ गाउँपालिकाले बालबालिकाको शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी र बालमैत्री बनाउने उद्देश्यले अघिल्लो महिना बालशिक्षकहरुलाई पाँच दिने मण्टेश्वरी तालिम दिइसकेको छ । माङसेबुङले बालमैत्री शिक्षण अभियान अन्तर्गत बालशिक्षकहरुलाई तालिम दिएको हो । तालिममा आधारभूत तहका शिक्षकसहित ३३ बालशिक्षकहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख खतिवडाले जानकारी दिए ।

सातवटा माध्यमिक र २५ वटा आधारभूत तहसहित ३२ सामुदायिक विद्यालय रहेको माङसेबुङ गाउँपालिकामा २७ वटा बालविकास कक्षा सञ्चालनमा रहेका छन् ।

तस्बिरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार