सन्दकपुर-४ कालापोखरीमा चैत २२ गते एकीकृत घुम्ती शिविर

इलाम : इलामको सन्दकपुर गाउँपालिका ले स्थानीय नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार चैत २२ गते आइतबार सन्दकपुर गाउँपालिका-४ स्थित कालापोखरीमा शिविर सञ्चालन गरिनेछ ।

शिविरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, पशु सेवा, राजस्व/संघसंस्था तथा व्यवसाय, कृषि, शिक्षा तथा स्वास्थ्य शाखाबाट विभिन्न सेवा प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले जानकारी दिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाबाट ६० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण तथा अपाङ्गता परिचयपत्र वितरण सेवा प्रदान गरिने उनले बताए ।

त्यसैगरी पशु सेवातर्फ पशुको गर्भ परीक्षणका लागि औषधि वितरण, रेबिज विरुद्धको खोप तथा पशु बन्ध्याकरण सेवा उपलब्ध गराइनेछ । राजस्व तथा व्यवसाय शाखाबाट व्यवसाय दर्ता र नवीकरण गरिने जनाइएको छ ।

कृषि शाखाबाट बिउबिजन वितरण तथा कृषि परामर्श सेवा प्रदान गरिनेछ । शिक्षा शाखाबाट विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान तथा विवरण संकलन तथा विद्यालय भर्ना अभियान सञ्चालन गरिनेछ ।

स्वास्थ्य शाखाबाट सामान्य बिरामी जाँच, प्राथमिक उपचार तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध हुने जनाइएको छ । शिविर बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

परिचयपत्रसम्बन्धी सेवा लिन चाहनेले पासपोर्ट साइज फोटो, नेपाली नागरिकताको प्रतिलिपि, वडा सिफारिस लगायत आवश्यक कागजात साथमा ल्याउन गाउँपालिकाले अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत लिम्बूद्वारा जारी सूचनामा स्थानीयवासीलाई शिविरमा उपस्थित भई सेवा लिन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार