पाँच निर्वाचन परिणामको झलक

  निनाम लोवात्ती
203 Shares

गएको फागुन २१ मा सकिएको आम (मध्यावधि) निर्वाचनमा नेपालका पुराना एवम् ठूला भनिएका राजनीतिक पार्टी, तिनका नेताका साथै नेपालका घागडान मानिएका बुद्धिजीवी, विश्लेषक, विद, विज्ञ, कार आदिलाई समेत आश्चार्यमा पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यधिक बहुमत, दुई तिहाई सिट पुग्न १८४ चाहिनेमा दुई सिट कम अर्थात् १८२ सिट ल्याएर विजयी हासिल गर्यो । जुन कुरो रास्वपाका उपल्लो तहका नेता तथा कार्यकर्ताहरु स्वयम्ले अपेक्षा गरेका थिएनन् अरे । यसरी हेर्दा केकति कारणले गर्दा कसैले पत्याउन नसक्ने गरी रास्वपाले प्रत्यक्षमा १२५ सिट र समानुपातिकमा ५७ सिट गरेर दुई तिहाईभन्दा दुई सिट कम अर्थात् १८२ सिट जित्यो ? नेपालका राजनीतिक इतिहासमा चासो राख्नेहरुले भविष्यमा अवश्य नै अध्ययन गर्लान् भन्ने आशा गरौं ।

हुन पनि मधेसमा बालेन शाह र घण्टी निर्वाचन चिन्ह्प्रति मतदाताहरु कस्तरी एकोहोरो भएको देखिन्थ्यो भने, धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार अर्थात् घण्टी चिन्ह्का उम्मेदवारको उम्मेदवारी रद्ध हुँदा (उम्मेदवार नै नहुँदा पनि) २६, २७ सो चिन्ह्मा हजार मत खसेको भन्ने अनौपचारिक रुपमा भन्ने गरिन्छ । जब कि निर्वाचन आयोगले १० हजार चानचुन मत ल्याएर दोस्रो स्थान ल्याएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादवलाई प्राविधिक रुपमा विजेता घोषित गर्नु परेको थियो । त्यो बेला अलि समय पाएको भए रास्वपाले जो कोही ‘ए, बी, सी, डी’ उम्मेदवार उठाएको भए वा निर्वाचन आयोगले सो क्षेत्रका उम्मेदवारको ‘कालो सूची केस’ लाई अलि अगाडि सल्टाएको भएदेखि रास्वपाको दुई तिहाई बहुमत पुग्ने थिए छ । मैले किन यस्तो कुरो गरिहेको छु भने म्याग्दी जिल्लाबाट निर्वाचित हुनु भएका एक मात्रै स्वतन्त्र उम्मेदवार (त्रिभुज निर्वाचन चिन्ह्) पनि (रास्वपा) ले नै समर्थन गरेको उम्मेदवार हुनुहुन्थ्यो, हुनुहुन्छ । त्यसैले संसदमा आपत विपत पर्दा म्याग्दीबाट निर्वाचित स्वतन्त्र उम्मेदवार महावीर पुनले रास्वपालाई दुई तिहाई मत चाहिँदा समर्थन गर्न सक्नु हुन्थ्यो कि ? यो मेरो ‘रफ’ अनुमान मात्रै हो । यसरी हेर्दाखेरि रास्वपाले प्रत्यक्षमा पाएको सिट संख्याका साथै समानुपातिक मत परिणामलाई कसैले सुनामी भने, कसैले ल्यान्ड स्लाईडभने, कसैले बाढी भने, कसैले पहिरो भने, कसैले एआईको कमाल भने, कसैले अलगोरिदमको …भने । जे होस्, यस पटक भएको संसदीय निर्वाचनले खुबै चर्चा, परिचर्चा कमायो ।

