‘द्वितीया मेला भलिबल प्रतियोगिता’को उपाधि झापा गाउँपालिकालाई, शान्तिश्री परियारको साँगीतिक कार्यक्रममा दर्शकको ओइरो

पाँचथरः  पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ र ७ को संगमस्थल वासाँगु बजारमा सम्पन्न ‘द्वितीया मेला भलिबल प्रतियोगिता’को उपाधि झापा गाउँपालिकाले हात पारेको छ।

आइतबार भएको फाइनल खेलमा झापाले प्रतिस्पर्धी तेह्रथुमको फेदाप गाउँपालिकालाई पराजित गर्दै विजेता बन्न सफल भएको हो। विजेताले नगद रु १ लाख ३३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको फेदाप गाउँपालिकाले रु ८० हजार नगद पुरस्कार र ट्रफीमा सन्तोष मान्यो।

त्रिवेणी युवा क्लबद्वारा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिता दिपावलीका अवसरमा कात्तिक ६ गतेदेखि सुरु भएको थियो। प्रतियोगितामा झापा, ताप्लेजुङ र तेह्रथुमका १–१ गाउँपालिका तथा पाँचथरका ५ स्थानीय तह गरी कुल आठ टिम सहभागी थिए। समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो र विशेष अतिथि फाल्गुनन्द गाउँपालिकाका पूर्व अध्यक्ष वीरबहादुर कुरुम्वाङले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे।

यो ठाउँमा विगत ४८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको ‘द्वितीया मेला भलिबल प्रतियोगिता’ कोशी प्रदेशकै सबैभन्दा पुरानो र लोकप्रिय खेल प्रतियोगितामध्ये एक मानिन्छ। हरेक वर्ष ठूलो संख्यामा दर्शकको उपस्थिति रहने यो प्रतियोगिता दिपावलीको अवसरमा लाग्ने परम्परागत मेलासँगै आयोजना गरिँदै आएको हो।

मेलामा भलिबल प्रतियोगितासँगै विभिन्न सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिएका थिए। चर्चित गायिका शान्तिश्री परियारको बेजोड प्रस्तुती हेर्न दर्शकको घुइँचो लागेको थियो।

साथै अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरूले पनि नृत्य र गायन प्रस्तुती दिएका थिए। मेलाको अर्को आकर्षणका रूपमा काठको रोटेपीङ विशेष लोकप्रिय रहेको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार