
लेखक: ईश्वरीप्रसाद गुरागाईं
शक्ति, सत्ता र अहंकार
अहंकार सिंहासनको मलामी,
जहॉं रगत बाक्लिन्छ ,जनताको श्वास नाच्छ।
यो गर्व होइन,
सत्ता र सम्पत्तिको बिषालु नशा हो,
जसले घर ,समाज ,राष्ट्र र विश्व चिर्न सक्छ।
अहंकार नीति होइन ,
विवेकको अन्त्येष्टि हो।
सिंहासनमा बसेकाले ,
आफूलाई इतिहास ठान्छ
जनताको आवाज वेवास्ता हुन्छ।
शक्तिको नशा चढेपछि,
आलोचना देशद्रोह ठानिन्छ
सत्य चिथोरिन्छ,न्याय बांधिन्छ,
जनताको आवाज अपराध बनाइन्छ,
अदृश्य आगो सल्किरहन्छ।
झण्डामा क्रान्ति छ,
खल्तिमा सामन्तवादको लाइसेन्स।
जनताको रगतको टाटोमा उभिएको ,
नेता मुस्कुराउंछ,
सत्ता डगमगाउंछ,
लोकतन्त्रको चिहान खन्न,
सिंहासनको खेल,
म र मेरो मात्रै,
विचार,दृष्टि,न्याय ,
सबै त्यागिन्छ।
अहंकार –
कलह ल्याउछ ,
समाज विभाजन ,
जब नीति भन्दा माथि एउटै विचार हुन्छ,
सम्वृध्दि होइन ,कलह जन्मन्छ।
नेपोलियन, हिटलर,मुसोलिनी स्टालिन
पतनको कारण- “म “शाश्वत भएकाले।
रावणको स्वर्ण लंका,
सिकन्दरको अधुरो सपना,
इतिहासले घृणित लेखेको।
समय बलवान छ,
म को समाधिमा –
जब हामी जन्मिन्छ,
इतिहास लेखिन्छ।
चुनावमा हात जोड्ने,
जिते पछि गर्धन टेक्ने,
अहंकारले संविधान मेट्छ ,
सत्यको आवाज दबाउंछ,
लोकतन्त्र शोकमा बस्छ।
अहंकार बहु आयामिक छ,
सत्ता, धन ,ज्ञान ,
जात , धर्म,लिंग राष्ट्र श्रेष्ठताको भ्रम ।
सोसल मिडिया,
फिल्टर गरिएको आत्म- प्रतिमा।
सडकमा टायर बल्छ,
सिंहासन अट्टहास गर्जन्छ,
संविधान कुर्सीको खुट्टामा रौंचिरा,
न्याय अहंकारको दास।
फ्रायडले भने -अहं र पराहंको संघर्ष
अनन्त छ।
गीताले सुझायो- अज्ञानको मुलद्वार ,
खरानीको पहाड़ ,
बुध्दले भने-अनात्म सिध्दान्त ।
आइन्स्टाइनले चेतायो-अहंकार ब्रह्माण्ड ठुलो भ्रम हो।
साम्राज्यवादी युद्ध,
जातीय नरसंहार,
धार्मिक उन्माद,
व्यापारिक साम्राज्यको ,
नयां औपनिवेशिक दासत्व-
सबै अहंकारले रचेका।
तर विकल्प,
विनम्रता ,बहुलवादिता,संवाद, सेवा।
नेतृत्व जब सेवकत्वमा बदलिन्छ ,
सत्ता जवाबदेही हुन्छ ,
धन ,
सामाजिक पूंजी,
ज्ञान ,
विनम्र जिज्ञासा ।
“म “लाई “हामी”मा विलय गर,
सिंहासन सेवाको आसन बनाऊ।
अहंकार ढलेपछि मात्र,
-विश्वले फेरि सास फेर्छ,
नयॉं सभ्यताको सृष्टि गर्छ।
डिजिटल नेपोलियनहरू,
आधुनिक रावणहरू,
तिम्रो सिंहासनको खुट्टा,
जनताको अधिकारको आगोले जलिरहेको छ।
तिम्रो प्रचार महल-अलगोरिदमको,
बाढीमा डुबिरहेको छ।
समय बलवान छ,
सधै लेख्ने छ:
जसले आफूलाई ठूलो ठाने,
इतिहासले सानो बनायो।
अहंकार-
शक्तिको मलामी,
अदृश्य,विस्फोटक र विश्वव्यापी ।
अस्तु:


















