माथिको अनेक प्रसंगहरुलाई यहीँ छाडेर विगतमा भएका पाँच वटा निर्वाचनहरु जस्तो कि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचन एवम् वि.स. २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनका साथै वि.स. २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनले वि.स. २०७२ सालमा नयाँ संविधान घोषणा गरिएपछि वि.स. २०७४ सालमा भएको पहिलो संसदीय निर्वाचनका साथै वि.स. २०७९ अनि सालमा भएको दोस्रो संसदीय निर्वाचनका एवम् प्रकारले वि.स. २०८२ सालमा (हालै सम्पन्न) भएको तेस्रो संसदीय निर्वाचनमा पुरानो र ठूलो राजनीतिक पार्टी भनिएको नेपाली कांग्रेस (नेका), नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गरी तीन ठूला राजनीतिक पार्टीहरुले विगतमा भएका पाँच निर्वाचनमा प्राप्त गरेको पहिलो, दोस्रो एवम् तेस्रो स्थान (पालैपालो पहिलो, दोस्रो अनि तेस्रो) को प्रत्यक्षमा प्राप्त गरेको सिट संख्या र समानुपातिक मतपरिणामबारे तथ्यांकसहित उल्लेख गरिने छ ।

त्यसरी हेर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले वि.स. २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षमा व्यवस्था गरिएको २४० सिट संख्या मध्येमा १२० सिट संख्या नेकपा (माओवादी) एक्लैले जितेको थियो । समानुपातिक मतमा पनि ३१ लाख ४४ हजार २०४ मत कटाएर १०० सिटमा विजयी भएको थियो । त्यो वेला कसैले नपत्याउने गरी १००+१२० सिट गरेर जम्मा २४० सिट ल्याएको थियो । तत्कालीन संविधानसभामा प्रत्यक्षमा २४० समानुपातिकमा ३३५ र मन्त्रीपरिषदले मनोनित गर्ने गरी २६ सिट जुन सिट विषय विज्ञ तथा प्रत्यक्ष र समानुपातिकमा नपरेका आदिवासी जनजातिका सीमान्तकृत अल्प संख्याका रहेका जातजातिबाट मनोनित गरी जम्मा ६०१ सिट रहने व्यवस्था गरिएको संविधानसभामा नेकपा (माओवादी) को बहुमत पुगेन । वि.स. २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा त्यो वला ठूलो मानिएको राजनीतिक पार्टी नेपाली कांग्रेसले चाहिँ प्रत्यक्षमा ३७ सिट र समानुपातिक अर्थात् लोकप्रिय मत २२ लाख ६९ हजार ८८३ मत कटाएर ७३ सिट ३४+७३ गरेर ११० सिट जितेको थियो । त्यो वेलाको दोस्रो ठूलो राजनीतिक पार्टी मानिएको नेकपा (एमाले) ले चाहिँ प्रत्यक्षमा ३३ सिट र समानुपातिक मत चाहिँ २१ लाख ८३ हजार ३७० ल्याएर ७० सिट ३३+७० गरेर १०३ सिट जितेको थियो ।

वि.स. २०६४ सालमा भएको नेपालकै पहिलो संविधानसभा निर्वाचनले लगभग ६ वर्षको अवधिमा संविधानसभाको माध्यमबाट संविधान बन्न सकेन । ठूलो आशा र भरोसाका साथ तत्कालीन नेकपा (माओवादी) लाई जनताले ठूलो राजनीतिक पार्टीको रुपमा संविधनसभामा तिताएर पठाएको थियो । त्यतिले ऊ वेला मात्रै नपुगेर नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपा जस्ता पार्टीमा रहेका उत्पीडित तथा पिछडिएका क्षेत्र, आदिवासी जनताजाति, महिला, धार्मिक अल्पसंख्यक आदिका साथै मधेस केन्द्रीत दलका संविधानसभा सदस्यहरुले टेको दिँदा अनि भरथेग गर्दा पनि तत्कालीन नेकपा (माओवादी) का मुखिया पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान बनाउतिर खासै ध्यान दिएनन्, मतलब गरेनन् । त्यसको सट्टा बरु आफू कसरी लामो समयसम्म सरकारमा टिकिरहने वा भनौं आफ्नो सरकार कसरी टिकाउने ? भन्नेतर्फ अग्रसर भए । यसरी सत्ता परिवर्तनको माथापच्ची र लामो खेलसँगै वि.स. २०६९ सालमा नेकपा (माओवादी) पार्टीकै नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएको वेला ‘न रह्यो बाँस, न बज्यो बाँसुरी’ भनेझै संविधानसभा नै विघटन गरियो । त्यसपछि वि.स. २०७० सालमा पुनः दोस्रो पटक संविधानसभा निर्वाचन सम्पन्न भयो ।

सो निर्वाचनमा भने नेपाली कांग्रेसले प्रत्यक्षमा १०५ सिट र समानुपातिक मत २४ लाख १९ हजार ३७० मत कटाएर ९१ सिट १०५+९१ गरेर १९६ सिट जित्यो । साथै नेकपा (एमाले) ले चाहिँ प्रत्यक्षमा ९१ सिट एवम् समानुपातिक मत २१ लाख ८३ हजार ३७० ल्याएर ८४ सिट ९१+८४ गरेर १७५ सिट जित्यो भने, जंगलबाट भर्खरै बाहिर आएको र, पहिलो संविधानसभामा रापतापसहित भाग लिएर पहिलो राजनीति पार्टी बनेको नेकपा (माओवादी) ले वि.स. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षमा २६ सिट मात्रै जित्यो भने समानुपातिक मत चाहिँ १४ लाख ३९ हजार ७२६ ल्याएर ८४ सिट २६+५४ गरेर केवल ८० सिटमै सीमित भयो ।

यसरी वि.स. २०७२ सालमा नयाँ संविधान घोषणा गरेपछि, बनेपछि भएको वि.स. २०७४ सालको पहिलो संसदीय निर्वाचनमा पहिले गरिएको प्रत्यक्षको २४० सांसद सिटलाई घटाएर १६५ सिट अनि समानुपातिकमा व्यवस्था गरिएको ३३५ सांसद सिटलाई घटाएर ११० सिटमा झारियो भने, मन्त्रीपरिषदले गर्ने विज्ञ तथा सीमान्तकृत, अल्पसंख्यक आदिवासी जनजाति एवम् उत्पीडित जातजातिलाई ल्याउन भनेर गरिएको २६ जना मनोनित सांसदको कोटालाई सँधैका लागि हटाईयो । यसरी नेपालमा नाम मात्रैको भए पनि संघीयता लागू भएसँगै देश÷केन्द्र÷संघमा जम्मा २७५ जना संघीय सांसद निर्वाचित हुने नयाँ व्यवस्था गरियो भने, वि.स. २०७४ मा भएको पहिलो संघीय संसदको निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षमा २३ सिट र समानुपातिक मत ३१ लाख ७३ हजार ४९४ मत कटाएर ४० सिट २३+४० गरेर ५३ सिट जित्यो । नेकपा (एमाले) प्रत्यक्षमा ८० सिट र समानुपातिक मत ३१ लाख ९३ हजार ३८९ मत कटाएर ४१ सिट ८०+४१ गरेर १२१ सिट जितेको थियो । त्यस्तै गरेर तत्कालीन नेकपा (माके) ले चाहिँ प्रत्यक्षमा ३६ सिट एवम् समानुपातिक मत १३ लाख ३ हजार २१७ मत कटाएर १३ सिट ३६+१३ गरेर ४९ सिट जितेको थियो । हुन पनि सो निर्वाचनमा नेकपा (एमाले) तत्कालीन नेकपा (माके) ले कार्यगत एकता गरेर भाग लिए । फतलः सो निर्वाचन सकिए लगत्तै दुई कम्युस्टि विचारधाराको राजनीतिक पार्टीले एकता समेत गरे । त्यसपछि त दुई पार्टीको सांसद संख्या १७० पुग्यो । १७० सिटसहित दुई तिहाई बहुत नजिक पुग्यो, नेकपा (एमाले) र तत्कालीन नेकपा (माके) मिलेर बनेको ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ।’

