
केही समयअघि विभिन्न सञ्चारमाध्यममा आएको समाचारअनुसार आर्थिक वर्ष २०७९/०८० को जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा लगभग तीन लाख स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरिसकेका छन् । समाचारअनुसार आर्थिक वर्ष २०७९/०८० को साउन महिनादेखि जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा दुई लाख ८८ हजार ३५९ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी आर्थिक वर्ष २०७९/०८० को साउन महिनादेखि जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकमध्ये एक लाख ९८ हजार ८२६ जना आन्तरिक अर्थात् नेपाली पर्यटक रहेका छन् भने ३५ हजार ८३६ जना सार्क मुलुकका पर्यटक रहेका छन् । त्यस्तै गरेर अन्य मुलुकका २९ हजार ५७६ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् । साथै आर्थिक वर्ष २०७९/०८० को साउन महिनादेखि जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा दुई लाख ८८ हजार ३५९ जना पर्यटकले प्रवेश गरेवापत तिरेको राजस्व रकम मात्रै १७ करोड ३० लाख तीन हजार ९०० सय रुपैयाँ संकलन भएको छ ।
हुनत कोरोना महामारी मत्थर भएपछि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या जसरी बढ्दै गएको देखिन्छ, त्यसरी नै आन्तरिक रुपमा नेपालको विभिन्न पर्यटकीयस्थलमा भ्रमण गर्न निक्लने स्वदेशी पर्यटकको संख्या पनि कोरोना महामारीको समयमा भन्दा धेरै नै बढी रहेको छ । तथापि पनि चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याभन्दा आन्तरिक अर्थात् स्वदेशी पर्यटकको संख्या अत्यधिक रहनुमा चिनवत भगौलिक हिसावले नेपालको केन्द्र (लगभग मध्य भाग) मा रहनु पनि मुख्य कारण हुन सक्ने देखिन्छ । अर्को भनेको विगतका केही वर्षदेखि नेपालीहरु पनि राष्ट्रिय चाडबाड र विदामा घरमै बसेर फिल्म हेर्ने, नातागोता र आफन्तलाई बोलाएर भोज-भतेर गर्ने, जुवा-तास खेल्ने, जाँड-रक्सी खाएर पैसा सक्ने, अन्य फुर्मायस गर्नेभन्दा पनि देश-देशावरको भ्रमणमा निक्लने क्रम बढ्दै गएको छ । राष्ट्रिय चाडबाड र विदामा घरमै बसेर फिल्म हेर्ने, नातागोता र आफन्तलाई बोलाएर भोज-भतेर गर्ने, जुवा-तास खेल्ने, जाँड-रक्सी खाएर पैसा सक्ने, अन्य फुर्मायस गर्नेभन्दा पनि देश-देशावरको भ्रमण गर्ने संस्कृतिको विकास युवा पुस्तामा अनिवार्य जस्तै हुँदै गएको देखिन्छ । जसले गर्दा नेपालको आन्तरिक पयर्टन प्रवद्र्धन गर्नमा ठूलो टेवा पुगेको छ । त्यस्तै गरेर आप्mनो देशको जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, भगौलिक विविधता, जातजाति पिच्छेको वेषभुषा, संस्कार, संस्कृति, बोलीचाली, परम्परागत कानुन, मूल्यान्यता, रहनसहन आदि प्रत्यक्ष हेर्ने, देख्ने र अनुवभ गर्ने सुनौलो अवसर पनि पाएका छन्, पाईन्छ ।
जे होस्, पछिल्लो पटक नेपालीहरु पनि ठूलो संख्यामा देश विदेश घुम्ने प्रचलन बढ्दै गएको छ । अझ नेपालीहरुले आप्mनो देशको विभिन्न क्षेत्रमा भ्रमण गर्न जाँदाभन्दा पनि अन्य देश घुम्न जाँदा धेरै खर्च गर्ने गरेको भन्ने तथ्यांक रहेको छ । त्यस्तै अर्को एक समाचारअनुसार नेपालमा आन्तरिक पर्यटक भएर घुम्ने नेपालीहरुले विदेशबाट नेपाल घुम्न आएका विदेशी पर्यटक (खास गरी नेपालको विभिन्न क्षेत्रमा पदयात्रा गर्न जाने विदेशी पर्यटकहरु) ले भन्दा धेरै खर्च गर्ने गरेका छन् । सो कुरो नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा होटल, लज, होमस्टे तथा गेस्ट हाउस सञ्चालन गर्ने स्थानीयहरुले बताएका हुन् । नेपाली र विदेशी पर्यटकले नेपालको भ्रमण गर्न जाँदा गर्ने खर्चको फाँटवारी त्यस्तो रहे तापनि केही पर्यटकीय क्षेत्रका स्थानीय होटल, लज, कटेज, होम स्टे, गेस्ट हाउस आदि सञ्चालकले चाहिँ अझसम्म पनि आप्mनो गाउँठाउँ घुम्न आउने नेपाली आन्तरिक पर्यटकलाई पर्यटक नै नमान्ने मानसिकता हटाई सकेको छैनन् । सुन्दा रपढ्दा निश्चय नै साह्रै नमीठो लाग्न सक्छ । तथापि आजभन्दा केही दशक अघिसम्म सोलुखुम्बुको लुक्ला, फाक्दिङ, जोरसल्लेभन्दा माथि नेपाली आन्तरिक पर्यटकले मात्रै नभएर केही विदेशी (जस्तै उदाहरणका लागि इजरायली) पर्यटकहरुले समेत बास पाउन ाह्रै मुस्किल पथ्र्यो !? स्मरणीय छ, त्यो वेला लुक्ला, फाक्दिङ, मोन्जु, जोरसल्ले कटेर गएपछि आप्mनो होटल, लज, गेस्ट हाउसमा वास बस्न आउने-वास माग्ने पर्यटकलाई पहिले नै उसको राष्ट्रियता सोध्ने गरिन्थ्यो । यो कुरोलाई कसैले ठाडै अस्वीकार गर्न सक्छ । तर म आपैm (यो पंक्तिका लेखक) पनि धेरै लामो समयसम् ट्रेकिङ मजदुर (भरिया हुँदै टे्रकिङ गाईडसम्म) भएको हुनाले प्रत्यक्ष देखेको, भोगेको, अनुभव गरेको घटनाहरु हुन् । साथै मैले नेपालको पूर्वी क्षेत्रको कञ्चनजंघा हिमाल क्षेत्र, मकालु बरुण क्षेत्र, मेरा पिक, टाशीलाप्चा, अरुणभ्याली, सोलु क्षेत्रका दूध कुण्ड, पिके, रत्नाङ्गे, जुनवेशी, गोली गुम्बा र खुम्बु क्षेत्रका सगरमाथा आधार शिविर, कालापत्थर, गोक्यो री, रिन्जोला पास, खोङमाला पास, आईल्यान्ड पिक, आदिदेखि पश्चिमको मनाङ, थोरोङ पास, अप्पर मुस्ताङ, मनास्लु, कालीगण्डकी ट्रेक, अप्पर डोल्पा, कागमारा पास, मुगु, जुम्ला, हुम्लासम्मको भ्रमण, अनुभव र अनुभूतिहरु रहेका छन् । अब अन्त यो गन्थन-मन्थनलाई यही छाडौं ।
हुन पनि हो, हामीमध्ये जो कोहीे आन्तरिक पर्यटक वा विदेशी पर्यटक भएर घुम्न निक्लँदा फगतमा पैसा खर्च हुने मात्रै नभएर जहाँजहाँ जान्छौं, जुनजुन देशमा जान्छौं त्यो ठाऊँ वा त्यो देशको भ्रमणका क्रममा विभिन्न जातजाति, भाषाभाषी, त्यहाँको भूगोल, कला, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व, वेषभुषा, चालचलन आदि हेर्न र देख्न पाउँछौं । त्यस्तै गरेर आन्तरिक रुपमा आप्mनै देशको विभिन्न क्षेत्रको भ्रमणमा जाँदा पनि जुनजुन क्षेत्रमा हामी जान्छौं, तीती क्षेत्रमा बसोवास गर्ने जातजातिको भाषा, वेषभुषा, कला, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व आदि हेर्न, देख्न र महसुस गर्न पाउँछौं । जुन कुरोहरु हामीले पैसामा जोख्न सकिँदैन । किनभने जुनसुकै जातजातिको किन नहोस्, भाषा, वेषभुषा, कला, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व आदि भनेको पैसाले किन्ने निश्चित मूल्यको चिजबिज अथवा भनौं निश्चित मूल्य तोकिएको वस्तु होइन ।
यसरी हेर्दा नेपाल पर्यटनका लागि अनेकौं संभावना भएका विश्वका केही देशमध्येमा पर्छ । चाहे त्यो भगौलिक हिसावले होस्, चाहे त्यो जातीय विविधताको हिसावले होस्, चाहे त्यो भाषिक विविधताको हिसावले नै किन नहोस, । चाहे त्यो साँस्कृतिक विविधिताको हिसावले नै किन नहोस्, चाहे त्यो जैविक विविधताको हिसावले नै किन नहोस । अथवा भगौलिक विविधताकै हिसावले किन नहोस । विश्वका हरेक देशसँंग दाँज्न मिल्ने र सकिने खालका सम्पदा र संभावनाहरु नेपालमा छन् । त्यसमा पनि विश्व पर्यटन क्षेत्रमा आएको नयाँ खाले पर्यटन प्रवद्र्धनमा निकुञ्ज भ्रमण गर्ने विधिलाई पनि एक प्रकारको पर्यटन प्रवद्र्धन गर्ने विधि मान्दे आएको छ, विश्वभरिको देशहरुले । त्यसैले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई नयाँपन दिने हरसंभव प्रयास हामीले गर्नैपर्ने देखिन्छ । अन्यथा विश्व पर्यटनमा नयाँपनको रस्वादन गर्ने बानी पर्दै गएका सौखिन पर्यटकले रोजी छानी आप्mनो गन्तव्य फेर्ने देखिन्छ । त्यसैले विश्वका अनेकौं देशहरुले पर्यटकहरुलाई नयाँ नयाँ अफर ल्याएर केही नयाँ र नौलो लाग्ने सेवा सुविधा दिने प्रयासमा लागी रहेका छन् ।
अबका दिनमा हामीले निकुञ्ज पर्यटनका साथै शिकार पर्यटन, चराचुरुङ्गी अवलोकन, पर्वतारोहण, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ, हाईकिङ, मेडिटेसन, हेल्थ टुरिज्म, साहसिक पर्यटन, जंगल सफारी, क्यानोईङ, हट एयर बालुनिङ, साँस्कतिक पर्यटन, अध्ययन पर्यटन, स्वस्थ्य उपचार पर्यटन, सिटी टुर, योग र योगा, ध्यान, सामाजिक अध्ययन, नेपालमा बसोवास गर्ने विभिन्न जातजातिको धर्म, वेशभुषा, रहनसहन, संस्कार, संस्कृति, भाषा अध्ययन आदिको सम्वन्धमा अध्ययन गर्न आउने पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन सफारी पर्यटन आदि इत्यादिको डटेर प्रवद्र्धन गर्नेतर्पm लाग्नुपर्ने देखिन्छ ।
नेपालका राष्ट्रिय निकुञ्जहरु प्रायः सबै ग्रामीण भेगमा नै रहेका छन् । त्यसैले ती राष्ट्रिय निकुञ्जहरु ग्रामीण षेत्रमा बस्ने नेपालीहरुका लागि आर्थिक आधार स्तम्भको रुपमा पनि रहेको छ भन्दा अत्युक्ति हुँदैन ।
नेपालमा हाल १,सगरमाथा राष्ट्रिय निकुञ्ज । २, चितवन राष्ट्रिय निकुञ्ज । ३, शिवपुरी राष्ट्रिय निकुञ्ज । ४, रारा राष्ट्रिय निकुञ्ज । ५, शे फोकसुन्डो राष्ट्रिय निकुञ्ज । ६, मकालु वरुण राष्ट्रिय निकुञ्ज । ७, लाङटाङ राष्ट्रिय निकुञ्ज । ८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज । ९, बाँके राष्ट्रिय निकुञ्ज । १० , बर्दिया राष्ट्रिय निकुञ्ज । ११, शिवपुरी राष्ट्रिय निकुञ्ज । १२ पर्सा राष्ट्रिय निकुञ्ज छन् भने निकट भविश्यमै मेरा पिक (स्थानीयवासीहरुको माग चाहिँ महाकुलुङ राष्ट्रिय निकिुञ्ज हुनुपर्ने भन्ने छ) राष्ट्रिय निकुञ्ज घोषणा हुनेवाला छ । यसरी हेर्दा नेपालमा एक दर्जन राष्ट्रिय निकुञ्जहरु छन् । तापनि वार्षिक आमदानीको हिसाव अनि पर्यटकले भ्रमण गर्ने गरेको वार्षिक संख्याको हिसावले हेर्दा चाहिँ चितवन राष्टिय निकुञ्ज, सगरमाथा राष्टिय निकुञ्ज, लाङटाङ राष्टिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज आदि प्रमुख स्रोतको रुपमा रहेका छन् ।
















