नयाँ संविधान बनेपछिको दोस्रो संघीय संसदको निर्वाचन वि.स. २०७९ मा भयो । सो निर्वाचनमा भने नेपाली कांग्रेसले नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ सिट र समानुपातिक मत २७ लाख १५ हजार २२५ मत कटाएर ३२ सिट ५७+३२ गरेर ८९ सिट जितेको थियो । नेकपा (एमाले) ले प्रत्यक्षमा ४४ सिट र समानुपातिक मत २९ लाख ४५ हजार ६४१ मत ल्याएर ३४ सिट ४४+३४ गरेर ७८ सिट जितेको थियो । त्यस्तै नेकपा (माके) ले प्रत्यक्षमा १८ सिट एवम् समानुपातिक मत ११ लाख ७५ हजार ६८४ मत कटाएर १४ सिट १८+१४ गरेर ३२ सिट जितेको थियो । जुन ‘प्रचण्ड’को भाषा सापट लिएर भन्नु पर्दा ‘म्याजिक नम्बर’ रहेको थियो । ‘प्रचण्ड’ ले भनेझैँ ‘म्याजिक नम्बर’ भएकै कारणले होला, धेरै सानो संख्यासहित तेस्रो स्थानमा रहेको नम्बर (३२) भए तापनि पालैपालो दुई ठूला दल नेपाली कांग्रेस र नेकपा( एमाले) को मुखिया बनेर ‘प्रचण्ड’ आफू अधिकांश समय सरकार प्रमुख रहन सफल भएका थिए । उता वि.स. २०७९ मा मात्रै गठन गरेर निर्वाचनमा भाग लिएको नयाँ राजनीतिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वि.स. २०७९ सालको निर्वाचनमा प्रत्यक्षमा ७ सिट समानुपातिक मत ११ लाख ३० हजार ३४४ मत ल्याएर १३ सिट ७+१३ गरेर २० जम्मा सिट जितेको थियो । पछि तनहुँ–१ मा भएको उपनिर्वाचनमा (रामचन्द्र पौडेल राष्ट्रपति भएपछि) पनि रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले जितेर रास्वपाको सिट संख्या २१ पुगेको थियो । यसरी हेर्दा पहिलो पटकमै रास्वपा चौथो शक्तिका रुपमा उदाएको थियो ।

अब लागौं, हालै सम्पन्न भएको ( वि.स. २०८२ साल फागुन २१ गते) को निर्वाचनको प्रत्यक्षको सिट संख्या र समानुपातिक मतमा कुन राजनीतिक पार्टीले कति सिट ल्यायो त ? जानकारी लिनेतर्फ । यसरी हेर्दा २०८२ साल फागुन २१ गते भएको आम निर्वाचनको प्रत्यक्षको सिट संख्या राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको छ उसले समानुपातिक मत ५१ लाख ८३ हजार ४९३ ल्याएर ५७ सिट १२५+५७ कम अर्थात् १८२ सिट जितेको छ । त्यस्तै नेपाली कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ । उसले समानुपातिक मत १७ लाख ५९ हजार १७२ ल्याएर २० सिट १८+ २० गरेर ३८ सिट जितेको छ । नेकपा (एमाले) ले चाहिँ प्रत्यक्षमा ९ सिट र समानुपातिक मतमा १४ लाख ५५ हजार ८८५ मत ल्याएर १६ सिट ९+१६ गरेर २५ सिट जितेको छ । तत्कालीन नेकपा (माके), नेकपा (एस) आदि २६,२७,… वटा पार्टी मिलेर बनेको नयाँ पार्टी ‘नेपाली कम्युस्टि पार्टी (नेकपा)’ ले प्रत्यक्षमा ८ सिट र समानुपातिक मत ८ लाख ११ हजार ५७७ मत ल्याएर ९ सिट ८+९ गरेर जम्मा १७ सिट मात्रै जित्यो, पार्टी २६,२७ धार्नीको भनेर के गर्नु, बरा–विचरा ?!
जसरी यस पटक धेरैलाई आश्चार्यमा पार्दै रास्वपाले अनपेक्षित रुपमा सोचेभन्दा धेरै सिट जित्यो त्यसरी नै भर्खरै खोलिएको श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ सिट र समानुपातिक मत ३ लाख ८५ हजार ९०२ मत ल्याएर ४ सिट ३+४ गरेर ७ सिट ल्याएर अचम्म पारेको छ, सबैलाई । अघिल्लो निर्वाचनमा पाँचौ ठूलो पार्टीका रुपमा रहेको राप्रपाले भने यस पटक प्रत्यक्षमा केवल १ सिट र समानुपातिक मत ३ लाख ३० हजार ६८४ ल्याएर ४ सिट १+४ गरेर ५ सिट ल्याएको छ । यस अघिको संघीय संसदमा अस्तित्वमा रहेका आधा दर्जन जति राजनीतिक दलहरु त यो पटकको निर्वाचनमा निमिट्यान्नै भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार